काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ।
जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो।
अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ।
संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोहीअनुरुप महानगरले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राखेको हो।
सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरिएको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ।
महानगरपालिकाका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ शिक्षक महानगरले आफ्नै स्रोतसाधनबाट राखेको हो। यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहनेछ।
यसै शैक्षिक सत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीनसम्म शिक्षक राख्ने महानगरपालिकाको तयारी छ।
हाल विश्वभरि फैलिएको कारोनाका कारण भौतिक उपस्थितिमा भने कक्षा सञ्चालन हुन सकेको छैन।
नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकारले बताए।
पछिल्लो समय काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ।
कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उनको भनाइ छ। पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संस्कृतिका बारेमा जानकारी लिन नयाँपुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताए।
स्थानीय पाठ्यपुस्तक तयार कामपाले आधारभूत कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ। अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ।
यसै शैक्षिकसत्रदेखि महानगरमा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्नेगरी पाठ्यपुस्तक तयार गरिएको हो। अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ।
नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ। त्यसअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाका आधारमा महानगरले सो पाठ्यपुस्तक तयार गरेको हो। कामपाले गत वैशाख÷जेठदेखि तयारी शुरु गरेको थियो। कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा ढिलाइ भएको थियो।
पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा तथा लिपिजस्ता विषय समेटिएका छन्।
त्यसैगरी प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय समेटिएका छन्। पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीको अर्थ नेपाली भाषामै लेखिएको छ।
कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन्। सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन्।
नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत मोती खनालका अनुसार संस्थागत विद्यालयका नेपाल भाषा अध्यापन गराउन ८० जनालाई प्रशिक्षण दिइसकिएको छ।
सामुदायिक विद्यालयमा पाठ्यक्रम र पाठ्यपुस्तक दुवै निःशुल्क वितरण गरिनेछ भने संस्थागत विद्यालयलाई पाठ्यक्रम निःशुल्क दिइनेछ।
उनीहरुले पाठ्यपुस्तक खरीद गरेर लिनुपर्नेछ। कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिनेछ। कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ प्रतिशत सैद्धान्तिक पठनपाठन हुनेछ।
कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० प्रतिशत सैद्धान्तिक पठनपाठन हुनेछ।
(रासस)