३० वर्ष भारतमा कमाएको पैसाले बनाएको नरसिंह दमाइको घर जलेर खरानी भयो।
डोटीको जोरायल गाउँपालिका-२ भट्टीखोलाका दमाइका आँखै अगाडि वनमा लागेको आगो आएर घर जलेको थियो।
चैतको अन्तिम दिन नयाँ वर्ष मनाउने तयारीमा थियो सिंगो गाउँ।
‘हामी घरमै थियौं। वनदेखि लागेको हावाले आगो नजिकै आयो,’ उनले भने, ‘हामी निभाउन गएका थियौं, निभेन। घरमा आगो पुगेपछि तल्लो कोठाबाट लागेर पूरै जल्यो।’
आगो लागेको देखेपछि छिमेकी आए। उनको घरको तल र बाटो माथितिर पनि आगो पुगेको थियो।
‘हतारमा केही सामान जोगाउन सक्यौं, पड्किने डरले पहिले तीन वटा सिलिन्डर बचाइयो। अरु दुई सिलिन्डर फुट्यो,’ उनले भने।
आगलागीपछि आफू र बच्चाले लगाएको कपडाबाहेक अरु केही बचेन। कागजपत्रहरू नागरिकता, परिचय पत्र होटलको लाइसेन्स सबै जल्यो। टिभी दराज, फ्रिज, सुन सबै जलेको उनले बताए।
आगो निभाउन छिमेकी र प्रहरी लागे। उनको घर त सखापै भयो। छिमेकमा २५-३० घर अरु छन्। तिनलाई जोगाउन कसैले नजिकैको धाराबाट पानी ल्याए, कसैले हरियो स्याउलाले निभाए।
नरसिंह लकडाउनपछि भारत नजाने भनेर घरमै खाजा-नास्ता पसल खोलेर बसेका थिए।
‘४५ वर्ष उमेर भयो। १५ वर्षदेखि भारत गएको। ३० वर्ष काम गरेर लगानी लगाएको केही पनि बचेन,’ उनले भने।
उनको आठ कोठाको घर थियो। दुई घर जोडेर एकै बनाएकोले कोठा धेरै थिए। घर सिमेन्टको भए पनि माथि काठ थियो। छाना टिनको थियो।
बाह्र वर्षअघि उनको परिवारै भारतमा थियो। २०६५ मा स्वदेश फर्केर केही दिन उनीहरू भाडामा बसे। पछि बाटोकै छेऊमा ऐलानी जमिनमा बस्दै आएका थिए। त्यसै बेलादेखि उनकी श्रीमतीले पसल चलाउँथिन्। श्रीमतीकै कामलाई निरन्तरता दिएर भारत नजाने भनेर साउनदेखि सामान किनेर होटल चलाएको उनले बताए।
‘दुई रोपनी नाममा जग्गा छ बासकोटामा। त्यहाँको उब्जनीले पुग्दैन। भारतको रोजगारीले चलेको थियो। लकडाउनपछि होटल गरेर भारत नजाने भनेको यस्तै भयो,’ उनले भने।
उनका छिमेकी प्रकाश नेपालीको ट्वाइलेट र गोठ जलेको छ। यस्तै, ललिता भण्डारीको पुरानो घर पनि जलेको स्थानीयले बताए।
‘यहाँ पानीको सुविधा छैन। अहिले पनि ठाउँ-ठाउँमा आगो लागेकै छ। जंगल सखाप भएको छ। ढलेका रुखमा अझै आगो छ,’ उनले भने।
घर जलेपछि छोरीको घरमा बसिरहेको उनले बताए। ‘आज जलेकै घरको छेऊमा सानो छाप्रो बनाउँदै छु। वडामा कुरा गरेपछि चामल दिएका छन्। रेडक्रसले पनि पाल, भाँडाकुँडा र राशन सहयोग गरेको छ,’ उनले भने।
उनको मात्र ३० लाखसम्मको क्षति भएको छ। त्यतिको लगानी र भारतको कमाइ आँखै अगाडि जलेको देखरे मनमा धेरै दुःख लागेको उनले बताए।
‘बच्चाहरू निराश छन्। छोरो ड्रेस नभएर स्कुल गएको छैन,’ उनले भने।
श्रीमती बेला-बेला खरानी भएको घर हेरेर रुन्छिन्।
‘वन मन्त्री आलेजी काठमाडौं हुनुहुन्छ होला, उहाँसम्म खबर पुगाइदिनुहोला, गाउँका वन सखाप भइसके,’ उनले सेतोपाटीलाई आग्रह गरे।
यो मन्त्री आलेकै गृहक्षेत्र हो। जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले डढेलोले सबै ६ ओटै वडामा प्रभाव पारेको बताए।
‘जोरायलको सबै वडाका वनमा आगलागी भएको छ, आठ वटा घर जलेका छन्,’ उनले भने।
गाउँपालिकाका सबै वनक्षेत्रमा आगो लागेपछि मान्छेहरू चिन्तामा रहेको उनले बताए।
‘आगो जथाभावी छोड्नु हुँदैन भनेका थियौं, सामुदायिक वनलाई पनि आग्रह गरेका थियौं, वन जलेकै छ, कार्बनडाइअक्साइड मात्रै छ। पशु जलेका छन्, धनको क्षति भएको छ,’ उनले भने।
अध्यक्ष ओझाले आगो निभाउन नसकिएको बताए।
उनका अनुसार आगो लाग्नुको मुख्य कारण मानिस आफैं हो।
‘घाँस राम्रो आउँछ भनेर मान्छेले आगो लगाउँछन्,’ उनले भने।
बुडरमा वनको डढेलो गाउँ आएपछि दुई वटा घर जलेका थिए। उनीहरू आफैं व्यवस्था गरेर बसिरहेका छन्।
गाउँपालिकाले आगलागी हुन नदिने भनेर डेढ लाख खर्च गरेको ओझाले बताए।
जोरायल गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष लालबहादुर साउदले निरौलीमा डढेले गाउँ पसेर चार घर जलेको बताए। उनीहरू त्रिपाल हालेर घर जलेकै ठाउँनजिक बसेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार प्रदेशका ९ वटै जिल्लामा डढेलोले धनको क्षति भएका घटना आएको जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आगलागीको भएका स्थानमा क्षति हुन नदिन प्रहरीले निभाउने प्रयास गरिरहेको बताए।
‘हामीसँग भएका बाल्टी, जर्किनले खोलाबाट पानी ल्याएर निभाउने प्रयास गरेका छौं, पहाडी जिल्लाका कतिपय स्थानीय तहमा दमकल नभएर समस्या छ,’ उनले भने।
उनले वनमा लागेको आगो गाउँमा पुगेका कारण घर जलेर खरानी भएको बताए।
उनका अनुसार अहिलेसम्म प्रदेशका विभिन्न जिल्लाका वनमा लागेको आगो नियन्त्रण गर्ने कुनै पनि प्रयास हुन सकेको छैन।