कोरोनाको नयाँ प्रकार (भेरियन्ट) फैलिरहँदा देशभरका अस्पतालमा आइसियूमा भर्ना हुने संक्रमितहरू दिनदिनै बढिरहेका छन्।
संक्रमण दर यसरी नै बढ्ने हो भने धेरै जटिल अवस्थाका संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।
तीमध्ये पनि धेरैलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ। त्यसो हुँदा हामीलाई धेरै आइसियू बेड चाहिन सक्छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर जम्मा ८ सय ९८ वटा आइसियू बेड छन्। जसमा प्रदेश १ मा ११०, प्रदेश २ मा ४८, बागमतीमा ५५६, गण्डकीमा ८, लुम्बिनीमा ८५ कर्णालीमा ६२ र सुदूरपश्चिममा २९ वटा आइसियू रहेका छन्।
मन्त्रालयले जारी गरेको गण्डकीको आइसियू संख्या भने गलत छ। तथ्यांकमा जम्मा ८ भए पनि आइसियू बेड संख्या २ सय ३० बढी रहेको पोखरा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
मन्त्रालयले तत्काल आइसियू बेड विस्तार गर्नेबारे कुनै ठोस कदम चालेको देखिँदैन। तर अस्पतालमा दिनकै संक्रमितको चाप बढेको देख्दा अहिले भएका आइसियू बेडले एकदम छोटो समय मात्र धान्ने देखिन्छ।
यसको उदाहरण हो- नेपालगञ्जस्थित भेरी अस्पताल।
उक्त अस्पतालको आइसियू बेड एक हप्तामै भरिएको छ। जम्मा ७४ जना संक्रमित उपचाररत रहेको उक्त अस्पतालमा ४२ जनालाई आइसियू र ७ जनालाई भेन्टिलेटरको सहायता दिइएको छ। अब भने थप संक्रमितलाई भर्ना गर्ने ठाउँ नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले सेतोपाटीलाई जानकारी दिए।
उनले पहिलेको लहरमाभन्दा यसपटक जटिल अवस्थाका संक्रमितहरू धेरै रहेको बताए।
'पहिले चार महिनामा बल्ल यति संख्यामा आइसियू चाहिने संक्रमित हुन्थ्यो तर अहिले त चार दिनमै पुग्यो,' उनले भने।
अब जटिल अवस्थाका संक्रमित आए पनि अस्पतालमा ठाउँ नभएको डा. थापा बताउँछन्।
कोरोनाको अघिल्लो लहरमा पनि संक्रमण दर उच्च पुगेको बेला आइसियू बेडहरू अभाव भएको थियो।
बाहिरको त कुनै भएन, काठमाडौं उपत्यकामै आइसियू बेड अभाव भएको थियो। आइसियू बेड खाली नहुँदा संक्रमित बोकेका एम्बुलेन्स रातरात काठमाडौंका अस्पतालहरू चहार्थे।
तर यसपटक भने संक्रमणको दोस्रो लहरको सुरूआतमै संक्रमण दर मात्र तीव्र बढिरहेको छैन, जटिल समस्या भएका संक्रमित पनि बढिरहेका छन्।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अहिले भएका स्वास्थ्य पूर्वाधारले दोस्रो लहरको संक्रमणलाई नधान्ने बताउँछन्।
'अहिले भएका आइसियू र भेन्टिलेटरको संख्या पुग्दैन,' उनले भने।
डा. सुवेदीले नेपालमा आइसियू र भेन्टिलेटर सञ्चालनका लागि चाहिने क्रिटिकल केयर जनशक्ति नै अभाव रहेको जनाए।
उनले उपकरणको संख्या भए पनि त्यसलाई चलाउने जनशक्ति अभाव रहेको बताए।
'उपकरण छ मात्र भनेर हुँदैन त्यसलाई चलाउने जनशक्ति पनि चाहिन्छ। त्यसैले बेडमात्र थपेर हुँदैन। जनशक्ति तयार पार्न वर्षौं लाग्छ। यो बेड र भेन्टिलेटर थपेजस्तो कुरा हैन,' उनले भने।
भेरी अस्पतालमै अहिले आइसियू र भेन्टिलेटरमा आवश्यक जनशक्ति नभएको अस्पतालले जनाएको छ।
अहिले ४२ जना आइसियूमा संक्रमित उपचाररत रहेकोमा क्रिटिकल केयर जनशक्ति भने जम्मा एक जना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा बताउँछन्।
उनले ४२ जना आइसियूमा रहेका संक्रमितलाई कम्तीमा पाँच जना क्रिटिकल केयर हेर्ने जनशक्ति चाहिने जनाए। तर अस्पतालमा अहिले एक जना क्रिटिकल केयरका र पाँच जना फिजिसियन रहेका छन्।
भारतमा जुन दरले संक्रमण बढिरहेको छ, त्यसरी नै नेपालमा पनि संक्रमण दर बढे अहिले भएका आइसियू र भेन्टिलेटर संख्याले छेउ पनि नभ्याउने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्।
त्योमात्र नयाँ प्रकार (भेरियन्ट)लाई समुदायमा नियन्त्रण गर्न नसकिए मृत्युदर नै बढ्ने डा. अनुप सुवेदी बताउँछन्।
कोरोनाको नयाँ प्रकार (भेरियन्ट) यसै पनि बढी संक्रामक रहेको अनुसन्धानले पुष्टि गरिसकेको छ। यो कुरा पछिल्लो समय भारतमा दैनिक देखिएको संक्रमण संख्याले पनि प्रष्ट पार्छ।
पछिल्लो केही दिनयता भारतमा दैनिक एक लाख बढी मानिसमा संक्रमण देखिएको छ भने हजार बढीको मृत्यु भइरहेको छ।
भारतमा संक्रमण दर तीव्र बढ्दा त्यसको असर खुला सीमा जोडिएको नेपालमा पनि पर्छ।
नेपालमा भने कोरोनाको नयाँ प्रकार (भेरियन्ट) गत महिना देखा परेको स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि गरेको थियो। त्यतिबेला बेलायतबाट आएका केही व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएको थियो।
तर नयाँ भेरियन्ट देखा परे पनि त्यसले नित्याउन सक्ने क्षतिबारे सरकार गम्भीर बन्न सकेन। जसका कारण भारतबाट हजारौं मानिसहरू बिनापरीक्षण नेपाल आए। त्यसकारण पनि नेपालमा अहिले नयाँ भेरियन्ट तीव्र फैलिरहेको विज्ञहरूले बताएका छन्।
नयाँ भेरियन्ट सबै उमेरका मानिसहरूमा उतिकै जोखिम रहेको अध्ययनहरूले देखाएको छ। यसअघि पहिलो लहरको जोखिम बालबालिकामा कम रहेको भनिएकोमा नयाँ भेरियन्ट भने बालबालिका पनि बढी जोखिम रहेको बताइएको छ।
डा. प्रकाश थापाका अनुसार भेरी अस्पतालमा ४२ जना संक्रमित आइसियूमा उपचाररत रहेकोमध्ये पाँच जना १८ वर्षमुनिका बालबालिका छन्।
त्यसैले गर्दा पनि नेपाल जस्तो स्वास्थ्य पूर्वाधार कमजोर रहेको देशमा संक्रमणलाई समुदायमै नियन्त्रण गर्नु र बिरामीलाई अस्पताल नै पुग्न नदिनु रहेको डा. सुवेदी बताउँछन्। त्यसका लागि परीक्षण बढाउने, कन्ट्याक्ट ट्रेसिङ बढाउने र क्वारेन्टिन गर्नुपर्ने उनको सुझाव छ।
तर सरकारले भने यी कुरामा तदारूकता देखाएको छैन। दैनिक २५ हजार जनाको पिसिआर क्षमता रहेको सरकारले बताए पनि अहिले दैनिक ४ हजार जनाको परीक्षण हुँदै आएको छ।
डा. सुवेदी भन्छन्, 'परीक्षण बढाउने, ट्रेसिङ र क्वारेन्टिन गर्ने, अइसोलेसन गर्न सकियो भने कम्तीमा संक्रमण ठ्याप्पै पार्न नसकिए पनि नियन्त्रणमै रहन्छ। जसले गर्दा अहिले भएका पूर्वाधारले व्यवस्थापन गर्न सकिन्छ।'