ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरूप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन्।
नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरूप पनौतीस्थित सचीतीर्थ-त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो।
मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।
बाह्र वर्षे मकर सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ। मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन्।
मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। उक्त स्थानमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजनाअघि सारेको छ।
उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ।
एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको छ।
नगरले निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती आशापुरी सडकलाई स्तरोन्नति (पक्की) गरी यथाशक्य सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताए।
न्यौपानेका अनुसार स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्यमाता करिडोर) ले निकै राहत दिलाउनेछ।
‘पनौती आउने विभिन्न सडकलाई मर्मतसम्भार एवं स्तरोन्नति गर्दा धर्मावलम्बीलाई सजिलो हुने अपेक्षा गरेका छौं’, न्यौपानेले भने। पनौती संघीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।
मेला सम्पन्न गर्न नगरप्रमुखको उपस्थितिमा हालै एक दर्जन उपभोक्ता समिति गठन गरिएका छन्। ती समितिलाई यसै वर्ष आगामी पुसको अन्त्यसम्ममा त्रिवेणीघाटमात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैं सिंगार्नुपर्ने जिम्मेवारी दिइएको छ। यसमध्ये पनौतीभित्रका मठमन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलिमिली बनाइने मुख्य काम हो।
साथै, पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वार निर्माण गर्नुपर्नेछ। यीसहित भौतिक निर्माणका लागि चालू आर्थिक वर्षदेखि नै नगरले रु तीन करोडभन्दा माथि बजेट छुट्याइएको नगरप्रमुख न्यौपानेले बताए।
नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यक क्षेत्रमा अस्थायी शौचालय बनाइने छ।
मेला अवधिभर मल्पी ड्यामबाट नियमितरूपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइनेछ। यसका लागि मकर मेला सुरू हुनु हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन्, पैठारी बन्द गर्ने योजना बनाइएको छ।
राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्।
तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बगिरहेको मान्यता रहेको छ। भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैं पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरमुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ।
स्कन्दपुराणअन्तर्गत हिमवत् खण्ड (नेपाल महात्म्य) मा वर्णन गरिएअनुसार परापूर्वकालमा सृष्टिकर्ता परब्रह्माले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिया वशमा राख्न सक्ने गौतम ऋषिलाई नासोका रूपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्र अहिल्याको रूपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए।
स्नान गरी फर्कंदा इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाएपछि रिसले चुर भएका ऋषिले उनलाई जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएपछि इन्द्रको शरीरमा हजारौं योनी पाप चिह्नका रूपमा देखिएको थियो।
सतित्वहरणपछि पत्थरझैँ विवेकहीन अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएका र त्रेतायुगमा मर्यादा पुरूष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्शपछि अहिल्याको श्राप मोचन हुने भनिएको छ।
पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला) लाई काठमाडौंको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रूपमा गनिएको छ।
शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या/भक्ति गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकर मेला निरन्तररूपमा चल्दै आएको जनविश्वास रहेको छ।
अर्को किंवदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिक फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्थे।
दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहे पछि फुल्चोकी माताले जसले पहिलो चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भनेकी थिइन्। यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले ती फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिएकी थिइन्।
छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरूलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन्। यसपछि छ/छ वर्षको अन्तरमा गोदावरी मेला र १२/१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ।
जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणी सङ्गममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याएर दुई दिनसम्म राखिने पनि गरिन्छ। रासस