पैसाको लोभमा परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंदेखि शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरमै पक्राउ गरेको हो। यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरि ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ।
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घन्टाअघि प्रश्नपत्र बाहिरिएको थियो। बैशाख ३ गते १ बजेदेखि हुने फिजिक्सको परीक्षा अघि ११ बजे नै प्रश्नपत्र आउट भएको थियो।
परीक्षाअघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा. डा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए। प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार नौ जनालाई घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ। ‘प्रश्नपत्र आउट गराउने कर्मचारीलाई प्रत्येक विद्यार्थीले मोटो रकम दिने गरेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘प्रश्नपत्र आउट गराउने गिरोहका नाइकेले विद्यार्थीहरूसँग पैसा उठाउने र कर्मचारीलाई दिने गरेको पाइयो।’
पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृङ्खलाबद्ध रूपमा बाहिरिँदै आएको छ। दुई वर्ष अगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो। त्यस बेलाको घटना अनुसन्धान नभइ गुपचुप भएको थियो।
यसरी पूर्वाञ्चल विश्वविद्यालयले लिने परीक्षाको प्रश्नपत्र बाहिर पुर्याउन परीक्षाको गोप्य शाखाका कर्मचारीको हात हुन सक्ने विश्वविद्यालय स्रोतको दाबी छ। प्रश्नपत्र छाप्ने कार्यमा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको स्रोतको भनाइ छ।
अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ।