सुदूरपश्चिममा कोरोना संक्रमणको दर बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले पछिल्लो १५ दिनयता कोरोना भाइरसको संक्रमण दर तीव्र रूपमा बढेको देखाएको हो।
गत चैत २३ गते ८२ जना सक्रिय संक्रमित रहेकोमा शुक्रबार त्यो संख्या बढेर ४४९ पुगेको छ। यो अवधिमा एक हजार ७ सय जनाको पिसिआर परीक्षण गरिएको थियो। यही बीचमा तीन जनाको मृत्यु भएको छ।
कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको कोरोना उपचार भवनका बेड उपचारका लागि आएका लक्षणसहितका कोरोना संक्रमितले भरिन थालेको छ।
सेती अस्पतालमा कोरोनाको उपचारका लागि ५५ शय्याको व्यवस्था छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले ३८ बेडमा लक्षणसहितका कोरोना संक्रमित उपचाररत रहेको बताए।
‘जम्मा ५५ मध्ये ३ जना भेन्टिलेटरमा, १० जना अक्सिजनमा, १० जना आइसियूमा उपचाररत छन् र १७ बेडमात्र खाली छन्,’ उनले भने।
अस्पतालमा जम्मा १५ वटा आइसियू बेड छन्। तीमध्ये ५ आइसियू बेड कोरोनाबाहेकका बिमारीका लागि प्रयोग हुन्छन्।
कोरोना संक्रमितका लागि आइसियू बेड अहिले सेती अस्पतालमा खाली छैन।
यस्तै जम्मा १० वटा भेन्टिलेटर रहेको सेतीमा ५ ननकोभिडका लागि र ५ वटा कोभिड संक्रमितका लागि प्रयोग गर्न छुट्याइएको छ।
अस्पतालमा तीन जना भेन्टिलेटरमा उपचाररत रहेको अवस्थामा तत्काल बाँकी २ वटा मात्र खाली छन्।
दैनिक संक्रमणदर बढ्दै गएकोले बाँकी रहेका बेड पनि एक, दुई दिनमै भरिन सक्ने अवस्था रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।
‘यी बेड त शुक्रबार, शनिबारभित्रै प्याक हुन सक्छन्, तत्काल संक्रमित आइहाले कहाँ राख्ने भन्ने समस्या हुन्छ, त्यसको लागि हामीले प्रदेश सरकारसँग छलफल गरिरहेका छौं,’ उनले भने।
सेतीमा कोरोना परीक्षणका लागि २ वटा पिसिआर मेसिन रहेकोमा हाल संघीय सरकारले दिएको मेसिन पुरानो स्वास्थ्य कार्यालयमा बनाइएको प्रयोगशालाबाट परीक्षण भइरहेको छ। अहिले अर्काे मेसिन भने संचालनमा छैन।
प्रादेशिक असपतालमा विशेषज्ञसहितका ४२ जना डाक्टर छन् भने १५० जति स्वास्थ्यकर्मी रहेको श्रेष्ठले जानकारी दिए।
‘ती कर्मचारीमध्ये सबैको पालो कोभिड अस्पतालमा पर्छ, हरेक १५ दिन एक टोली कोभिड अस्पतालमा खटिन्छ, त्यो एक हप्ता क्वारेन्टिनमा बस्छ र नयाँ टोली खटिन्छ,’ उनले भने।
सेती प्रादेशिक अस्पतालले आवश्यक पर्ने अक्सिजन आफैंले उत्पादन गरिरहेको छ।
अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्छ। अस्पतालमा एक सय बढी अक्सिजन सिलिण्डर रहेको श्रेष्ठले बताए।
‘अक्सिजन प्लान्ट आफ्नै छ, पाइपलाइनबाट अस्पतालमा दिन्छौं। कोभिड हस्पिटलसम्म पाइपलाइनबाट पुगाउन सकेका छैनौं, त्यहाँ सिलिण्डरबाट लिएर फेरि पाइपलाइनबाट वितरण भइरहेको छ,’ उनले भने।
अस्पतालमा आएका अरू बिमारीलाई कोरोनाको संक्रमण फैलिने जोखिम पनि कायम छ।
अस्पतालमा सयौंको संख्यामा दैनिक आउने सेवाग्राहीलाई सामाजिक दुूरी, मास्कको प्रयोग गरेको देखिँदैन।
‘अस्पतालले चाप हेरेर क्यू सिस्टममा राखेर दूरी कायम राख्न, सचेत हुन आग्रह गरेका छौं। अस्पताल आउनेले पनि आफैंलाई बचाउन प्रयास गर्नुपर्छ,’ श्रेष्ठले भने।
सेती अस्पतालमा कोरोना संक्रमितको स्वाब संकलन, परीक्षण र उपचार भइरहेको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि संक्रमणको उच्च जोखिममा छन्।
‘हामी स्वास्थ्यकर्मीले पनि सक्दो सतर्कता अपनाएका छौं,’ श्रेष्ठले भने।
प्रदेशमा भारतबाट आएकाहरू पोजेटिभ देखिए स्थानीय तहले बनाएका आइसोलेसनमा पठाइने गरिन्छ। लक्षणसहितका बिरामीलाई मात्र अस्पतालमा राख्ने गरिएको छ।
प्रदेशका नौ वटै जिल्लाका विभिन्न अस्पतालमा ३७ वटा आइसियू बेड र २७ वटा भेन्टिलेटर उपलब्ध छन्। यस्तै, प्रदेशभर अहिले २५९ आइसोलेसन बेड छन्।
कञ्चनपुरको महाकाली अस्पतालमा ६ आइसियु र ५ वटा भेन्टिलेटर छन्। अछाम, डोटी, बैतडी र बाजुराका जिल्ला अस्पतालमा २/२ वटा आइसियू र भेन्टिलेटर छन्।
डडेल्धुरा अस्पतालमा भने ८ आइसियू बेड र ४ भेन्टिलेटर छन्।
प्रदेशभरका अस्पतालमा ७५ जना संक्रमित उपचाररत छन्।
सुदूरपश्चिममा अहिलेसम्म संक्रमित १४ हजार ५ सय ७५ भएकोमध्ये १४ हजार ९६ जना निको भए। ५९ जनाको मृत्यु भएको छ।
प्रदेशको सामाजिक विकास मन्त्तालयले कोभिडको लहर पुन: अत्यधिक बढ्दै गएकोले सतर्कता अपानइएको दाबी गरेको छ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोभिड अस्पताल भवन र आइसोलेसन बेड थप्ने काम भइरहेको बताए।
‘५० बेडको नयाँ कोभिड अस्पताल बन्दैछ। असार मसान्तभित्रै निर्माण सकेर हस्तान्तरण गर्ने भनेका छौं,’ उनले भने।
मन्त्री सुवेदीले प्रदेश सरकारले भारतबाट आउनेहरूलाई कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका नाकामा जाँचको व्यवस्था गरिएको बताए।
उनले नाकामा भएको परीक्षणमा संक्रमित पाइएकालाई क्वारेन्टिनमा राख्ने र उपचार गरेर पठाउने गरिएको बताए।
प्रदेश सरकारले एक हजार बेडको होल्डिङ सेन्टर बनाउन धनगढी उप–महानगरपालिका र भीमदत्त नगरपालिकासँग कुरा चलाइरहेको छ।
कोभिडका बेला फ्रन्टलाइनमा खटिएका कैयौं कर्मचारीले जोखिम भत्ता अझै पाएका छन्।
केहीले गत आर्थिक वर्षकै त कतिले साउनपछिको नपाएको बताएका छन्।
मन्त्री सुवेदीले स्वास्थ्यकर्मीलाई भत्ता दिने विषयमा निर्णय भइसकेको र केही दिनमा वितरण हुने बताए।
मन्त्री सुवेदीले अहिले नै संक्रमण बढिहाल्यो भनेर गुहार्ने अवस्था आइनसकेको बताए।