निलो टिसर्ट र हाफ पाइन्ट लगाएका फुच्चे केटो दुगुर्दै कोठाभित्र पसे। उनको हातमा स्कुलको रिजल्ट थियो। पछिपछि उनकी आमा रश्मिला अवाल थिइन्।
'खोइ, खोइ! रिजल्ट हेरौं त,' हाम्रो आवाज सुनेर उनी एकछिन अलमलमा परे।
ढोकामै अडिएर आमाको अनुहारतिर हेरे।
यसरी कोठामा नयाँ मान्छे आउनु उनको निम्ति सामान्य थियो सायद। उनी अप्ठ्यारो नमानिकनै हामीनजिक आए। रिजल्ट देखाउँदै प्रत्येक विषयको 'ग्रेड' ठूलो स्वरमा सुनाउन थाले, 'ए-प्लस, बी-प्लस, डी-प्लस, सी-प्लस, बी-प्लस...।'
२०७२ वैशाख १२ को भुइँचालो बेला भक्तपुर, मूलढोका-४ को एक भग्नावशेष घरमा २२ घन्टा पुरिएर उद्धार गरिएको बालक तपाईंहरूलाई याद छ नि!
त्यति बेला उनको फोटो निकै भाइरल भएको थियो। सेनाको उद्धारटोलीले काखमा बोकेका ती बालक धूलोमा लुटुपुटु थिए। उनको जिउमा सेतो लुगा थियो, शिरमा टोपी। धूलोले आँखाधरि हेर्न नसकेर चिम्म गरेका थिए।
जसै सेनाले उनको जिउको लुगा टक्टकाए, ओठमा लागेको माटो हटाए र हल्कासँग फू गरेर आँखाको धूलो झारे, उनले आँखा पुलुक्क उघारे। भुइँचालोको असह्य चोटमा एउटा खुसी मुसुक्क हाँसेको थियो।
आज छ वर्षपछि उनी हामीलाई स्कुलको मार्कसिट पढेर सुनाइरहेका छन्।
'एसकेजी' मा पढिरहेका सोनिस अवाललाई हामीले सोध्यौं, 'म्याथमा त डी-प्लस मात्र आएछ नि है? राम्रो हो त्यो?'
उनले एक अक्षरमा जवाफ फर्काए, 'नो।'
सोनिस धेरै प्रश्नको जवाफ 'यस' र 'नो' मा फर्काउँछन्।
'झ्याउ लाग्छ हो म्याथ?'
'म्याथ होइन सबैमा झ्याउ लाग्छ,' त्यसो भन्दै उनले रिजल्ट दिदी सोनियाको हातमा थमाए अनि टेबलमा चार्ज भइरहेको मोबाइल थुतेर त्यसैमा झुम्मिन थाले।
त्यो मार्कसिट सोनिसको आफ्नो होइन रहेछ, कक्षा ९ पढिरहेकी दिदीको रहेछ। दिदीको मार्कसिट लिन उनी आमासँग साथी मात्र गएका रहेछन्। आमा-छोरा स्कुल गएका बेला हामी सोनियासँग घरमै कुरेर बसेका थियौं।
स्कुलको परीक्षा आफ्नो ठाउँमा छँदैछ, जिन्दगीको परीक्षा भने यी दिदी-भाइले भुइँचालोमै 'पास' गरेका हुन्।
त्यो दिन आमा पसल हिँडेपछि सोनिया टिभी हेरिरहेकी थिइन्। छेउमा चार महिनाको भाइ सोनिस मस्त निदाइरहेका थिए। ठूलोबाका छोरीहरू रुबी र लक्ष्मी पनि आफ्नै धुनमा थिए। एक्कासि हेरिरहेको टिभी झल्याकझुलुक हुँदै झिरझिर गर्न थाल्यो। एकछिनमा फ्याट्टै निभ्यो।
त्यति बेलासम्म धर्ती हल्लिन थालिसकेको थियो। उनी बस्ने माटोको घर किरकिर गर्दै थर्थराइरहेको थियो। तर, न सोनियाले चाल पाइन् न त रुबी र लक्ष्मीले। न सोनिसकै निद्रा टुट्यो।
बाहिर होहल्ला हुन थालिसकेको थियो। सबै 'भुइँचालो आयो' भन्दै भागाभाग गरिरहेका थिए। सोनियालाई आफ्नै पैतलामुनिको भुइँ सरकसरक सरिरहेजस्तो लाग्न थाल्यो। भित्ताहरू चरकचरक फाटिन थाले। त्यहाँबाट फुसफुस धूलो झरिरहेको थियो।
काठका साँघुरा भर्याङबाट गुर्रर झर्न मात्र आँटेकी थिइन्, उनलाई 'प्यारो' भाइ सोनिसको ख्याल आयो।
पसल जानुअघि आमाले भनेकी थिइन, 'टिभीमा मात्र भुल्ने होइन नि, भाइको पनि ध्यान राख्नू।'
'हुन्छ ममी,' उनले आश्वस्त पारेकी थिइन्।
त्यसै कारण भर्याङको पहिलो खुट्किलोमा पुगिसकेका उनका पाइला फरक्क पछाडि फर्के। मस्त निद्रामा सुतिरहेको भाइ सोनिसलाई च्यापेर उनी बाहिर निस्कन खोजिन्। तर मात लागेजसरी हल्लिरहेको दराज सोझैं उनमा खप्टिन पुग्यो। त्यही तोडमा भाइ पनि हातबाट फुत्कियो।
५६ सेकेन्डको ताण्डवपछि भुइँचालो केही बेर शान्त भयो। पसल गएकी आमा रश्मिला छोराछोरीको चिन्ताले हाँपदाँप गर्दै फर्किन्। तर घर पूरै माटो भइसकेको थियो।
उनी मौन। निःशब्द।
उद्धारकर्ताले दुई घन्टाको अथक प्रयासपछि टाउको मुनि खुट्टा माथि भएर पुरिएकी सोनिया फेला पारे। उनी होसहवासमै थिइन्। हातगोडामा सामान्य चोट मात्र लागेको थियो।
उद्धारकर्ताले रुबी र लक्ष्मीलाई पनि फेला पारे। उनीहरूको सास भने थामिसकेको थियो। सोनिस भने कतै फेला परेनन्।
सबैले माया मारेर रश्मिलालाई सान्त्वना दिन थाले। छोरी सकुशल फेला पर्नु नै ठूलो कुरा हो भन्दै सम्झाए। तर, रश्मिला मौन थिइन्।
राति ९ बजे भुइँचालोले ल्याएको भयानक शून्य चिर्दै मन्द आवाजमा बालक रोएको सुनियो। सबैका कान ठाडा भए। रोएको आवाज त्यही भग्नावशेषबाटै आइरहेको थियो। रश्मिलाले तत्काल चिनिहालिन्, यो आवाज सोनिसकै हो।
राति ११ बजेसम्म प्रयास गर्दा पनि उद्धार टोली सोनिस अड्किएको ठाउँसम्म पुग्न सकेन। उनीहरूले भोलिपल्ट बिहान ६ बजेदेखि फेरि खोज्न थाले।
अर्को दिन बिहान १० बजेतिर भुइँचालो गएको २२ घन्टापछि सोनिस सकुशल फेला परे।
घर माटोमा मिले पनि त्यस दिन रश्मिला र उनका पति कान्छा अवालको संसार उजाडिनबाट जोगियो। उनीहरूले भग्नावशेषमा आफ्नो छोराछोरी गुमाउनु परेन।
अहिले भक्तपुर, महाकाली मन्दिरभन्दा केही तल भाडाको एउटा कोठामा जिन्दगी बिताइरहेका उनीहरूलाई छ वर्षअघि ढलेको घर बनाउन नसक्दाको दिक्दारी सधैं हुन्छ।
उनीहरूको एककोठे डेरामा मुश्किलले दुइटा खाट अडिएको छ। दराज र केही सामान एकठाउँ थुपारिएका छन्। कोठाबाहिर बरन्डामा चुह्लो छ।
छ वर्षमा हल्का मोटाएकी छन् रश्मिला। आँखामा पावर चस्मा चढेको छ। उनी भुँइमा थुचुक्क बसिन्, ऊन र कुरुस समात्दै बोल्न थालिन्, 'भूकम्पपीडित भएर बाँचेको छ वर्ष भइसक्यो। केही गर्न सकेको छैन। ज्याला मजदुरी गरेबापत आएको पैसाले खानै पुग्दैन रहेछ।'
उनी सिलाइबुनाइका काम गर्छिन्। उनको श्रीमान अर्डरअनुसार इँटा-बालुवा गाडीमा पुर्याइदिन्छन्। त्यसबाट आएको पैसाले कोठाभाडा तिर्न मुश्किल हुन थालेपछि यो वर्ष जसोतसो टहरा बनाउने उनीहरूको सोच छ। त्यसका लागि केही महिनाअघि घरको भग्नावशेष पन्छाए। माटो फालेपछि अहिले जमिन सम्म छ।
'दुई-तीन महिनामै बनाउने सोचेका छौं। पैसा त जुटिरहेको छैन तर हेर्दै जाऊँ,' उनले भनिन्, 'ऋण गरेर हुन्छ कि जे गरेर भए नि अब त टहरा भए नि बनाउने।'
आफ्नो घर भए जे गर्दा पनि हुन्छ। नाचे पनि ठीक, उफ्रे पनि। हल्ला गरे पनि ठीक, रोए पनि। अरूले त्यस्तो मन पराउँदैनन्। झन् साना केटाकेटीलाई त जति सम्हाल्न खोज्दा पनि होहल्ला गरिहाल्छन्। त्यसैले रश्मिला भन्छिन्, 'अरूको भनेको अरूकै हुन्छ। आफ्नोमा त छ खाउँला, नत्र चुप लागेर बसौंला। डरैडर र किचकिच सुनेर त बस्नुपर्दैन।'
भक्तपुर, मूलढोकाको पहिलेको घर रश्मिलाको एक्लौटी होइन, चार दाजुभाइको अंशभाग हो। जम्मा तीन पैसामा ठडिएको घर चार तलाको थियो। प्रत्येक तलामा एउटा कोठा। चारमध्ये दुई दाजुभाइ छुट्टै कोठा लिएर बस्न थालेपछि दुई परिवार मात्र त्यहाँ बसेका थिए।
चार जनाको अशं भएकाले घर बनाउने हिम्मत पहिले गर्न सकेकी थिइनन। अहिले चार दाजुभाइले सहमति गरेर जग्गा रश्मिलाको परिवारलाई चलाउन दिने भएका छन्। त्यसबापतको पैसा उनीहरूले तीन दाजुभाइलाई दिनुपर्नेछ।
भुइँचालोपछि सरकारले पीडितहरूलाई राहत पनि बाँडेको थियो। घरधनीपुर्जा नै नभएपछि रश्मिलाको परिवार सुविधाबाट वञ्चित हुनुपर्यो। पुर्जा नभए पनि उनीहरू बाजेबराजुदेखि नै यो ठाउँमा बस्दै आएका हुन्। नापी आउँदा घरमा कोही नभएर नाम लेखाउन छुटेको बताउँदै रश्मिला भन्छिन्, 'सरकारले जब स्ववासी भनेर दर्ता खोल्छ, त्यही बेला जग्गा पनि दर्ता गराउँछौं।'
यो जग्गामा घर बनाउन सजिलो चाहिँ छैन। तीन पैसाको जग्गामा घर बन्ने भनेको एकतले, एककोठे नै हो। त्यसमाथि तीन आनाभन्दा कममा घर बनाउन नपाइने मापदण्ड छँदैछ। बाटोछेउको जग्गा भएकाले अलिकति छाड्नैपर्छ। त्यसो हुँदा जम्माजम्मी डेढ पैसा जग्गा बच्छ।
'नियमले त के भन्छ के? हामी नगरपालिकासँग सल्लाह लिन्छौं, तर मिल्दैन भने पनि बनाउने हो,' रश्मिलाले भनिन्, 'हाम्रो त तीन पैसा भए पनि छ, कि त हामीलाई अन्त ठाउँ दिनुपर्यो, नभए यहीँ टहरा बनाउन दिनुपर्यो।'
भुइँचालो गएपछि सोनिसको पढाइका लागि भने उनीहरूले उति सोच्नुपरेन। सेनाले नै पढाउने निर्णय गरेको थियो। जसअनुसार वार्षिक ५० हजार दिने र पछि सैनिक स्कुलमै पढाउने भनिएको छ। हाल उनी एभरेष्ट स्कुलमा पढिरहेका छन्। सोनिया पनि हिमालयन स्कुलमा छात्रवृत्तिमा पढिरहेकी छन्।
लकडाउनको समय यी दुवैले अनलाइन कक्षा पढ्नुपर्यो। आफ्नो एउटा मात्र मोबाइल हुँदा सुरूसुरूमा त रश्मिला अलमलिइन्, मोबाइल भाइलाई दिउँ कि दिदीलाई? केही समय श्रीमानको पनि चलाउन दिइन्। तर उनी यताउता हिँडिरहनुपर्ने भएकाले साध्य भएन। फेरि आफ्नोमा पनि फोन आउँदा उस्तै समस्या।
बल्लतल्ल अर्को सेकेन्ड ह्यान्ड मोबाइल किनिन्।
कोरोनाको डर भएकाले त्यो समय काम पनि भएन, धेरै महिना फाल्तु बस्नुपर्यो। दैनिक मजदुरी गर्नेलाई समस्यामाथि समस्या!
यिनै समस्याले रश्मिलालाई बढी चिन्तित बनाउँछ। बजारमा सबथोक किन यति महंगो भनेर बेलाबेला मुर्मुरिन्छिन्। अस्ति भर्खर दुई बोरा चामल किन्दा उनलाई त्यस्तै भएछ, 'पाँच हजार तीन सय रुपैयाँ गयो। मेरो त यति धेरै चित्त दुख्यो नि, भन्नै लाज हुन्छ। साँच्चै रासनहरू किन यति महंगो भएका होलान्? खानै लोभ लाग्ने भयो। जति मिहिनेत गरेको छ, खानै ठीक्क।'
उमेर र ऊर्जा हुँदा रश्मिलालाई लाग्थ्यो रे– आफूले जे पनि गर्न सकिन्छ। त्यो बेला उनले ज्यामी कामदेखि खेतीपातीसम्मका काम गरिन्। अहिले ४२ वर्षकी उनी निराश हुन थालिसकिन्, 'ह्या! यस्तो नि के जिन्दगी? जति गरे पनि दिन फेरिन्न।'
'यिनीहरूको बुवा पनि गर्दागर्दै थाकिसक्नुभयो,' उनले अगाडि भनिन्, 'सोच्दा सोच्दा दिमाग ह्यांग हुन्छ कहिले त। यति टेन्सन... यति टेन्सन। हत्तेरी!'
बुनिरहेको पन्जा बुन्न छाडेर उनी एकछिन मौन भइन्। फेरि आफैंलाई सान्त्वना दिँदै भनिन्, 'हुन त हाम्रोभन्दा धेरै दुःख भएको मान्छे नि हुन्छन् नि है?'
भुइँचालोमा सरकारबाट सहयोग नपाउँदा उनी त्यसरी नै आफूलाई सान्त्वना दिन्छिन्, 'हाम्रोभन्दा धेरै दुःख भएको मान्छे नि हुन्छन् नि है।'
त्यसो त उनलाई भेट्न भनेर पुनर्निर्माण कार्यालयबाट दुईपटक मान्छे आएका रहेछन्। उनीहरूले आशा त देखाइरहे, तर अहिलेसम्म केही गरेका छैनन्।
'कतिपटक त आफैंले फोन गरिसकेँ। म त माग्नेजस्तै भइसकेँ भन्या। बेकार फोन गरेर पैसा मात्र सकिने,' उनले फेरि दोहोर्याइन्, 'हुन त हामीजस्तो पीडित अरू पनि होलान् नि।'
घर बनाउन नपाउँदाको मानसिक असर रश्मिलाको दिमागमा मात्र होइन, परिवारमै फैलिएको छ। सोनिसले पनि बेलाबेला भनिरहन्छन् रे, 'ममी यहाँ नबस्ने, हामी आफ्नो घर कहिले बनाउने?'
हामीले उनलाई सोध्यौं, 'यहाँ बस्न किन मन लाग्दैन?'
चुलबुले पारामा सोनिसले जवाफ फर्काए, 'अरूको घर हो नि त।'