डिलरहरूमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फिर्ता नहुँदा विराटनगरमा जुनसुकै बेला त्यसको अभाव हुने खतरा बढेको छ।
प्रदेश १ मा विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ। यो प्रदेशमा आज कोरोनाका सक्रिय संक्रमित एक हजार १० पुगेका छन्। प्रदेश सरकारले सञ्चालन गरेको कोरोना अस्पतालसहितका ठूला अस्पतालहरू पनि यहीँ भएका कारण बिरामीको चाप सँधैं उच्च हुने गरेको छ।
कोरोना उपचारका लागि सबैभन्दा अत्यावश्यक मानिने अक्सिजन सिलिण्डरको भने यहाँ ठूलो अभाव छ। यसबारे सरकार पनि जानकार छ। सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की अहिले नै अक्सिजन अभाव भइहाल्ने अवस्था नरहेको बताउँछन्।
तर, संक्रमण बढ्दै जाँदा त्यस्तो अवस्था आउने खतरा भने कायमै रहेको उनको भनाइ छ। ‘अहिले अभाव छैन, पुग्दो अवस्थामा छ,' उनले भने ‘तर, सिलिण्डर अभावका कारण धेरै चाहिँदा समस्या हुनसक्ने स्थिति छ। यसका लागि हामीले गम्भीर तयारी गरिरहेका छौं।’
सरकारले त्यसका लागि उद्योगी गुहारेको छ। तीन दिनअघि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विराटनगरका अक्सिजन उत्पादन गर्ने उद्योगीहरूलाई मन्त्रालयमै बोलाएर सक्दो सहयोग गर्न आग्रह गर्यो।
त्यसक्रममा उद्योगीहरुले चाहिनेजति अक्सिजन दिन आफूहरू तयार रहेको तर खाली सिलिण्डरको अभाव उच्च रहेको बताएका थिए। खाली सिलिण्डर खोज्न सघाउन पनि उद्योगीहरूले सरकारसँग माग गरेका छन्।
अक्सिजन उत्पादन गर्ने उद्योगीहरुका अनुसार कोरोना संक्रमण ह्वात्तै बढेपछि सबैतिर पुगेका सिलिण्डरहरु ‘होल्ड’ भएर बसेका छन्। जसले गर्दा सिलिण्डरको रोटेसन ठप्प जस्तै छ।
‘अस्पताल, क्लिनिक र घरमा पुगेका अक्सिजन सिलिण्डर आवश्यक नपर्नेहरुले पनि ओगटेर राखिदिएका छन्’ विराटनगरस्थित विनायक अक्सिजन इण्डष्ट्रीका प्रमुख अमित सारडाले भने ‘यसले रोटेसन हुनै सकेको छैन। क्षमता भएर पनि अक्सिजन भर्न पाइएको छैन।’
उद्योगी सारडाका अनुसार अहिले दैनिक ४ सयदेखि ५ सय वटासम्म सिलिण्डर भर्ने गरेका उद्योगसँग यसको तेब्बर क्षमतामा अक्सिजन भर्ने क्षमता छ। तर, क्षमता अनुसार सिलिण्डर छैन। ‘त्यसैले चाहेर पनि भर्न पाइएको छैन,' उनले भने ‘हामी खाली सिलिण्डर हुनेहरुलाई भर्नका लागि बोलाइरहेका छौं।’
उनका अनुसार मोरङ र सुनसरी क्षेत्रमा पाँच वटा ठूला अक्सिजन प्लान्ट उद्योग छन्, जसले चाहिने जति अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन्। तर, सिलिण्डर नहुँदा समस्या भएको उनको भनाइ छ। तत्कालै अतिरिक्त सिलिण्डर ल्याउनसक्ने अवस्था पनि नभएको उद्योगीहरू बताउँछन्।
उनीहरूका अनुसार अक्सिजन सिलिण्डर मुख्य रूपमा चीनबाट ल्याउने गरिएको छ। अहिले नै अर्डर गरेर मगाउँदा पनि कम्तीमा दुई महिना जति समय लाग्छ। ‘फेरि ज्यादै महँगो कर तिरेर सिलिण्डर मगाउन सकिने स्थिति पनि छैन’, उद्योगी सारडा भन्छन् ‘१५ प्रतिशत भन्सार शुल्क, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिरेर ल्याउनुपर्छ। सरकारले यो बोझ घटाए पनि सहज हुन्थ्यो।’
कोरोनाको पहिलो लहरकै बेला सिलिण्डरमा लाग्ने अधिक कर कम गर्न माग गरिएको थियो। तर, सरकारले यसतर्फ ध्यानै नदिएको उद्योगीहरू गुनासो गर्छन्। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई पुग्ने अक्सिजन आफैले उत्पादन गरिरहेको छ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार आफूलाई चाहिने मात्रामा उत्पादन भएको छ। झापाका अस्पतालहरूले पनि आफै उत्पादन सुरू गरेपछि समस्या केही हदसम्म कम हुने अपेक्षा स्वास्थ्य क्षेत्रको छ। ‘तर, मुख्य समस्या सिलिण्डरकै हो, नचाहिनेहरूले पनि ओगटेर राखेपछि सिलिण्डर अभाव भएको छ,' सिलिण्डर सप्लाई गर्दै आएका विराटनगरका व्यवसायी सोम पाण्डेले भने ‘अहिले हामी खाली सिलिण्डरको तीव्र खोजीमा छौं।’
निजीभन्दा सरकारी नै भरपर्दाे
अघिल्लो वर्ष कोरोनाविरूद्धको तयारी थाल्दा प्रदेश सरकारले विराटनगरका कहलिएका ठूला निजी अस्पतालहरूलाई कोरोनाको उपचार गराउन मनाएको थियो। प्रदेश सरकारले सोही अनुसार व्यापक प्रचार पनि गर्यो। तर, जब साँच्चै संक्रमित फेला पर्न थाले, निजी अस्पतालहरूले विरामीको भर्ना लिन मानेनन्।
उदयपुरमा पहिलोपटक संक्रमित भेटिँदा विराटनगरका अस्पतालले त्यो जिल्लाकै अन्य बिरामीकोसमेत भर्ना लिएनन्। ‘हामीलाई त्यो बेला सामुदायिक स्वास्थ्यको महत्वबोध उच्च रूपमा भएको थियो’, तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्छन् ‘त्यही बुझेर रातारात गरेर बनाएको कोरोना अस्पताल, सरकारी अस्पतालमा खडा गरेको अलग्गै उपचार केन्द्र सबैभन्दा फलदायी सावित भयो।’
कोरोनाको पहिलो लहर सुरू हुने बेलामा प्रदेश १ सरकारले देखाएको तदारूकताले सरकारी अस्पतालहरूमा कोभिड उपचारको प्रबन्ध राम्रो भएको थियो। लक्षण बेगरका संक्रमितहरूलाई पनि अस्पतालमा राखेर निगरानी गरिएको प्रदेशमा स्थिति यस्तोसम्म आयो, कि गम्भीर अवस्थाका बिरामीले अस्पतालमा बेड नै पाएनन्।
उपचार अभावमा ज्यान गुमाउनेको संख्या धेरै भयो। ‘अहिले त्यस्तो हुन नदिन हामी दिनरात काम गरिरहेका छौं,' सामाजिक विकास मन्त्रालय अस्पताल तथा चिकित्सक महाशाखा प्रमुख डा. संगिता राईले भनिन् ‘अस्पतालमा बेड र जनशक्ति अभाव हुन नदिने गरी तयारी भइरहेको छ।’
मन्त्रालयका अनुसार धरानको वीपी प्रतिष्ठानमा कोभिड उपचार केन्द्रकै लागि ७२ वटा आइसीयु र १९ वटा भेन्टिलेटरसहितको एक सय बेड सञ्चालनमा छन्। कोशी अस्पतालमा आइसीयू ६ वटा, ५ वटा भेन्टिलेटर, मेची अस्पतालमा ६ वटा आइसीयु सञ्चालनमा छन्।
प्रदेश सरकारको पहलमा स्थापित कोशी कोभिड अस्पतालमा कूल १ सय ८० बेड छन्। जसमध्ये पछाडि थपिएको एक सय वटा बेड अक्सिजनसहितका छन्। तर, विद्युतीय उपकरणहरुको सेटिङ भइनसकेका कारण ती सय बेड सञ्चालनमा आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ।
‘बेडहरू तयारी अवस्थामा छन्,' अस्पतालका संयोजक एपोलो भगतले भने ‘तर, अक्सिजन सञ्चालनका लागि चाहिने विद्युतीय उपकरणहरू धमाधम जडान भइरहेको छ। त्यसैले तीन चार दिनमा सकेर सञ्चालनमा आउनेछ ।’ यो अस्पतालमा ३० वटा भेन्टिलेटर र ५० वटा एचडीयु कक्ष छन्।
प्रदेश सरकारकै पहलमा निर्माण भएर सञ्चालन भएको मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोरोना उपचार केन्द्र भने अहिले बन्द छ। सामाजिक विकास मन्त्रालयले विराटनगरमा बेड र उपकरण थपेर त्यसको विकल्प तयार पारिएको जनाएको छ।
प्रदेश सरकारले कोरोना उपचारका लागि झापा र मोरङमा रहेका मेडिकल कलेज र ठूला अस्पतालको पूर्वाधारलाई पनि गणनामा राखेको वर्ष दिन नाघेको छ। तर, ती अस्पतालले कोरोना संक्रमितलाई उपचारै नगरी फर्काउने गरेका छन्।
विराटनगरको न्यूरो, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, झापाको बीएण्ड सी लगायतका अस्पतालहरूमा कोरोना उपचारकै लागि ६० वटा भेन्टिलेटर र ४१ वटा आइसीयु तयार रहेको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ। तर, तथ्य ठीक उल्टो छ।
अघिल्लो साता मात्रै कोरोनाको एन्टीजेन परीक्षण रिपोर्ट पोजिटिभ आएकी उदयपुरकी एक महिलालाई विराटनगरका ठूला अस्पतालले ढोकाबाटै फर्काइदिएका थिए। अस्पताल घुमाउँदा घुमाउँदै उनको मृत्यु भएको थियो। सरकारले उनीहरूलाई त्यसो नगर्न भने पनि अस्पतालहरूले अटेरीपन जारी राखेका छन्।
स्वास्थ्यकर्मीहरु तुलनात्मक रूपमा पूर्वाधारको स्थिति राम्रो भए पनि संक्रमित ह्वात्तै बढे केही भन्न नसकिने बताउँछन्। ‘अहिले नै बेड नपाउने अवस्था छैन, सरकारी अस्पतालका बेडहरुले पुगेकै छ,' विराटनगरका चिकित्सक डा. बालकृष्ण साह भन्छन् ‘तर, जुन दरमा संक्रमण बढेको छ, त्यसले केही भन्न सक्ने स्थिति छैन।’
प्रदेश १ का १० वटा ल्याबमार्फत अहिले दैनिक ५ सयको पिसिआर परीक्षण भइरहेको छ। निर्देशक जयवेन्द्र यादवका अनुसार अहिले प्रयोगशालाहरू दैनिक एक सिफ्ट मात्रै सञ्चालनमा भएका कारण र जाँच गर्न आउनेहरु कम भएका कारण सरदर दैनिक पाँच सयको परीक्षण भइरहेको हो।
‘हामीले दुई वा तीन सिफ्टमा काम थाल्ने हो भने दैनिक दुई हजार जनासम्मको परीक्षण गर्न सक्ने अवस्थामा छौं’, यादवले भने ‘पहिले पहिले लक्षण बेगरकाहरु धेरै आउँथे। अहिले लक्षणसहितकाहरू मात्रै आउने गरेका छन्।’ उनका अनुसार अहिले परीक्षण भएकामध्ये २५ देखि २८ प्रतिशतमा पोजेटिभ देखिएको छ ।