किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगा) पछि उनीहरू मुकुम्लुङ बचाउने अभियानमा लागेका छन्। हाल ताप्लेजुङमा पाथीभरा भनेर चिनिने मुकुम्लुङ लिम्बूहरूको सबभन्दा ठूलो देवस्थलमा पर्छ। त्यसैकारण त्यसको नाम परिवर्तन गरेर पहिचान नै मेट्न खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।
त्योसँगै वैशाख ११ गते प्रधानमन्त्री केपी ओलीले त्यहाँ केवलकार उद्घाटन गर्न लागेपछि उनीहरूले विभिन्न ठाउँबाट विरोध जनाइरहेका छन्। बिहीबार उनीहरूले माइतीघर मण्डलमा उभिएर भाषण गरे, कविता सुनाए।
उनीहरूले जुन ठाउँमा उभिएर कार्यक्रम गरेका थिए, त्यसैको नामधरि नेपाल भाषाको 'फिब्व ख्यः' बाट माइतीघर भएको हो। त्यही प्रसंग जोड्दै किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सचिवालयका सदस्य गोविन्द लिम्बूले विकासका नाममा किराँती सभ्यता पनि मास्न खोजिएको बताए।
'खुवालुङ भनेको हाम्रो मुन्धूममा वर्णित स्थल हो। धेरै वटा देवी-देवतामध्येमा एक दुङदुङे साम्बाङ भन्ने छन्। त्यो देवतासँग जोडिएर खुवालुङको कुरा आउँछ,' उनले सेतोपाटीसँग भने, 'त्यस्तै मुकुम्लुङ पनि हाम्रो ठूलो देवस्थलमा पर्छ। विभिन्न कर्मकाण्डी अनुष्ठान, पूजा गर्दा यहाँ नपुकारी हुँदैन।'
त्यसपछि उनले हामीलाई मुन्धूम (श्रृतिकथा) मा उल्लेख मानिसको सृष्टि कथा सुनाउन थाले।
मुन्धूम भन्न सात दिन, सात रातसम्म लाग्छ जसलाई (साम्बाङ) झाँक्रीले फलाक्छन्।
पृथ्वी अँध्यारो भएका बेला तागेरा निङ्वाफुमा अथार्त सृष्टिकर्ताले पृथ्वीको कल्पना गरेछन्। उनले आफ्ना सहयोगीका रूपमा पोरोक्मी येम्फामी राखे। निङ्वाफुमाको आदेशमा पोरोक्मिले सुन, हिरा, मोती जडेर मान्छे बनाए। तर जति गर्दा पनि त्यो मान्छे बोलेन। त्यसपछि हिलो माटोले बनाए। त्यो अलिअलि बोल्यो तर लुते भयो।
त्यसपछि उनले रूखको टोड्कामा रहेको पानी, खरानी र सुली मिसाएर बनाउँदा बल्ल मान्छे राम्रो बन्यो। त्यसको सन्तान हामी हौं भन्छौं।
मान्छे त्यसरी बनाउँदा बोलेपछि येम्फामीलाई झोंक चलेछ र भनेछन्, 'थुक्क! यस्तो सुलीबाट बनेको, अयपुरा।'
त्यसरी गाली गरेकाले मान्छेहरू अयपुरा अर्थात् अजम्बरी चोला नभएको हुने गोविन्दले बताए।
'यही मुन्धूम बन्दाबन्दै बनेको एउटा शक्ति मुकुम्लुङ हो,' उनले अगाडि भने, 'हाम्रो भाषामा मुक् भनेको शक्ति हो। त्यही शक्तिशाली ढुंगा भएको ठाउँ हाम्रो आस्थाको केन्द्र हो। त्यहाँ गएर पूजा गर्यो भने सिद्धि प्राप्त हुन्छ भनिन्छ।'
यो ढुंगासँग जोडिएको पनि मुन्धूम रहेछ।
मुकुम्लुङ देवी एकपटक छोरी मान्छेको रूपमा घुमी हिँडिन्। डाँडामा भेडा, गाईवस्तु चराउँदा त्यो हराउन थाल्यो। अनि मुकुम्लुङले 'गाईवस्तु मैले लुकाएको छु। मलाई एउटा भोग बली देऊ अनि म निकालिदिन्छु' भनिन्। भोलिपल्ट भोग दिएपछि साँच्चै गाईवस्तु निस्कियो।
'त्यसैकारण हामीले जुनसुकै पूजा, शुभकार्य गर्दा मुकुम्लुङलाई भोग नदिई हुँदैन। उहाँलाई पुकार्नु, पूजा गर्ने र सम्बोधन गर्नुपर्छ,' गोविन्दले भने।
मुन्धूममा वर्णित लिम्बू जातिको यस तिर्थस्थलमा पछिल्लो चरण खसहरूको अतिक्रमण बढ्न थालेपछि उनीहरूले 'मुकुम्लुङ' लाई पाथीभरा बनाए।
'त्यो डाँडालाई परबाट हेर्दा पाथीमा धान भरेजस्तो देखिन्छ। त्यही भएर उनीहरूले नाम त्यस्तो राखिदिए। हाम्रो आपत्ति भनेको यो हामीमाथिको अतिक्रमण भयो। नाम परिवर्तन गर्न पाइन्न भन्ने हो,' उनले भने।
मुकुम्लुङ पाथीभरा भएको हिजोआजको कुरा भने होइन, सय–डेढ सय वर्षअघि हो। त्यो बेला किन नाम विरोध गर्न खोजिएन?
'पञ्चायतकालसम्म त बोल्न कहाँ दिइन्थ्यो र? बोल्दा कति थुनियो, कति कुटियो, कति मारियो,' उनले भने, 'हामीले धेरै आवाज उठायौं। तर सरकारले सुनेन।'
पछिल्लो समय भने कतिपय ठाउँमा उनीहरूले जबरजस्ती नाम स्थापना गर्ने पनि प्रयास गरिरहेका छन्। कतै जबरजस्ती बोर्ड भत्काएर मौलिक नाम भएको राख्ने र भूमि आन्दोलनहरू गरिरहेका छन्।
पाथीभराको विषयमा जति गर्दा पनि सरकारले नसुनेपछि उनीहरूले सर्वोच्च अदालतमा मुद्दा नै हालेका छन्। त्यसमा १४८ संघ–संस्थाले निवेदन दिएका छन्। उनीहरूको माग यही दुइटा हो– नाम सच्चाइयोस् र केबलकार तत्काल स्थगित गरियोस्।
पात्लेफेदीदेखि मुकुम्लुङसम्म केबलकार ल्याइँदा करिब दस हजार दुई सय ३१ रूख ढाल्नुपर्छ। त्यसक्रममा मुन्धूममा वर्णित फूल, रुखपात, जडिबुटी र जैविक जनावरहरू मासिने उनको भनाइ छ।
किराँत याक्थुङ चुम्लुङ समितिका वर्तमान सचिव यासेली योङहाङ फूलमा लिम्बूहरूले भविष्य खोज्ने बताउँछन्।
'लिम्बूहरू आफ्नो भविष्य कस्तो हुन्छ भनेर प्रतीकका रूपमा फूल राखेर हेर्छन्। असंख्य फूलहरूसँग हाम्रो सम्बन्ध हुन्छ,' उनले भने।
गुराँस बांगोबांगो हुने भएकाले त्यसलाई बेमेल मनको प्रतीक भनिन्छ। अन्दङ फुङ अर्थात् बाबरी दानवीयताको। निमलाई ठूलो आयुर्वेदिक जडिबुटी भनिन्छ।
'त्यो ठाउँमा धूपी, चिराइतोदेखि असंख्य जडिबुटी छन्,' उनले भने, 'हामी त त्यहाँ वरिपरिका पशुपन्छीलाई पनि देवता मान्छौं। बाँदर, बिरालोलाई पनि मान्छौं। चिल, लाटोकोसेरोलाई पनि पुज्छौं।'
केबलकारका नाममा आफ्नो पहिचान धरापमा राख्न खोजेको उनी बताउँछन्। उनका अनुसार त्यहाँ बसेका लिम्बू र अन्य जातजातिले गाईवस्तुहरू पालेका छन्। घाँसपात गर्ने ठाउँ मासिन्छ र कतिपयले त आफ्नो थातथलो छाडेर बसाइसराइ गर्ने अवस्था आउँछ। त्योसँगै रुखहरू ढाल्दा डाँडाको ठाउँमा पर्यावरणीय दृष्टिकोणले पनि राम्रो हुँदैन।
केबलकार नै बनाउने भए पनि निश्चित ठाउँसम्म, त्यहाँका मान्छेको सहमति र उनीहरूलाई क्षतिपूर्ति दिएर बनाउनुपर्ने उनीहरूको माग हो।
अहिले शाब्दिक र सांकेतिक विरोध गर्दा राज्यले 'कानमा तेल हालेर बस्यो' भने त्यसको परिणाम वैशाख ११ गते ताप्लेजुङमा केबलकार उद्घाटनक्रममा देखाउन आफूहरू तयार भएको उनले बताए। त्यसका लागि काठमाडौंबाट बिहीबार नै कतिपय मान्छेहरू ताप्लेजुङ पुगेका थिए। अन्य ठाउँका मान्छे पनि जम्मा भई सयौंको संख्यामा गोलबद्ध भएर कार्यक्रम गर्ने उनीहरूको योजना छ।
'हामीले शासकसँग युद्ध खोजेका होइनौं, हामीले धरोहरका रूपमा मानेको कुरा मान्न देऊ मात्र भनेका हौं,' उनले भने।