प्रहरीले बालिका तथा महिलालाई अनैतिक क्रियाकलापमा लगाएको आरोपमा ७२ वर्षीय होटल सञ्चालकलाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले गोदावरी नगरपालिका-११ का ७२ वर्षीय दिप भन्ने देवबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।
उनी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित दिपलक्ष्मी गेष्ट हाउसका सञ्चालक हुन्।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीका अनुसार १७ वर्षीया बालिकाको जाहेरी आएपछि प्रहरीले यससम्बन्धी अनुसन्धान अघि बढाएको हो। प्रहरीले उनलाई गत चैत २२ नै पक्राउ गरेको थियो। तर शुक्रबारमात्रै सार्वजनिक गरेको हो।
दिप श्रेष्ठका एक सहकर्मी महिलाले ती बालिकालाई फेसबुकमार्फत् चिनजान गरेका थिए। ती महिलाले बालिकालाई राम्रो कमाइ हुने ठाउँमा काम दिने भन्दै दिप श्रेष्ठको जिम्मामा छाडेको द्विवेदीले बताए।
उनले पनि ती बालिकालाई होटलमा वेटरको काममा राख्ने आश्वासन दिएका थिए। केही समय बालिकालाई वेटरकै काम लगाए। तर पछि उनले होटलमा आउने ग्राहकहरूसँगै बसेर खाना खाएको बिल धेरै उठाउने काम गर्न लगाए। साथै, ग्राहकहरूसँग दुई हजारदेखि तीन हजार पाँच सयसम्म लिएर यौनजन्य क्रियाकलापमा संलग्न गराउन लगाएका थिए।
त्यसरी यौनजन्य कार्यमा लगाएर सबै पैसा आफैं राख्ने गरेको प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए।
उनले सो होटलमा ती एक बालिका तथा अन्य महिलाहरूलाई यौनजन्य कार्यमा लगाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले बताइन्।
‘एक बालिका र अन्य महिलाहरूलाई त्यसरी काममा लगाएको रहेछ,’ उनले भनिन्, ‘बालिकाले जाहेरी आएपछि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं।’
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान गरिरहेको छ।