विराटनगर महानगरपालिका-४ की २४ वर्षीया युवतीलाई बन्धक बनाएको चार महिनापछि प्रहरीले उद्धार गरेको छ।
युवतीलाई भारत पुर्याएर बन्धक बनाएको आरोपमा विराटनगर-१९ का २५ वर्षीय दिनेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
मण्डललाई भारतको पञ्जाबबाट पक्राउ गर्दै युवतीलाई सकुशल उद्धार गरी मंगलबार विराटनगर ल्याइएको हो। नेपालबाट प्रहरीको एक टोली उनलाई लिन पञ्जाब गएको थियो।
मण्डलले ती युवतीलाई माघ १० गते घरबाट लगेका थिए। युवतीका परिवारसमेतलाई प्रलोभनमा पारेर मण्डलले युवती लिएर हिँडेका थिए।
प्रहरीका अनुसार मण्डलले युवतीलाई कञ्चनपुर, महेन्द्रनगर, वीरगञ्ज लगायत धेरै ठाउँमा घुमाएपछि भारत पुर्याए। पञ्जाब कहिले पुर्याए भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ।
नेपालका ती ठाउँमा लैजाँदा मण्डलले आफूसँग नहिँडे बुवा-आमालाई मारिदिने धम्की दिइरहेका थिए।
‘मार्ने, काट्ने भन्दै यसरी घुमाउँदा उनले जबरजस्ती करणी गरेको पनि युवतीले बताएकी छिन्,’ मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘युवती विक्षिप्त अवस्थामा रहेकाले मनोपरामर्शमा राखिएको छ।’
युवती लिएर लैजानुको उद्देश्यबारे उनले प्रहरीलाई स्पष्ट बताएका छैनन्।
मण्डल धामी-झाँक्रीको काम गरी हिँड्ने व्यक्ति हुन्। गत पुस महिनाको अन्त्यतिर उनी युवतीको घर पुगेका थिए।
युवतीलाई लिएर हिँड्नुअघि मण्डलले धेरै हत्कण्डा अपनाएको देखिएको छ।
युवतीको घर पुग्दा मण्डलले आफूसँग तान्त्रिक विद्या रहेको बताएका थिए। र, भने- तिमीहरूको घर आँगनमा गाडेको धन छ।
‘गाडेको धन’को कुरा पत्यारलाग्दो थिएन। तर, मण्डल दिनहुँ गएर त्यही कुरा दोहोर्याइरहन्थे।
त्यसैक्रममा एक दिन मण्डलले ५० हजार रुपैयाँमा विराटनगरकै एउटा ज्वेलर्सबाट सुन किने। त्यो सुन बोकेर युवतीको घर गए।
आँगनको एक ठाउँमा खाल्डो खने। झुक्याएर आफैंले ल्याएको सुन खाल्डोमा देखाए।
यसपछि भने, ‘तिमीहरू सुखी-सम्पन्नशाली छौ।’
सुन फेला परेको ठानेर बुवा-आमा मख्ख परे। मण्डलले विस्तारै अन्यत्र पनि खाल्डो खन्दै जानु पर्ने, सुनचाँदी फेला पर्दै जाने बताइरहेका थिए।
अनुसन्धानअनुसार मण्डलले अझै घरआँगनबाट धेरै सुन, चाँदी निकालिदिन्छु भनिरहेका थिए।
त्यसका लागि आफूले भनेका ठाउँमा सात वटा खोलाको पानी ल्याएर बिहे नगरेकी युवतीले चढाउनु पर्ने बताएका थिए।
‘जल चढाउँदा सुन-चाँदी निस्कने र धनी भइने भन्दै परिवारलाई आश्वस्त पार्ने गरेको पाइएको छ,’ प्रहरी उपरीक्षक खड्काले भने।
यसो गर्नुको उद्देश्य युवतीलाई प्रभावमा पार्नु थियो।
‘दिनहुँजसो जाने र तन्त्रमन्त्रका कुरा गरेर लोभ्याउँदा रहेछन्,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘यसरी जाने क्रममा युवतीसँग सम्पर्क बढाएका रहेछन्।’
सम्बन्ध बनाउँदै गएपछि उनले माघ १० गते युवतीलाई घुम्न जाऔं भन्दै घरैबाट लिएर हिँडे। युवती फर्किनन्, न मण्डल नै।
हप्ता, पन्ध्र दिन हुँदै एक महिनासम्म छोरी घर नफर्केपछि परिवार प्रहरीकहाँ पुगे। परिवारले विवरण खुलाएर जाहेरी दिएपछि प्रहरी मण्डलको खोजीमा निस्किएको थियो।
एसपी खड्काका अनुसार मण्डल, युवती र उनको परिवारबीच त्यसअघि कुनै पनि चिनजान थिएन। लामो खोजीपछि मण्डलसँगै युवतीलाई भेट्न सकिएको खड्काले बताए।
मण्डल आकस्मिक रूपमा त्यो घरमा पुगेको देखिन्छ।
‘घरमा युवती देखेपछि निरन्तर जाने र गाडेको धन छ भन्दै लोभ देखाउने गरेको पाइएको छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘धामी-झाँक्रीको काम गर्ने क्रममा उनले अन्यत्र पनि यस्तो प्रयास गरेका हुनसक्छन्।’
उनले बेचबिखन अथवा अरू कुनै नियतले युवतीलाई भारत पुर्याएको आशंका गरिएको छ। तर, मण्डलले युवती लैजानुको उद्देश्यबारे बताएका छैनन्।
तराईबाट युवतीहरू यदाकदा भारत पुर्याउने गरिएका घटना छन्। त्यहाँ पूजापाठ र तन्त्रमन्त्रका लागि लगिने गरिएको घटना बाहिर आउने गरेका छन्।
‘के उद्देश्य राखेर उनले भारत लगे, त्यसबारे हामी अनुसन्धान गरिरहेका छौं,’ खड्काले भने।
मण्डललाई अहिले अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी गरेको अभियोगमा हिरासतमा राखेर अनुसन्धान थालिएको खड्काले बताए।