भारतबाट बाग्लुङ पुगेका ३ जनामा केही समयअघि कोरोना संक्रमण देखियो।
उनीहरुको कन्ट्याक्ट टेसिङ गर्दा थप ८ जनामो कोरोना भेटियो। फेरि ती ८ जनाको कन्ट्याक्ट टेसिङ गर्दा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। जसले बाग्लुङको बलेवा क्षेत्रलाई मंगलबार राति १२ बजेदेखि लकडाउनको अवस्थामा पुर्याइदिएको छ।
उनीहरुको कन्ट्याक्ट टेसिङको क्रममा बाग्लुङ नगरपालिकाको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थी कोरोना संक्रमित पुष्टी भएको थियो। यसअघि पनि उक्त विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोनासँँग मिल्दोजुल्दो लक्षण देखिएको थियो।
कन्ट्याक्ट टेसिङका क्रममा विद्यालयका ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौंले सेतोपाटीलाई बताए। सोमबारसम्मै विद्यालय सञ्चालन भएकाले अन्य विद्यार्थीमा पनि संक्रमण फैलिएको आशंका बढेको छ।
कोरोना संक्रमण पुष्टी भएका सबै विद्यार्थी र शिक्षकलाई घरमै आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख गुरौंले जानकारी दिए।
कोरोना संक्रमण बढेपछि बाग्लुङ नगरपालिकाको कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार साँझ बसेको बैठकले नगरपालिकाको वडा नम्बर १२, १३ र १४ क्षेत्रलाई १० दिन लकडाउन गर्न जिल्ला प्रशासनलाई सिफारिस गरेको थियो।
उक्त सिफारिस पश्चात जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले बाग्लुङको बलेवा क्षेत्रमा १० दिन लकडाउन गर्ने निर्णय गरेको छ।
मंगलबार राति बसेको बैठकले कोरोना संक्रमण बढेको बलेवा क्षेत्र अर्थात बाग्लुङ नगरपालिको वडा नं. १२, १३ र १४ मा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
निषेधाज्ञामा विद्यालयमात्रै नभई बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसायलगायत मानवीय गतिविधि रोक्ने जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा कोरोना संक्रमितको संख्या १ हजार १०७ पुगेको छ। जसमध्ये ८ जनाको मृत्यु भएको छ।