एक साताअघि कैलालीको कैलारी गाउँपालिका–५ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा केही विद्यार्थीलाई खोकी र ज्वरो देखियो।
पढाउँदै गरेका शिक्षकले एकै कक्षा कोठाभित्र ५ जना विद्यार्थी खोकिरहेको देखेर के भएको भनी सोधे। विद्यार्थीहरुले सन्चो नभएको भनेपछि उनीहरुलाई घर पठाइयो।
ती शिक्षकले कक्षा कोठाको यो घटना प्रधानाध्यापकलाई भनेपछि अरु विद्यार्थीमा पनि त्यस्ता लक्षण छन् कि भनेर खोजी भयो। कोरोनासँग मिल्दा त्यस्तै लक्षण भएका १६ जना विद्यार्थी फेला परे।
लक्षण भएका सबैलाई घर पठाएपछि प्रधानाध्यापकले वडा कार्यालयमा खबर गरे। घर पठाइएकामध्ये कोही स्वास्थ्यचौकी गए कोही गएनन्। आइतबार विहान वडा अध्यक्षले गाउँपालिकाको स्वास्थ्य शाखालाई टेलिफोन गरी विद्यार्थीमा लक्षण देखिएकोबारे सुनाए।
गाउँपालिकाका सिनियर अहेब बीरेन्द्र सापकोटाले आइतबार नै ती विद्यार्थीको पहिचान गर्न वडा कार्यालयलाई आग्रह गरे। ‘आइतबार मलाई विद्यार्थी विमारी परेको खबर आयो, वडा नम्बर ५ मै रहेको आइसोलेसन सेन्टरमा ४० किट बाँकी थियो, उनीहरुलाई त्यहीं बोलाइदिन वडा कार्यालयलाई आग्रह गरें,’ उनले भने।
अभिभावकसहित ८ जना विधार्थीको एन्टिजेन परिक्षण गरियो। तीमध्ये ४ जना संक्रमित पाइए। ‘उनीहरु होम आइसोलेसनमै छन्,’ सापकोटाले भने।
सोमबार उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भयो। संक्रमित पाइएका विद्यार्थीहरको सम्पर्कमा आएका अरु १० जना विद्यार्थीको परीक्षण गरियो। तीमध्ये ५ जना संक्रमित पाइएका छन्।
गाउँपालिकाका अध्यक्षसहित व्यवस्थापन समिति र स्वास्थ्यशाखाको छलफल भयो। ‘विद्यालयमा लक्षण देखिएका सबैको परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने।
संक्रमित पाइएका विद्यार्थीलाई घरमै अलग बस्न भनिएको छ। तीनका परिवार र समाजका मान्छेमा कोरोनासंग मिल्दा लक्षण देखिए तुरुन्तै खबर गर्नु भनिएको छ।
पवेरामै रहेको एक बोर्डिङस्कुलका दुई जनामा पनि संक्रमण पुष्टि भएको सापकोटाले बताए। आइतबार एकजना विद्यार्थीमा संक्रमण पाइएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा सम्पर्कमा आएकी शिक्षिकाको परीक्षण गर्दा दुईजनामा संक्रमण पाइएको हो ।
यस्तै, विद्यार्थीको सम्पर्कमा आएका अन्य दुई जना व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ७ को वडा कार्यालयका एक जना कर्मचारी र सोही वडास्थित हेल्थ पोष्टमा कार्यरत अर्का एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ।
‘विद्यार्थीको सम्पर्कमा आएका २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनाको रिजल्ट पोजेटिभ आयो,’ सापकोटाले भने।
यस्तै छिमेकी जिल्ला कञ्चनपुरमा पुनर्वास नगरपालिका–८ मा रहेको समशिक्षा ईन्टरनेश्नल निकेतनका २ जना विद्यार्थी र सोही स्कुलका एक जना शिक्षकमा कोराना संक्रमण पुष्टि भएको छ। आइतबार उनीहरूको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन वैशाख २५ गतेसम्मका लागि बन्द गरिएको छ।