भारतको लुदियानाबाट आएका कैलालीको वनबेहडाका १८ वर्षीय एक युवाको नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ आयो।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई स्वास्थ्यकर्मीले नाकामै त्रिपाल टाँगेर बनाइएको छहारीमा बस्न भने।
प्रहरीले उनलाई अरू मानिसहरूको सम्पर्कमा जान दिएका छैनन्।
‘मैले हिजोदेखि खाना खाएको छैन, पानी पनि पिउन पाएको छैन,’ उनले भने।
कक्षा १२ पढ्ने उनी कम्प्युटर सिक्न चाहन्थे। पैसा नभएर कम्प्युटर कक्षा जान नपाएपछि स्कुल बिदा भएकाले महिनादिनअघि कमाउन भारत गएका थिए।
भारतमा होटलमा काम गरे। कोरोनाले होटल बन्द भएपछि नोकरी छुट्यो।
‘उता कोरोनाले काम बन्द भएपछि तब घर आएको हो,’ उनले भने।
उनीसँगै ८/९ जना अरू पनि सँगै आए। उनीहरूमध्ये २ जनाको मात्र परीक्षण भयो। दुवै जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो। उनीसँगै आएका साथीहरू घर गए।
‘चेक नभएका घर गैसेके, हामीलाई पोजेटिभ भनेर रोकेको छन्,’ उनले भने।
उनी लुदियानाबाट बसमा आएका थिए। १५ सय भारू भाडा तिरेर मंगलबार बिहान ८ बजे गौरीफन्टा नाका पुगे।
नाकामा लाइन लागेर आएका उनको उमेर नाम प्रहरीले टिपेका थिए। त्यसपछि उनी हेल्थ डेस्क अगाडि लाइन लागे।
बिहान ९ बजे लाइन लागेका उनको ११ बजेतिर पालो आयो। ११ बजे स्वास्थ्यकर्मीले उनको स्वाब निकाले।
स्वाब लिएपछि स्वास्थ्यकर्मीले १५ मिनेट कुरेपछि रिपोर्ट आयो। पोजेटिभ।
‘प्रहरीले तिमी पोजेटिभ छौ भनेर यता बनाएको ठाउँमा बसायो,’ उनले भने।
दिउँसो १ बजे फोन गर्दा उनले आफू बिहानदेखि घरि लाइन, घरि त्रिपालमुनि बस्नु परेको सुनाए।
उनीसँगै एक जना अर्का संक्रमित पनि छन्। उनी पनि भोकै छन्। त्यसमाथि उनलाई आफूमा कोरोना संक्रमण भएको छ भन्ने विश्वास छैन।
‘पानी खान मन लागेको छ, हिजोदेखि खाना खाएको छैन। यहाँ बजारमा जानै दिरा’छैन,’ उनले भने, ‘म फेरि चेक गर्न चाहन्छु, गर्मीमा तड्पाउँछन्, मलाई कोरोना छैन जस्तो लाग्छ, अस्ति एक हप्ता अघि भारतमा चेक गरेको नेगेटिभ आएको थियो, मसँगै आएका साथीहरूको किन पोजेटिभ आएन त?’
यो हप्तादिन यता कोरोना लाग्न सक्छ भनेर उनलाई सम्झाउने कोही छैन। रिपोर्ट पोजेटिभ आएपछि अब के हुन्छ, कहाँ जाने भन्ने कुरा कसैले भनेको छैन।
‘अब खै के गर्ने हुन्, कोही सोध्न पनि आउँदैनन्, होम-आइसोलेसन बस्छु जान देऊँ भने पनि जान दिँदैनन्,’ उनले भने ।
उनले घरमा आफू संक्रमित भएको कुरा फोन गरेर खबर सुनाए।
‘घरबाट यतै आइज बरू अलग्गै बस्ने भनेका छन्,’ उनले भने।
छोरा संक्रमित भएको कुराले उनका बुवाले चिन्ता मानेका छन्।
उनले दाजुले घरमै होम आइसोलेसनमा बसौँला घर आऊ भनेको कुरा सुनाए।
उनीजस्तै कञ्चनपुरका ३० वर्षीय युवा कोरोनाबाट बच्न घर फर्के।
तर नाकामा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखियो।
कोरोनाले नोकरी छुटेपछि एकाएक फर्केका उनी घर नपुग्दै नाकामै संक्रमित भएपछि आत्तिएका छन्।
‘एकातिर संक्रमित हुनुको पीडा त अर्कोतिर दुई तीनदिनदेखि खाना, पानी नपाउँदा चक्कर र रिंगटा लाग्ने गरेको छ,’ उनले पसिना पुछ्दै भने।
दु:ख पाएपछि महामारीमा स्वदेश फर्के पनि नाकामा झन् दु:ख पाउनुपरेको उनले सुनाए।
भोकभोकै घण्टौं पर्खिनु पर्दा संक्रमित भएकाहरूलाई बढी गाह्रो हुने गरेको उनी बताउँछन्।
‘मलाई लक्षण देखिएको छैन। आइसोलेसनमा पठाउँछौं भनेका छन्, घण्टौं कुरे पनि गाडी आएको छैन,’ उनले भने।
नाकामा संक्रमित भएका महिला तथा बालबालिकालाई अझ बढी सकस हुने गरेको छ।
कैलालीकी नाम परिवर्तन २९ वर्षीया महिलालाई पनि नाकामा आइपुग्दा कोरोना पोजेटिभ देखियो।
उनी कोरोनाको त्रासले भारतको मुम्बईबाट दुई सन्तानसाथमा लिएर घर फर्केकी हुन्।
‘लामो यात्रामा बच्चाबच्चीलाई भोकभोकै प्यासप्यासै आउनुपर्यो। यता नाकामा संक्रमित भएपछि गाह्रो भइरहेको छ,’ उनले भने।
उनले खाना-पानी नपाएपछि छोराछोरी कराउन थालेको सुनाइन्।
‘म त सहन्छु तर, बच्चाले त केही बुझ्दैनन् अब कहाँ जानुपर्ने हो। यस्तो गर्मीमा कति पर्खिनु पर्छ, घण्टौं लाइन लागेर नाम, टिपोट त्यसपछि परीक्षण त्यसपछि रिपोर्ट आउन कुऱ्यौं, अझै अब गाडी आउनु कुर्नुपर्ने परेको छ,’ उनले भने।
बाध्यताले परदेशिनु परेकोले कोरोनाले भोकभोकै रित्तो हात घर पर्खिनु परेकोमा उस्तै दुखी छन्।
उनका अनुसार दैनिक हजारौं संख्या आएकामध्ये संक्रमित भएकाहरूले नाकामा बढी सास्ती भोग्न परेको छ।
नाकामा संक्रमित भएकाहरूले खानै नभए पनि पानीको व्यवस्था भए राहत हुने बताउँछन्।
नाकामा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले पोजेटिभ देखिएका मान्छे २० जना नहुन्जेल गाडी कुर्नुपर्ने बताए।
उनले १० जनासम्म भए एम्बुलेन्समा पठाउने गरिएको बताए।
‘एक दुई जनाका लागि गाडी बोलाएर भएन,’ उनले भने,‘बाहिर गए भागिहाल्छन्, यहीँ भोक लाग्यो–भोक लाग्यो भनेर कराउँछन्, छटपटाउँछन्।’
उनका अनुसार नाकामा स्वास्थ्यकर्मीलाई पनि नास्तापानीको व्यवस्था छैन।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले भने नाकामा संक्रमितका लागि हेल्थ डेस्कमा व्यवस्था मिलाएको दाबी गरे।
नाकामा संक्रमितलाई थप सास्ती भोग्न नपरोस् भनेर व्यवस्था मिलाएको उनको जिकिर छ।
गौरीफण्टा नाका हुँदै एक महिनामा सोमबारसम्म करिब ३५ हजार बढी नेपाली स्वदेश फर्किएका छन्।
नाकाबाट भित्रिएकामध्ये सोमबारसम्म १२ हजार ५ सय ३९ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १ हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।
नाकामा भेटिएका संक्रमितहरूलाई धनगढीस्थित कनरीमा धनगढी उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्ने गरेको जनाइएको छ।
भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै यो नाकाबाट स्वदेश फर्किनेहरूको भीड बढ्दै गइरहेको छ।