महोत्तरी, मनरा सिसवा नगरपालिका-६ का सुवासप्रसाद साह जनकपुर बाल अस्पतालमा काम गर्थे।
अस्पतालको इमरजेन्सी वार्डमा काम गर्न थालेको एक वर्ष भएको थियो।
२९ वर्षीय साहले एसएलसी प्रमाण पत्र नक्कली बनाएर त्यसैका आधारमा बंगलादेशबाट एमबिबिएस पास गरेका थिए।
उनले नेपाल मेडिकल काउन्सिलबाट तीन वर्षअघि लाइसेन्स लिएका थिए।
आइतबार केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी पक्रन घर पुग्दा उनी हिरासतबाट भर्खर मुक्त भएका थिए।
साह एक जना युवतीसँग लिभिङ टुगेदरमा थिए। विवाह गर्न नमानेको भन्दै ती युवती प्रहरीमा गएकी थिइन्।
एक रात प्रहरीमा बसेपछि साह युवतीसँग विवाह गर्न मञ्जुर भए। प्रहरीले कागज गरेर साहलाई छोडिदिएको थियो।
ब्युरोका अनुसार साहले २०६३ सालमा महोत्तरीको श्री योगकुमार उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका हुन्। ६१ प्रतिशत अंक ल्याएका उनले प्लस टु ललितपुरमा पढेका थिए।
२०६६ सालमा उनले प्लटु पास गरे। ५५ प्रतिशत अंक ल्याएर प्लस टु पास गरेपछि उनले बंगलादेशस्थित बिजिसी ट्रष्ट मेडिकल कलेजमा एमबिबिएस पढ्ने प्रक्रिया थालेका थिए।
यस क्रममा उनी बागबजारस्थित द्वीपज्योति एजुकेसन कन्सल्टेन्सी पुगे।
‘बंगलादेशमा एमबिबिएस पढेकाहरूले द्वीपज्योति गएर प्रक्रिया सुरू गर्न सकिन्छ भनेपछि त्यहाँ गएको उनले बताएका छन्,’ ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले भनिन्।
बंगलादेश अध्ययन गर्न जान मुख्य विषयहरूमा चाहिने अंक (जिपिए) एसएलसी सर्टिफिकेटमा पुगेन।
कन्सल्टेन्सीका सञ्चालक अरुणकुमार चौधरीले एसएलसी प्रमाण पत्रमा अंक बढाउने उपायमात्र सिकाएनन्, किर्ते गर्ने उपाय पनि आफूसँग रहेको सुनाइदिए।
चौधरी आफैंले सुधीरकुमार साहको एसएलसी सर्टिफिकेटको सबै प्राप्ताङ्क साहको सर्टिफिकेटमा हालेर किर्ते प्रमाण पत्र बनाइदिए। त्यो प्रमाण पत्रका आधारमा साह एमबिबिएस पास गरेर चिकित्सा पेशामा संलग्न थिए।
रुकुम-पश्चिमस्थित चौरजहारी मिसन अस्पतालमा काम गरिरहेका ३१ वर्षीय दीपेन्द्र गौतम त नेपाल मेडिकल काउन्सिलबाट प्रमाण-पत्र नलिइकनै चिकित्सा पेशामा संलग्न थिए।
उनले स्वस्तिक भट्टराईको सबै प्राप्ताङ्क आफ्नो एसएलसी सर्टिफिकेटमा हालेर ढाका नेसनल मेडिकल कलेजमा पढेका थिए।
प्रहरी उनलाई पक्रन पुग्दा उनी अपरेसन थिएटरबाट भर्खरै निस्केका थिए।
मुलुकी अपराध संहिताको इजालसम्बन्धी कसुरको दफा २३० को उपदफा (३) अनुसार काउन्सिलको अस्थायी वा स्थायी अनुमतिबेगर चिकित्सा पेशामा संलग्न हुन पाइन्न। त्यस्तो गरेको पाइएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
पक्राउ परेका सात जनामध्ये चार जनाले अर्काको नामको सिंगै प्राप्ताङ्क आफ्नो सर्टिफिकेटमा राखेर एमबिबिएस पढेको पाइएको छ।
ललितपुरका फराज हुसैन खाँले राजीव घिमिरेको एलएलसीको प्राप्ताङ्क आफ्नो सर्टिफिकेटमा राखेको पाइएको छ। उनले ललितपुरको आइडिएल मोडल स्कुलबाट प्लस टु पास गरेका थिए।
उनले इब्राहम मेडिकल कलेज ढाकाबाट सन् २०१९ मा एमबिबिएस पास गरेका थिए।
नेपाल मेडिकल काउन्सिलमा २०७७ साल पुसमा प्रमाण पत्रका लागि उनले निवेदन दिएका थिए। अनुमति नपाउँदै उनी पक्राउ परे।
सप्तरीका अखिलेशकुमार देवले कमलकान्त चौधरीको एसएलसीको प्राप्ताङ्क आफ्नो सर्टिफिकेटमा राखेको पाइएको छ।
उनले भने हुवेई युनिभर्सिटी चीनबाट एमबिबिएस पास गरेका थिए। नेपाल मेडिकल काउन्सिलबाट उनले लाइसेन्स लिन बाँकी नै थियो।
बंगलादेश नै जान खोजेका उनले चौधरीको कन्सल्टेन्सीले धेरै पैसा मागेको र बुझाउन नसकेपछि चीन गएको बताएका छन्।
महोत्तरी मनराकी पल्लवी सिंह किष्ट मेडिकल कलेजमा अध्ययनरत् थिइन्। उनी बंगलादेश नै जान खोजेकी थिइन्।
साथीभाइले बंगलादेशका कलेजहरू ‘कालोसूचीमा पर्दै’ गएको बताएपछि आफू किष्टमा भर्ना भएको उनले प्रहरीलाई बताएकी छन्।
उनले अंग्रेजी, नेपाली, गणित र सामाजिक विषयको प्राप्ताङ्क किर्ते गरेकी छिन्। उनले सामाजिक र नेपालीको प्राप्ताङ्क अंग्रेजी र गणितमा बढाएको देखिन्छ।
यस्तै, धनुषाका मोहम्मद शाहिद राजाले सामाजिक र गणित विषयको प्राप्ताङ्क तलमाथि गरेका छन्।
सामाजिकमा उनको ५४ र गणितमा ७८ प्राप्ताङ्क थियो। उनले सामाजिकको दुई अंक गणितमा थपेर ८० पुर्याएको देखिन्छ।
उनले बंगलादेशको नर्थइष्ट मेडिकल कलेजबाट सन् २०१८ मा एमबिबिएस पास गरेका थिए।
सन् २०१९ मा काउन्सिलबाट लाइसेन्स लिएका उनी मित्रपार्कस्थित दीर्घायू गुरू अस्पतालको इमरजेन्सी वार्डमा काम गरिरहेका थिए।
सप्तरीका मोहम्मद सिद्धिकीले अंग्रेजी, विज्ञान, सामाजिक, गणित र फिजिकल एजुकेसन विषयको प्राप्ताङ्क किर्ते गरेका छन्। उनले सामाजिक र फिजिकल एजुकेसनको नम्बर घटाएर अंग्रेजी, विज्ञान र गणितमा नम्बर बढाएको देखिएको छ।
नर्थ बंगाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर उनी सन् २०१८ मा नेपाल आएका थिए।
प्लस टु विराटनगरको अर्किड कलेजमा गरेका उनी न्युरो अस्पताल विराटनगरमा काम गरिरहेका थिए। सन् २०२० मा नेपाल मेडिकल काउन्सिलबाट प्रमाण-पत्र लिएका उनी न्युरोको कोभिड सेन्टरको इमर्जेन्सी वार्डमा कार्यरत थिए।
इमर्जेन्सी वार्डमा काम गरिरहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये अंक तलमाथि पार्नेले यथार्थ सर्टिफिकेटमा भएको आफ्नो अंकसँग बराबर पारेका छन्। अर्काको सबै नम्बर कपी गरेर सर्टिफिकेट किर्ते गर्नेले जन्ममिति र नाम आफ्नो राखे पनि सिम्बोल नम्बर भने अर्कैको राखेका छन्।
पक्राउ परेकाहरूले नम्बर तलमाथि र अर्काको सर्लक्कै नम्बर आफ्नो सर्टिफिकेटमा राख्नुको उद्देश्य बंगलादेशमा डाक्टर पढ्न आवश्यक प्राप्ताङ्ककै लागि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
‘बंगलादेश पढ्न जान मुख्य केही विषयमा आवश्यक जिपिए चाहिन्छ, त्यो नपुगेपछि उनीहरू आफ्नो सर्टिफिकेट किर्ते गर्न लागेको देखिन्छ,’ ब्युरोका निर्देशक सहकुलबहादुर थापा भन्छन्, ‘त्यो काम गर्न अरुण चौधरीले साथ दिएका रहेछन्।’
आइतबार सात जना डाक्टर पक्राउ पर्दा चौधरी भने स्वयम्भूस्थित आफ्नो घरमै थिए।
पक्राउ परेका डाक्टरले मेडिकल काउन्सिलमा बंगलादेशको प्रक्रिया चाल्दा चौधरीको मोबाइल नम्बर राखेका थिए। त्यसैका आधारमा छानविन गर्दा चौधरी सोमबार पक्राउ परेको थापाले बताए।
उनी नेपालबाट बंगलादेश विद्यार्थी ओसार्ने काम गरिरहेका थिए। प्लस टु पास गरेको बताउने उनले सन् २००६ बाट यो काम थालेको प्रहरीलाई बताएका छन्।
एक विद्यार्थी पठाएबापत् बंगलादेशका मेडिकल कलेजबाट एक हजारदेखि पन्ध्र सयसम्म अमेरिकी डलर कमिसन लिने गरेको उनले बताएका छन्। प्रक्रिया पूरा गरिदिँदा नेपाली विद्यार्थीबाट एक लाख रुपैयाँसम्म लिने गरेको बुझिएको छ।
‘उनले अरू के कतिलाई किर्ते प्रमाण पत्र बनाइदिए भन्ने खुल्न बाँकी छ,’ ब्युरो प्रवक्ता पन्तले भनिन्, ‘हामीले उनको कन्सल्टेन्सीबाट कम्प्युटर, ल्यापटप ल्याएका छौं। त्यसमा सुरक्षित भएका र डिलिट भएका डाटाहरू निकाल्छौं, त्यसपछि उनले अरू कसैलाई किर्ते कागजात बनाए नबनाएको थाहा हुन्छ।’
यो पनि हेर्नुहोस्