भनिन्छ, बाह्र वर्षमा खोला फर्किन्छ।
खोलो फर्के पनि हराएका मूर्तिहरू त कहाँ कहाँ पुग्छन्! बिरलै भेटिन्छन्, बिरलै फिर्ता आउँछन्।
चापागाउँलाई भने यो दुर्लभ क्षण प्राप्त भएको छ। तर यसका लागि ५२ वर्ष कुर्नुपर्यो।
त्यही पर्खाइपछि सोमबार चापागाउँ जात्रामय थियो। ५२ वर्षपछि बज्रबाराहीको मूर्तिलाई उनीहरूले आफ्नै थलोमा फिर्ता पाउँदै थिए।
नजिकैका थेँचो, प्यानगाउँ, बुलु, सुनाकोठी लगायत ठाउँका मान्छे पनि त्यही खुसी साट्न ठूलो संख्यामा उपस्थित भएका थिए। उनीहरूले बाजा बजाउँदै, सिन्दूर जात्रा गर्दै घर फर्किएकी बज्रबाराहीको भव्य स्वागत गरे। राष्ट्रिय संग्रहालय, छाउनीबाट गाडीमा राखेर ल्याइएका भगवानलाई थेँचोबाट जात्रा गर्दै आगँछेमा प्रतिस्थापन गरियो।
स्थानीय पाका कृष्णगोपाल डंगोल भन्दै थिए, 'यस्तो भव्य जात्रा न कहिले भएको थियो, न कहिले हुनेछ।'
मंगलबार गुठियारहरू भगवानकै रेखदेखमा व्यस्त थिए। उनीहरूले बज्रबाराहीलाई सफा गरे। चोरी भएर हराएकी बज्रबाराही माई भेटिँदासम्म उनको खड्ग हराइसकेको थियो। देब्रे हात भाँचिएको थियो। बस्ने कमलको आसन थिएन। मूर्तिमा लगाइएको सुनको जलप कतैकतै उडेको थियो।
त्यहीबीच एक दाताले भने, 'म भगवानको आसन बनाइदिन्छु।'
खड्ग पनि बनाउन सुरू भइसकेको थियो। भाँचिएको हात भने हाललाई अड्याइयो मात्र। त्यसलाई आगँछेको मन्दिरमा कडा सुरक्षाका साथ राखिएको थियो।
हामी पुग्दा आचाजू (पूजारी) बासुदेव कर्माचार्य भर्खरै आगँछेमा ताला लगाएर बाहिर आउँदै थिए। बाहिर आउँदै गर्दा उनले अरू गुठियारलाई भने, 'कसैलाई पनि भित्र जान नदिनू। मेयर, उपमेयर, वडाअध्यक्ष लगायत मान्छे आउँदा र पूजाको समयमा मात्र खोल्ने।'
हामीलाई उनले बल्लतल्ल भित्र पस्न दिए। गुठियार राजभाइ महर्जनको पछि लाग्दै हामी भित्र पस्यौं। भुइँतलाको साँचो खोलेर भर्याङ हुँदै दोस्रो तला उक्लियौं। त्यहाँ उनले अर्को ढोकातर्फ देखाउँदै भने, 'यहीँभित्र बज्रबाराही माई हुनुहुन्छ।'
बाहिर ग्रिलको गेट थियो। त्यसको ताल्चा खोलेपछि काठको अर्को ढोका रहेछ। त्यसको पनि ताल्चा खोलेर भित्र पस्दा पूरै अन्धकार। राजभाइले झ्याल उघारे, प्रकाश भित्र पस्यो।
उज्यालोमा एउटा सानो सेफ (दराज) देखियो। राजभाइले त्यसबारे भने, 'ती भगवान चोरी भएपछि हामीले अर्का भगवान बनायौं। त्यो पनि चोरी भयो। अनि त्यसपछि बनाइएको भगवानलाई यसरी सेफमा राखेका छौं।'
छेउमा भर्खरै ल्याइएको बज्रबाराहीको मूर्ति राखिएको छ। बाहिर ठूलो ग्रिलको ताला लगाइएका भगवानलाई भित्रबाट पनि मन्दिरजस्तो बनाएर ग्रिलको ढोका बनाएर दुई-तीन वटा ताला कसिएको थियो।
जसै हामीले तस्बिर खिच्न क्यामरा सोझ्यायौं, उनले सर्तक गरे, 'बाहिर त जति नि फोटो खिच्न पाइन्छ, भगवानलाई भित्र राखेपछि खिच्न पाइन्न है! सुरक्षा संयन्त्रलाई ध्यानमा राखेर खिच्न मनाही गरिएको हो।'
हामीले त्यहाँको परिवेश देखिनेगरी मात्र फोटो खिच्न पायौं। सेफभित्रको साँचो भने उनीसँग नभएकाले अर्की भगवानलाई हेर्न पाइएन। उनले हुलिया चाहिँ भनिहाले, 'पुरानो भगवानभन्दा निकै फरक छ। अनुहारदेखि आसनहरू सबै फरक।'
२०२६ सालतिर चापागाउँको बज्रबाराही माईको मूर्ति हराएपछि ठूलै होहल्ला भएछ। प्रत्येक वर्ष मनाउन पर्ने जात्राका लागि बज्रबाराही नभई नहुने थियो। आपतै परेपछि उनीहरूले अन्दाजका भरमा त्यसको नक्कल उतारेर मूर्ति बनाए।
केही समयपछि पहिले हराएको मूर्ति विमानस्थलमा फेला पर्यो। कसैले चोरी गरेर विदेशमा बेच्न लगिरहेका रहेछन्। सेनाले भेटेपछि उक्त मूर्ति २०२८ सालतिर चापागाउँमै फिर्ता ल्याइदिए। अनुमानका भरमा नयाँ बनेकी बज्रबाराही र पुरानी बज्रबाराहीले त्यो वर्ष सँगै खटमा बसेर जात्रामा टोलटोल परिक्रमा गरे।
तर मन्दिरका आचाजूहरूलाई मूर्ति भेटिँदा खुसीभन्दा बढी चिन्ता भयो। मूर्ति हराएपछि आचाजूहरूमा डर पैदा भएको थियो। उनीहरूलाई प्रहरीदेखि स्थानीयसम्मले सोधीखोजी गरेका थिए। त्यो मूर्तिलाई पुरातत्व विभागले पनि करोडौं मूल्यको भनेको थियो। यस्तो मूल्यवान् मूर्ति फेरि हराउन सक्ने डर उनीहरूलाई भयो। त्यसैले उनीहरूले उक्त मूर्ति फिर्ता दिए। २०२९ सालतिर ब्रजबाराहीको पुरानो मूर्ति राष्ट्रिय संग्रहालय पुग्यो।
'चोरी गरेर विदेश लग्न लाग्दा विमानस्थलमा फेला पर्यो त्यो मूर्ति,' राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले भने, 'हराएको करिब चार वर्षपछि हामीले डिएसपी कार्यालयबाट त्यसलाई संग्रहालयमा ल्यायौं।'
पछि फेरि चापागाउँलाई समस्या आइलाग्यो। उनीहरूले नक्कल गरेर बनाएको दोस्रो मूर्ति पनि चोरी भयो। उनीहरूले १२-१३ वर्षअघि तेस्रो मूर्ति बनाएका हुन्। त्यही मूर्ति पनि हराउला भन्ने चिन्ताले सेफमा ताला मारेर राखिएको हो।
राजभाइले मन्दिरको झ्याल–ढोका बन्द गर्दै भने, 'माइलो त कहाँ हरायो कुन्नि, अझै भेटिएको छैन। जेठो भने फिर्ता आयो। अब जेठो-कान्छो भए यहाँ।'
'भगवानलाई जोगाउन त निकै गाह्रो रहेछ नि है?'
हाम्रो प्रश्नमा उनले ठ्ट्यौली पारामा जवाफ फर्काउँदै भने, 'हो नि, पहिले भगवानले मान्छे जोगाउँछन् भन्थे, अहिले हामीले भगवान जोगाउन पर्ने भयो। हुन त हामीले प्रत्यक्ष रूपमा जोगाउने न हो। उहाँले त हामीलाई अदृश्य रूपमा जोगाइरहनु हुन्छ।'
आधा शताब्दीपछि बज्रबाराहीको मूर्ति फिर्ता आउनुको श्रेय राजभाइ कोरोनालाई दिन्छन्। पोहोर कोरोनाका कारण चैत पूर्णिमामा हुने बज्रबाराहीको मूल पूजा हुन पाएन। अनि सरकारी पूजा लिएर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन आगँछेमै आइपुगे।
त्यहाँ उनले भगवानलाई सेफमा हालेको देखेपछि भनेछन्, 'ओहो! यो त अत्ति भयो। भगवानलाई यसरी थुनेपछि उहाँको शक्ति पनि थुनिन्छ। जसरी भए पनि भगवानलाई मुक्ति दिनै पर्छ।'
पूजा सकेर मेयर फिर्ता गए। कोरोना लम्बिँदै गयो। अर्को पूजा नै हुने समय भइसक्यो। त्यसैबीच दाफा भोजका लागि करिब दुई महिनाअघि मेयरलाई फेरि बोलाइयो।
उनले त्यो बेला फेरि भगवानको कुरा झिके। भनेछन्, 'यो सेफभित्रको मूर्तिलाई त हामीले निकाल्ने प्रयास गरेनौं। अब छाउनीकै मूर्तिलाई फिर्ता ल्याऊँ। मैले पुरातत्वसँग कुरा गरिसकेँ।'
मेयरका कुरा सुनेपछि गुठियारहरूले उत्साहित हुँदै भनेछन्, 'मिल्ने भए गरौं न त।'
त्यही बेलादेखि बज्रबाराही माईलाई घर फर्काउन कस्सिएका हुन् उनीहरू।
मेयरले समय मिलाइदिएपछि गुठियारहरू पुरातत्व विभागमा बुझ्न गए। त्यहाँका निर्देशकले सबै प्रक्रिया बताइदिए। सुरूमा वडा कार्यालयमा सिफारिस लिन गए, त्यसपछि जिल्ला प्रशासन कार्यालयले पुरातत्वलाई सिफारिस लेख्यो। पुरातत्वमा भने दुई हप्ताजति कागजी प्रक्रियामै अलमलिए। बल्ल त्यहाँबाट सिफारिस मिलेपछि राष्ट्रिय संग्रहालय मूर्ति दिन सहमत भयो।
'उहाँहरूले त भोलिपल्टै लिन आउनुहोस् भन्नुभएको थियो,' राजभाइले छाउनीका अधिकारीका कुरा सम्झिँदै भने, 'तर हामी तामझामका साथ ल्याउन चाहन्थ्यौं। त्यही भएर दुई दिनजति तयारी गर्न समय लाग्यो।'
यो कुरा सुनेपछि संग्रहालय प्रमुख जयरामले भनेछन्, 'यी भगवान निकै शक्तिशाली हुनुहुन्छ। जात्रा गरेजसरी लग्नुहोस् न त। उहाँलाई दुलही अन्माए जसरी बिदा गर्न मन छ।'
उनीहरूले त्यस्तै तयारी गरे। दुई दिनमा करिब पचास पर्चा विभिन्न टोलमा टासेँ। सानो स्पिकर लिएर माइकिङ गरे। थोरै समयको प्रचारमा पनि धेरै मान्छे भेला भए। बाजा बजाउँदै सिन्दुर जात्रा गरेर बज्रबाराही माईलाई घर ल्याए।
आचाजू बासुदेव कर्माचार्य भने त्यसरी भगवान फिर्ता आउँदा त्यति सन्तुष्ट थिएनन्। भगवानको पूजा-आजादेखि सुरक्षाको विषयमा उनलाई चिन्ता थियो।
त्यही विषयमा उनले भने, 'दुइटा देवता भएपछि त्यसलाई संरक्षण गर्नुपर्यो। सिसीटिभी क्यामरा राखेर हुन्छ कि, सेन्सर राखेर वा इलेक्ट्रिक ताला राखेर, सुरक्षा गर्न जरूरी छ। फेरी हरायो भने अर्को आपत!'
बासुदेवका अनुसार अहिले फिर्ता आएको बज्रबाराहीको मूर्ति नरेन्द्रदेव मल्लको पालातिर बनेको हो।
उनले यसको कथा सुनाए।
त्यो बेला भक्तपुरका राजा नरेन्द्रदेव शिकार खेल्दै यहाँ आएछन्। दुईतले पाटीमा राति बास बस्नुपर्यो। उनीहरू छिँढीमा बसेका थिए। राति धेरै चिसो आएपछि माथिल्लो तलामा बस्न सकिन्छ कि भनेर आफ्ना सेनालाई हेर्न पठाए।
त्यहाँ सेतो कपडाले छोपिएको एक वस्तु थियो। उनीहरूले त्यसलाई हटाएर हेरे। त्यहाँ देखिएको रूप देखेर सबै सेना आत्तिए।
आफ्ना सेना नै डराउँदै हाहाहोहो गर्न थालेपछि राजा नरेन्द्रदेव आफैं माथि उक्लिए। आफ्नो तरबार निकाले र छोपिएको कपडा तरबारले निकाले।
जसै कपडा उघ्रियो, भयंकर रूप धारण गरेकी बज्रबाराही माई देखिइन्। तेज अनुहार भएकी बज्रबाराहीले भनिछन्, 'तिमीले मेरो अनुहार उघार्यौ। अब मेरोजस्तै अनुहार बनाएर चैत पूर्णिमामा जात्रा गर्नू।'
अनि त्यही बेलातिरै यो मूर्ति बनेको र जात्रा सुरू भएको बताउँदै कर्माचार्यले भने, 'यहाँभित्र एउटा घन्टी छ जसमा नेपाल सम्वत ७१९ मा बनेको भनेर लेखिएको छ।'
त्यहाँभित्र रहेका शिलालेख भने पछि मात्र बनाइएको उनले जानकारी दिए।
बज्रबाराहीको जात्रा चैत पूर्णिमामा हुन्छ। यसपालि चैत पूर्णिमा वैशाखमा परेको छ। यही १३ गते मूल जात्रा हुँदैछ। त्यस दिन बज्रबाराहीलाई खटमा राखेर आगँछेबाट बज्रबाराही मन्दिरसम्म पुर्याइन्छ। रातभर त्यहाँ राखेपछि बिहानतिर सिन्दूर जात्रा गर्दै आगँछेमै ल्याइन्छ।
वडा अध्यक्ष निलबहादुर देशारले जात्राको मुखैमा चापागाउँको पुरानो भगवान फिर्ता आउँदाको खुसी साट्दै भने, 'हामी यसको सुरक्षा मजबुत बनाउने क्रममा छौं। यसमा सिसिटिभी, सेन्सरदेखि ताल्चा राख्ने काम भइरहेको छ।'
पहिले बज्रबाराहीको जात्रा वर्षमा दुईपटक हुन्थ्यो, चैत पूर्णिमा र कात्तिक अष्टमीमा। कात्तिक अष्टमीको जात्रा देशार समुदायले गर्थे। अचेल उनीहरूले छाडिसकेकाले कात्तिकमा जात्रा हुँदैन।
बज्रबाराहीलाई तन्त्रकी देवी भनिन्छ। तन्त्र विद्या जानेका मान्छेहरू टाढा-टाढादेखि दीक्षा लिन पनि यहाँ आउँछन्।
उनका बारेमा किम्बदन्ती छ।
एकपटक बज्रबाराही सानो बच्चाको भेष धारण गरेर आइछन्। उनलाई खोला तर्नु थियो। आफूलाई खोला तारिदिन उनले धेरैलाई भनिछन्, कसैले मानेनछन्। यही क्रममा एक जना विदेशीलाई उनले भनिछन्, विदेशीले उनलाई खोला पारि पुर्याइदिए।
विदेशीले सहयोग गरेको देखेर बज्रबाराही खुसी भइन्। अनि 'चापागाउँमा जो विदेशी आउँछ, त्यो सम्पन्न होस्' भन्दै बरदान दिएर उनी अलप भइन्।
यो किम्बदन्तीका विदेशीबारे केहीको भनाइ फरक छ। बज्रबाराहीलाई खोला तारिदिने व्यक्ति कोही विदेशी नभई थेँचोका स्थानीय हुन् पनि भन्छन् कसैकसैले।
राजभाइले पनि भने, 'चापागाउँका मान्छेले भन्दा थेँचोका मान्छेले बज्रबाराहीलाई धेरै मान्छन्। पूजाआजादेखि पिकनिक मनाउनसम्म उनीहरू बज्रबाराहीकै मन्दिर आउँछन्। अस्ति मूर्ति ल्याउँदा पनि उनीहरू घरै खाली बनाएर आएका थिए।'
कथा जे होस्, भगवान जहाँका हुन्, वर्षौंपछि आफूले मानेका देवता फर्किँदा स्थानीयहरू निकै खुसी छन्। सोमबार ल्याइएको बज्रबाराहीको मूर्तिको उनीहरूले बिहीबार क्षमा पूजा गरेका छन्।
'यतिका वर्ष हाम्रो भगवान पूजा पनि लिन नपाइ संग्रहालयमा बस्नुपर्यो। हाम्रो भुलचुक भए माफ गरिदिनू भनेर क्षमा पूजा गरेका हौं,' राजभाइले भने।