अहिले सबैजसो अस्पतालमा कोभिड संक्रमितलाई बेड अभाव छ। भनेको बेला सहजै बेड पाउने अवस्था छैन।
अझ आइसियू चाहिने जटिल अवस्थाका संक्रमितलाई त बेड पाउनै मुस्किल छ। उपत्यकाका चिकित्सकले आइसियू बेडका लागि धेरै ठाउँबाट तारान्तार फोन आइरहेका बताएका छन्।
बेड अभाव भएकै कारण अहिले अस्पतालले जटिल अवस्थाका संक्रमितलाई मात्र भर्ना लिने गरेका छन्। अर्थात् श्वासप्रश्वासमा समस्या रहेका वा गम्भीर स्वास्थ्य समस्या देखिएका संक्रमितले मात्र अस्पतालमा भर्ना पाएका छन्।
यी बाहेक सामान्य लक्षण भएका संक्रमितले भने अस्पतालमा बेड पाउन हम्मेहम्मे छ।
महामारी उत्कर्षमा पुगेका बेला अस्पतालले जटिल अवस्थाका संक्रमितलाई प्राथमिकता दिनु स्वभाविक हो। विकसित मुलुकहरूले गर्ने पनि यहीँ नै हो।
तर अहिले सामान्य लक्षण भएका संक्रमितले बेलैमा सचेत नहुँदा समस्या थपिएको छ। अझ स्पष्टसँग भन्दा अहिले धेरै संक्रमित सामान्य लक्षण हुँदा बेवास्ता गर्ने, परीक्षण नै नगरी बस्ने र समस्या जटिल भएपछि मात्र अस्पताल पुग्ने गरेका छन्।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य अहिले धेरैजसो संक्रमित अस्पताल आउन ढिला गरेको भन्दै संक्रमितले समयमै उपचार पाउन नसकेको बताउँछन्।
शाक्यले सेतोपाटीसँग भने, 'अहिले अलिकति ज्वरो आउँदा पनि मान्छेहरू ठिक भइहाल्छ नि भनेर बेवास्ता गर्छन्। पछि अस्पताल आउँदा ढिला भइसकेको हुन्छ। धेरै जनाको निमोनियाले फोक्सो खत्तम भइसकेको हुन्छ, फोक्सो खत्तम भएपछि मात्र अस्पताल आएर समस्या पर्यो। जसले गर्दा धेरै संक्रमितलाई बढी अक्सिजन दिनुपर्ने हुन्छ।'
अहिले अस्पताल आएका जटिल संक्रमितमध्ये ८० प्रतिशत भन्दा बढीमा कोभिड निमोनियाको समस्या रहेको शाक्य बताउँछन्।
मानिसहरू संक्रमणग्रस्त भएपछि मात्र अस्पताल आउने गरेको भन्दै उनले भने, 'अवस्था गम्भीर भएपछि उपचार पनि ढिलो हुन्छ। रोग जति चाँडो पत्ता लाग्यो त्यति नै उपचार गर्न पनि सजिलो हुन्छ।'
पाटन अस्पतालमा मात्र ९ जना आइसियूमा रहेकोमा ८ जना भेन्टिलेटरमा छन्।
डा. शाक्यले नयाँ प्रकार (भेरियन्ट)का कारण जटिल संक्रमितहरू बढेको भए पनि उनीहरूलाई बेलैमा अस्पताल ल्याउन नसक्नु वा चिकित्ससँग परामर्श नलिनुले थप समस्या आएको बताए। त्यसैले संक्रमितलाई समस्या देखिनुबित्तिकै अस्पताल ल्याउने वा चिकित्सकको परामर्श लिने हो भने समस्या कम आउने उनले जनाए। त्यसका लागि कसैले समस्या हुनुबित्तिकै परीक्षण गराउनुपर्ने डा. शाक्यको सुझाव छ।
'अहिले मानिसहरू कोरोनासँग डराएको देखिँदैन। तर अब सजक हुनुपर्छ। अलिकति गाह्रो हुनेबित्तिकै परीक्षण गराउनुपर्छ,' उनले भने, 'ज्वरो आयो, जिउ दुख्यो, खोकी लाग्यो वा घाँटी खसखस हुनुबित्तिकै चिकित्सकसँग सल्लाह गर्ने र परीक्षण गरिहाल्नुपर्छ। अस्पताल आइहाल्नुपर्छ।'
तर पछिल्लो समय उपत्यकाका अस्पतालमा बेड अभाव रहेको कुराले मानिसहरूलाई अस्पताल जाने वा नजाने भन्ने दुविधा छ। यसबारे निर्देशक शाक्य भन्छन्, 'सबैलाई भर्ना गर्नु पर्दैन नि। समस्या हुँदा नै चिकित्सकको सल्लाह पायो भने सबैलाई भर्ना गर्नु नै पर्दैन।'
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पनि अहिले आएका अधिकांश संक्रमितमा अस्पताल आउँदा नै निमोनियाको समस्या रहेको बताए।
'पहिले लामो समय संक्रमित हुँदा पनि यस्तो समस्या थिएन तर अहिले आउँदा नै अधिकांशमा निमोनियाको समस्या हुन्छ,' उनले भने, 'ज्वरो आयो, जिउ दुख्यो भन्छन्। पछि एक्स-रे गरेर हेर्दा निमोनिया भइसकेको हुन्छ।'
उनले पनि संक्रमितले बेलैमा चिकित्सकको परामर्श लिनुपर्ने सुझाएका छन्। साथै निजी प्रयोगशालाहरूले पनि रिपोर्ट पोजेटिभ आएकाहरूलाई कम्तीमा एकपटक चिकित्सकको परामर्श लिन सुझाउनुपर्ने उनी बताउँछन्।
'निजी प्रयोगशालाहरूले परीक्षण गरेर यतिकै छोडिदिन्छ। त्यसपछि संक्रमित पनि घरमा गएर बसिदिन्छ। पछि मात्र अवस्था खराब भएपछि अस्पताल आउँछन्,' निर्देशक राजभण्डारीले भने।
उनले कसैलाई परीक्षण नगरे पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनसाथ चिकित्सकको परामर्श लिएर परीक्षण गराइहाल्नुपर्ने बताए। त्यस्तो गर्न सके जटिल संक्रमितको संख्या अलिक कम हुने उनको बुझाइ छ।
तर सरकारले पनि यसबारे प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको ठहर छ।
अहिलेको संक्रमण झन् जटिल भएकाले स्वास्थ्य मन्त्रालयले 'केस इन्भेन्सटिगेसन' को कामलाई प्रभावकारी बनाउँदै हरेक संक्रमितलाई फोन गरेर उनीहरूको स्वास्थ्य अवस्था लगायत सबै जानकारी लिनुपर्ने उनी बताउँछन्।
निर्देशक राजभण्डारीले अहिले भर्ना भएका संक्रमितमध्ये धेरैलाई बढी अक्सिजन दिनुपरेको बताए। त्यसैले बेलैमै चिकित्सकको परामर्श लिने वा अस्पताल आउनुपर्ने उनको सुझाव छ।
'कसैलाई शंका लाग्नुबित्तिकै पिसिआर परीक्षण गर्नुपर्छ। नभए अस्पतालको ओपिडीमा आएर देखाए पनि हुन्छ। त्यस्तो शंका लाग्यो भने चिकित्सकहरूले 'फिभर क्लिनिक' मा लगेर पनि हेर्नुहुन्छ,' निर्देशक राजभण्डारीले भने।