कञ्चनपुरको पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव गणेश साउद कोरोना संकटपछि सिमानाकाको हेल्थ डेस्कमा काम गरिरहेका छन्।
एक वर्षअघिसम्म कार्यालयमा १०-५ को काम गर्ने उनको ९ महिनायता दैनिकी फेरिएको छ।
उनको अहिले घर आउने-जाने समय निश्चित हुँदैन।
बिहानै पौने ६ बजे घरबाट निस्केका उनी फर्किँदा धेरैजसो राति१० बज्छ।
कोरोना महामारी सुरू भएपछि गणेशको ड्युटी त्रिनगर नाकामा पर्यो।
भारतको गौरीफन्टा नाका हुँदै हजारौंको संख्यामा भित्रिएकाको थर्मल गनले ज्वरो नाप्ने र रजिष्ट्ररमा नाम, ठेगाना टिप्ने काम उनले गर्थे।
त्यो बेला अहिलेजस्तो नाकामा स्वास्थ्यकर्मीका लागि टेन्ट लगाएर हेल्थ डेस्क बनाएको थिएन।
उनी सुरक्षाकर्मीसँगै नाकामा उभिएर भारतबाट आएकाको ज्वरो नाप्दै भित्र प्रवेश गराउँथे।
गत वर्ष यो समयमा नाका अनियन्त्रित थियो। थामी नसक्नु भीड थियो। गर्मी उत्तिकै।
‘त्रास पनि एकदमै बढी थियो। यस वर्ष कोराना भयानक छ तर त्रास पहिलेभन्दा कम छ,’ उनले भने।
त्यो बेला कोरोनाको त्रासले उनी घरबाटै पिपिई लगाएर जान्थे।
‘पिपिई निकै बाक्लो खालको हुनाले हावा पास हुँदैनथ्यो। पसिना आएर काम गर्न गाह्रो हुन्थ्यो, एक बोतल चिनी/नुन पानी नखाए त सास फेर्न गाह्रो हुन्थ्यो,’ उनले भने, 'पहिले घरबाटै पिपिई लगाएर नाकामा पुग्थें, यसपटक त काम गर्नेबेला मात्रै लगाउँछु।’
बिहान छ बजेबाट काम सुरू हुन्छ। उनी पौने ६ बजे नै घरबाट निस्किन्छन्।
उनी पुग्दा नाकामा भारतबाट स्वदेश आएकाहरूको लाइन हेल्थ डेस्कअगाडि लामै हुन्छ।
ट्याङ्ककीमा पानी भर्न मोटर चलाउँछन्। त्यसपछि मात्रै उनी डेस्कमा बस्छन्। मानिसहरूको भीड हेरेर अरू कर्मचारीलाई पनि फोन गर्नुपर्ने हुन्छ।
उनीसहित १५ जना स्वास्थ्यकर्मी त्रिनगर नाकामा अहिले खटिएका छन्। थप ४ जना कर्मचारी पनि सहयोगका लागि राखिएको छ।
प्रहरीले भारतबाट आएका केहीलाई मात्र लाइन लगाउन सकेका हुन्छन्, केहीलाई रिक्सा-गाडीवालाले तानेरै लैजान्छन्, केही आफैं भाग्छन्।
केहीले भारतमै कोरोना परीक्षण गराएको कागज देखाउँदै घर जाने गर्छन्।
परीक्षण गर्न लाइनमा लागेकाको नाम, आएको ठाउँ र जाने ठेगाना, सम्पर्क नम्बर आदि टिपेर एन्टिजेन परीक्षण हुन्छ।
गणेश आफैं पनि श्वाब संकलन गर्छन्। श्वाब दिएकाको १५ मिनेटमा रिपोर्ट आउँछ। पोजेटिभ देखिएकामध्ये लक्षण भएकालाई अस्पतालमा र लक्षण नभएकाहरूलाई आइसोलेसनमा जान भनिन्छ।
‘पोजेटिभ आएकाहरू आइसोलेसनमा बस्नै मान्दैनन्, कोहीले मेरोमात्र कसरी पोजेटिभ आयो भनेर धम्काउन/हान्न पनि आउँछन्,’ उनले भने।
पोजेटिभ देखिएकाहरूलाई आइसोलेसनमा लैजान सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्सलाई फोन गरी खबर गर्नुपर्छ।
बिहानैदेखि खटिने गणेशले हर दिन गर्नुपर्ने काम यही हो।
सिमानाका लाम नसकिएसम्म यी कामबाट उनलाई एक मिनेट फुर्सद हुन्न।
‘कहिलेकाहीँ नास्ता नै खान पाइँदैन, पानी पनि किनेरै खानुपर्छ,’ उनले भने।
नाकामा खानेपानीको सुविधा छैन। नाकामा खटिने कर्मचारीमध्ये कतिपयले घरबाटै पानी बोकेर ल्याउँछन् त कतिले किनेर खान्छन्।
बेलाबेला नाकाको निरीक्षण गर्न मन्त्रीदेखि मेयरसम्म आउँछन् तर कसैले उनीहरूको समस्या सुन्दैनन्।
‘नाकाको भ्रमणका लागि मन्त्री, प्रमुख जिल्ला अधिकारी, मेयर सबै आउँछन्, कति आए के काम गर्यौ भनेर सोध्छन् तर समस्या के छ सोध्दैनन्,’ उनले भने।
नाकामा खटिएका स्वास्थ्यकर्मी केहीले प्रहरीको क्यान्टिनमा त कहिले होटलमा खाना खान्छन्।
‘पैसा भएका बेला होटलमा खान्छु नभए प्रहरीको मेसमा खान जान्छु, सधैं खल्तीमा पैसा हुँदैन,’ गणेशले भने।
चार वर्षीया छोरीकी आमा कमला ऐर पनि नाकामा खटिएकी अनमी हुन्। उनलाई आफूलाई भन्दा पनि घरपरिवारलाई पो संक्रमण हुन्छ कि भन्ने जोखिम छ।
नाकामा काम गरेर फर्कँदा लुगा बाहिरै फुकालेर, नुहाएरमात्रै घरभित्र पस्ने गरेको उनले बताइन्।
नाकामा बनाइएको शौचालयमा पानीको व्यवस्था नहुँदा ठूलो समस्या भएको ऐरले सुनाइन्।
'शौचालयमा पानीको व्यवस्था नहुँदा महिनावारी भएका बेला हामीलाई निकै गाह्रो हुन्छ,' उनले भनिन्।
१० देखि ५ बजेसम्म भए पनि नाकामा खटिन आउने कर्मचारीलाई नास्ता, पिउने पानी र शौचालय सुरक्षित भए हुन्थ्यो जस्तो उनलाई लाग्छ। अहिले उनी दैनिक (विदाका दिन, शनिबार) पनि काम गरिरहेकी छन्।
नाकामै खटिएका अर्का कर्मचारी जयराज ढुंगानाले सरकार पर्याप्त किट नै नदिँदा परीक्षणमा समस्या हुने गरेको बताए।
‘महामारीमा हाम्रो दायित्व भएकोले काम गर्नै पर्यो, नास्ता, पानी, रिचार्ज आफ्नो छ, त्यसैमाथि किट पनि पर्याप्त नभएर परीक्षण हुन सकेको छैन,’ उनले भने,'त्यसले समस्यामा हामीलाई नै पार्छ।'
उनले कहिलेकाहीँ किट अभाव भएर परीक्षण नगरी मानिसहरूलाई घर पठाउनुपर्ने बाध्यता रहेको बताए।
नाकामा काम गर्न थालेपछि उनी अहिले राति ८ बजे घर फर्किने गर्छन्।
जयराजको घर गोदावरी नगरपालिका धनचौरीमा छ। उनी त्यहीँबाट काममा आउने-जाने गर्छन्।
‘घर जान जंगलको बाटो छ, बाघको पनि डर हुन्छ, घरका मान्छेहरू म घर नपुग्नजेल डरैडरमा बसेका हुन्छन्,’ उनले भने।
नाकामा खटिएका कर्मचारी र भारतबाट आउनेहरूका लागि त्यहीअनुसारको व्यवस्था भए सहज हुने उनको भनाइ छ। तर, त्यो अनुसारको व्यवस्था नहुँदा अहिले समस्या यथावत् रहेको उनले बताए।
उनले नाकामा खटिएका कतिपय कर्मचारी कोरोना संक्रमित भइसकेको बताए।
कर्मचारी संक्रमित भएपछि नाकामा काम गर्न आउने अरू कर्मचारी पनि डराएको उनले बताए।
नाकामै खटिएका केही कर्मचारीले गत वर्षदेखि सरकारले दिने भनेको जोखिम भत्ता पनि पाएका छैनन्।
पुनर्वास नगरपालिका स्वास्थ्य शाखामा काम गर्ने र सीमामा खटिएका तीन कर्मचारीले भत्ता नपाएको गुनासो गरे।
‘अरू साथीहरुले हामीले भत्ता पायौं, तिमीले पायौ भनेर सोध्दा पनि अलि नमज्जा लाग्छ,’ तीमध्ये एक कर्मचारीले भने।
महामारीमा खाना, पानी, नास्ता नखाएर काम गरिरहे पनि जोखिम भत्ताको सुविधा नहुँदा मनोबल घटेको उनको भनाइ छ।
अहिले त्रिनगर नाकामा स्वास्थ्य कार्यालय कैलालीका ६, पुनर्वास नगरपालिकाका ६, सामाजिक विकास मन्त्रालयका २ र धनगढी उप-महानगरपालिकाका १ जना स्वास्थ्यकर्मी खटिएका छन्।
२ जना तथ्यांक राख्ने र २ जना कार्यालय सहयोगी छन्।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना महामरीमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने विषयमा कुरा भइरहेको बताए।
‘प्रदेशका सीमानाका, क्वारेन्टिन, अस्पतालमा खटिएका कतिपयलाई त जोखिम भत्ता दिएकै हो, तर, कतिपय छुटेका होलान्, उनीहरूलाई पनि दिने गरी स्थानीय सरकारसँग कुरा गरेर त्यहीअनुसारको व्यवस्था हामीले गरिरहेका छौ,’ उनले भने।
उनले नाकामा खटिएका कर्मचारीलाई सहज रूपले काम गर्ने वातावरण गर्ने दाबी गरे।