नेपालगञ्जस्थित भेरी अस्पताल एक हप्तामै कोरोना संक्रमितले भरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले संक्रमितका लागि छुट्याइएका सबै बेड भरिएको जानकारी दिए।
'कोभिडको लागि भनेर ७२ वटा बेड छुट्याइएकोमा भरिसक्यो। थप १० वटा बेड राखेका थियौं तर त्यो पनि भरिने क्रममा छ। अब थप संक्रमितलाई राख्नसक्ने अवस्था छैन,' उनले भने।
अहिले अस्पतालमा जम्मा ७४ जना संक्रमित उपचाररत छन्। जसमा ४२ जना आइसियू र ७ जना भेन्टिलेटरमा छन्। भर्ना भएकामध्ये १८ वर्षमुनिका पाँच जना बालबालिका समेत रहेको डा. थापाले जनाए।
उनले जटिल समस्या भएका संक्रमितहरू थपिने क्रम बढेको बताउँदै त्यस्ता बिरामीलाई हेर्ने जनशक्ति भने अभाव रहेको बताए।
अहिले अस्पतालमा जम्मा एक जना क्रिटिकल केयर हेर्ने र आठ जना फिजिसियन छन्। जबकि हाल अस्पतालमा आइसियूमा रहेका ४२ जनाको लागि कम्तीमा पाँच जना क्रिटिकल केयर हेर्ने जनशक्ति चाहिने डा. थापा बताउँछन्।
'सामान्य अवस्थाका संक्रमित हो भने हामी सय बढीलाई राख्न सक्छौं तर जटिल अवस्थाकालाई राख्ने हो भने जनशक्ति चहिन्छ,' उनले भने, 'अब त बेड खाली गरेर पनि थप संक्रमितलाई राख्न सकिँदैन। जनशक्ति नै कम छ।'
पछिल्लो समय देशभर नै संक्रमण दर बढिरहेको बेला बाँकेमा पनि संक्रमण तीव्र फैलिएको छ।
सामान्य लक्षण भएका धेरै संक्रमितहरू त घरमै 'होम-आइसोलेसन' मा रहेको बताउँदै डा. थापाले अस्पतालमा भर्ना भएका संक्रमितहरू मध्यम र जटिल अवस्थाका संक्रमित रहेको जनाए।
'पहिले चार महिनामा यति जटिल अवस्थाका संक्रमित संख्या पुगेको थियो तर अहिले चार दिनमै पुग्यो,' उनले भने।
डा. थापाले भर्ना भएका धेरैलाई अक्सिजनको सहायता दिन परेको बताए।
भर्ना भएका संक्रमितहरूमा भने पहिलेकै जस्तो लक्षण भएको जनाउँदै डा. थापाले भने, 'अन्य अस्पतालको केसमा थाहा भएन तर भेरीमा भर्ना भएका संक्रमितहरूमा भने पहिलेकै संक्रमितमा जस्तो लक्षणहरू छन्।'
संक्रमण जोखिम बढेकै कारण बाँकेमा बढी भिडभाड हुने जिम क्लब, सिनेमा हल जस्ता ठाउँहरू बन्द गरिएको छ भने आइतबारदेखि शिक्षण संस्था समेत बन्द गर्ने निर्णय गरिएको छ। साथै, भारतसँग जोडिएका जमुना नाका पनि बन्द गर्ने तयारी गरिएको छ।