कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा छ। दिनहुँ कोरोनाका बिरामी बढेका छन्, उनीहरूको अवस्था दिनदिनै गम्भीर हुँदै गएको छ। कतिले ज्यान गुमाएका छन्। तर गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधा अभाव छ।
जिल्ला अस्पताल बझाङमा ३ बेडको आइसियु र २ वटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएका छन्।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सन्दिप ओखेडाले जनशक्ति अभावमा कोभिडका बिमारीको उपचारमा समस्या आएको बताए।
‘आइसियु र भेन्टिलेटरमा आवश्यक पर्ने विशेषज्ञ छैन, बिरामीलाई रिफर गर्नुपर्ने अवस्था छ,’ उनले सेतोपाटीसँग भने।
अस्पतालको पिसिआर ल्याब पनि बजेट अभावमा बन्द छ। बीचमा परीक्षण बन्द भएको मेसिन अहिले काम गर्ने मान्छेलाई तलब खुवाउने पैसा नभएर बन्द छ। उक्त मेसिन ६ महिना प्रदेश सरकारले दिएको बजेटबाट चलेको थियो। पछि बजेट अभावमा बन्द भएको हो।
‘अहिले प्रदेश सरकारसँग फेरि पैसा मागेका छौं। स्थानीय तहले सहयोग गर्ने भनेका छन्। त्यो पाए एक हप्ताभित्र सुचारू हुनेछ,’ उनले भने।
यो अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सात जना कर्मचारीले टोली बनाएर काम गरिरहेका छन्।
उनीहरू कोभिड वार्डमा गए अरू बिरामीको उपचारमा जनशक्ति अभाव हुन थालेको छ।
बझाङमा अहिले ९ जना कोभिड संक्रमित उपचाररत छन्।
उता दार्चुला जिल्ला अस्पतालमा पनि २ आइसियू र २ भेन्टिलेटर रहेकोमा सञ्चालन गर्ने जनशक्ति छैन। यद्यपि तानतुन गरेर चलाइएको अस्पतालले जनाएको छ।
‘कोभिडका लागि डेडिकेटेड टिम बनाउन सक्ने जनशक्ति छैन। भएकै कर्मचारीले सबैतिर काम गछौं, आइसियूमा पनि त्यही अवस्था छ,’ मेडिकल सुपरिटेण्डेण्ट डाक्टर आदर्श लिम्बूले भने।
दार्चुला अस्पतालमा अक्सिजन सिलिण्डर ३५ वटा भए पनि त्यसमा चाहिने रेगुलेटर, चाबी र अरू टेक्निकल कुरा बढीमा ३ सेट मात्र छन्।
१५ बेडको अस्पतालमा ४५ बेड चलाइएको छ। अस्पतालमा कर्मचारी ४० जनामात्रै छन्।
प्रदेशको कोभिड डेडिकेटेड तोकिएको सेती प्रादेशिक अस्पतालमा क्षमताभन्दा बढी बिरामी छन्।
अस्पतालले क्षमताभन्दा बढी कोभिडका बिरामी आउन थालेपछि व्यवस्थापनमा समस्या सुरू भएको जनाएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले नर्सिङ स्टाफको कमी हुन थालेको बताए।
‘रूटिनमा काम गर्नुपरिरहेको छ। एक सिफ्टका लागि ८ जना नर्सिङ कर्मचारी चाहिनेमा ४ वटाले काम गर्नु परिरहेको छ,’ उनले भने।
अस्पतालमा भएका भौतिक संरचनाले नभ्याउने अवस्था आएको सेती र महाकाली अस्पतालले जनाएका छन्।
‘सेतीमा अर्को भवन बन्न लागेको छ, तर कहिले पूरा हुने हो, केसहरू भने बढिरहेका छन्,’ श्रेष्ठले भने।
धनगढीमा कोरोना संक्रमितका लागि अस्पतालमा बेड अभाव भएको छ। सेती प्रादेशिक अस्पतालका कोभिड उपचार भवनमा रहेका सबै ५५ बेड नै संक्रमितले भरिएपछि बेड अभाव भएका हुन्।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले लक्षणसहितका संक्रमितले उपलब्ध सबै बेड भरिएको बताए।
उनले थप आउनेलाई बेड अभाव हुने प्रदेश सरकारलाई जानकारी गराइसकिएको बताए।
उता कञ्चनपुरको महाकाली अस्पतालमा भएका आइसोलेसनका ५० बेड भरिएका छन्। आइसियू बेड ६ वटा रहेकोमा अहिले खाली कुनै बेड छैन। आपतकालीन अवस्थाका लागि बनाइएको १८ बेड मात्र खाली छन्।
महाकाली अस्पतालका सूचना अधिकारी नारद भट्टले ६ जना आइसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको बताए।
महाकाली अस्पतालमा आइसियू बेडमा रहेका बिरामीको उपचारमा खटिएकी नर्स आकांक्षा सिंह राठौरले शय्या अभावमा बिरामीलाई अक्सिजन बाँडेर दिनु परिरहेको बताइन्।
‘श्वासप्रश्वासको गति छिटोछिटो, अक्सिजनको लेभल पनि कम भएका संक्रमितहरू बढी आउन थालेका छन्, उनीहरूलाई दिन अक्सिजन उपकरण कम हुन थालेको छ,’ उनले भनिन्।
महाकाली अस्पतालमा आइसियूमा राख्नुपर्ने संक्रमितहरू बढी भए पनि बेड नपाउने अवस्था छ।
बेड नपाएका बिरामीलाई एचडियू र अक्सिजनको सहायतामा राखिएको छ ।
‘पहिलेजस्तो अवस्था छैन। पहिला फोनबाट सम्पर्क गर्थ्यौं। तर अहिले त २४ घण्टा तयार रहनुपर्छ। एक जना कर्मचारीले ८ देखि १२ घण्टा काम गर्नुपर्छ। बिरामीलाई एक मिनेट पनि छोड्न सक्ने अवस्था नै छैन,’ उनले भने।
प्रदेशका नौ वटै जिल्लाका विभिन्न अस्पतालमा अहिले ३७ वटा आइसियु बेड र २७ वटा भेन्टिलेटर उपलब्ध छन्।
यस्तै प्रदेशभर अहिले २५९ आइसोलेसन बेड छन्।
कञ्चनपुरको महाकाली अस्पतालमा ६ आइसियू र ५ वटा भेन्टिलेटर छन्। अछाम, डोटी, बैतडी र बाजुराका जिल्ला अस्पतालमा २/२ वटा आइसियू र भेन्टिलेटर छन्। डडेल्धुरा अस्पतालमा भने ८ आइसियू बेड र ४ भेन्टिलेटर छन्।
प्रदेशभरका अस्पतालमा ११५ जना संक्रमित उपचाररत छन्।
सुदूरपश्चिममा अहिले सक्रिय संक्रमित ६ सय १२ जना छन्। पछिल्लो समय ६४ संक्रमितको मृत्यु भएको छ।
अस्पतालमा जनशक्ति र उपकरण, आइसोलेसन बेड थप्ने विषयमा आइतबारदेखि छलफल जारी रहेको प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।
उनले कोभिडको अवस्था जटिल भएकोले त्यहीँ अनुसार व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको बताए।
छलफलमा जे निर्णय हुन्छ सो कुराको कार्यान्वयन गर्ने उनले दाबी गरे।