चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीका विजय परियारले मध्यवर्ती क्षेत्रमा भेटिएको बाँदरलाई घरमा ल्याएर पालेका थिए। उनी त्यो बाँदरसँग खेल्थे, त्यसैसँग खान्थे। महिनौंदेखि पालेको बाँदर उनलाई आफ्नै परिवारको सदस्यझैं लाग्थ्यो। तर पछि बाँदरले परिवारका अन्य सदस्यलाई टोकेर दुःख दिन थाल्यो।
विजयले त्यो बाँदर वन्यजन्तुको शौखिन स्थानीय अशोक भण्डारीलाई दिए। २ महिनादेखि भण्डारीले यसलाई पालिरहेका थिए। केही दिनअघि संरक्षणकर्मीको आग्रहमा त्यो बाँदरलाई वनमै लगेर छाड्न भण्डारी बाध्य भए।
वन्यजन्तुलाई प्रकृतिमै रमाउन दिनुपर्छ भन्ने मान्यताका साथ संरक्षणकर्मीले वन्यजन्तु सप्ताह (वैशाख १–७)को अवसरमा मेघौली गाउँलाई वन्यजन्तु तथा चराचुरुङ्गी पिँजडामुक्त गर्ने अभियान सञ्चालन गरेका थिए। सोही अभियानअन्तर्गत मेघौली क्षेत्रका पाँच जनाले बन्धनमा राखेका पंक्षी तथा वन्यजन्तुलाई बन्धनमुक्त गरिएको थियो।
पंक्षीलाई पिँजडामुक्त गर्नेमा नारायणी मध्यवर्ती सामुदायिक वनका पूर्व अध्यक्ष भिमबहादुर थापा कुमाल पनि थिए। उनले ३ महिना अघि घर नजिकै बालबालिकाले लिएर हिँडेको सुगा एक सय रुपैयाँमा किनेका थिए। ‘बच्चाहरुले लिएर हिँडेका थिए, यसको संरक्षण गर्नुपर्छ भनेर मैले एक सय रुपैयाँ दिएर सुगा लिएँ,’ उनले भने, ‘घरमा नभई प्रकृतिमै छाड्नुपर्छ भन्ने आवाज उठेपछि सुगालाई उडाइदिएको छु।’
भरतपुर–२८ मेघौलीका अशोक कुमालले नारायणी नदी नजिकै एउटा रुखमा सर्पले चराको बच्चा खाइरहेको देखे। सर्पबाट चरालाई बचाउने उद्देश्यले उनले एउटा बच्चालाई उद्धार गरेर घर ल्याए। तर त्यसले मैनाको त्यो बच्चा एक वर्षको हुँदा संरक्षणकर्मीको आग्रहलाई उनले टार्न सकेनन्। ‘टुहुरो बच्चालाई सर्पबाट बचाएर उद्धार गरेको थिएँ। चराचुरुङ्गी मन पर्ने भएकाले घरमा मैनालाई देख्दा आनन्द लाग्थ्यो,’ उनले भने, ‘तर चरालाई घरमा होइन प्रकृतिमा रमाउन दिनुपर्ने रहेछ। सबैको आग्रह ठीक लागेपछि प्रकृतिको जिम्मा लगाइदिएको छु।’
नेचर गाइड एसोसिएशन मेघौली–घडगाईँका अध्यक्ष मनिषकुमार लिम्बुकाअनुसार अब चितवनको मेघौलीलाई पिँजडामुक्त गाउँ बनेको छ। भरतपुर महानगरपालिकाका वडा नम्बर २७ र २८ मा पिँजडा र अन्य बन्धनमा रहेको जानकारी भएका सबै पंक्षी तथा वन्यजन्तुलाई प्रकृतिमा छाड्दै पिँजडामुक्त गाउँ घोषणा गरिएको उनले बताए।
वन्यजन्तु सप्ताहको अवसरमा नेचर गाइड एसोसिएशन मेघौली घडगाईंले सुगा, मैना, बाँदरलगायतका पंक्षी/वन्यजन्तुलाई बन्धन मुक्त गर्नेहरुलाई सम्मानसमेत गरेको थियो। पिँजडामुक्त गर्नेहरुले सम्मान लिँदै आगामि दिनमा वन्यजन्तुको संरक्षणमा सकृय बन्ने घोषणा गरेका थिए।
एसोसिएशनका अध्यक्ष लिम्बुले मेघौली पिँजडामुक्त बनेसँगै अब घडगाईँलाई पनि पिँजडामुक्त बनाउने अभियान थाल्ने बताए। ‘नेपालमा आधिकारिक रूपमा कुनै पनि क्षेत्रलाई यसरी पिँजडामुक्त बनाएको जानकारी छैन। हामीले पहिलो पटक मेघौली क्षेत्रका २ वटा वडालाई घोषणा गर्यौं,’ उनले भने, ‘अब यसलाई निरन्तरता दिँदै भरतपुर महानगरपालिका र चितवन राष्ट्रिय निकुञ्ज आसपासका सबै क्षेत्रलाई पिँजडामुक्त बनाउनुपर्छ।’
एसोसिएशनले यी दुवै निकायलाई पिँजडामुक्त अभियानको विषयमा जानकारी गराउँदै सहयोगको आग्रह गरेको छ। साथै शिक्षकमार्फत विद्यार्थीहरुलाई यस अभियानमा सहयोग गर्न आग्रह गर्ने गरेको छ।
लिम्बुले कतिपय मान्छेले शोभाका लागि, कतिले शोखले पंक्षी, वन्यजन्तु पाल्ने गरेको भन्दै व्यक्तिगत रहर पुरा गर्नका लागि कसैले पनि उनीहरुलाई बन्धनमा पार्न नहुने बताए। ‘देश विदेशबाट आउने पर्यटकहरुलाई यहाँका जंगलमा घुमाएर जीवजन्तु देखाएर फाइदा लिनुपर्छ, घर–घरमा पाल्न थाल्ने हो भने त यसको अस्थित्व नै सकिन्छ’, उनले भने।