दैलेखको दुल्लु नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीले सोही बैंकका खातावालाको पैसा मासिदिएको खुलेको छ।
बैंकको दुल्लु शाखामा कार्यरत् जयबहादुर थापाले सोही बैंकमा रहेको भवानीप्रसाद आचार्यको खाताबाट ८ लाख रुपैयाँ झिकेको खुलेको हो। पीडित पक्ष जाहेरी दिन जिल्ला प्रहरी कार्यालय दैलेख पुगेको छ।
जाहेरी दिन पीडित पक्ष आएको तर जाहेरी नदिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
कर्मचारी थापा दुल्लु नगरपालिका-५ का बासिन्दा हुन् भने खातावाला आचार्य पनि दुल्लु नगरपालिका-८ का हुन्।
राष्ट्रिय वाणिज्य बैंक दुल्लु शाखाका प्रबन्धक कृष्णप्रसाद उपाध्यायका अनुसार कर्मचारी थापामाथि कारबाहीको लागि प्रक्रिया सुरू भइसकेको छ।
खातावाला र कर्मचारीबीच पहिला मौखिक सम्झौता भएर कर्मचारीले रकम निकालेको आशंका गरिएको उपाध्यायले बताए।
‘हाम्रो आशंकाअनुसार त चिनजानका दुई जना भएकाले कर्मचारीले पैसा सापटी मागेको र खातावालाले चेक छैन भने पनि हाललाई चलाउँछु भनेर रकम निकालेको हुनसक्छ,’ शाखा प्रबन्धक उपाध्यायले भने, ‘त्यसरी चेकबिना निकालेको पैसा भनेको समयमा खातामा जम्मा नभएपछि यो कुरा बाहिर आएको हुन सक्छ, यो हाम्रो शंका हो। साँचो नहुन पनि सक्छ।’
उनका अनुसार ती कर्मचारी घर विदामा बसेका छन्। उनले मोबाइल पनि अफ गरेका छन्। यसका लागि छानबिन पनि सुरू भइसकेको उनले बताए।
आचार्यको खाताबाट फागुन १२ गते पैसा झिकेको देखिएको छ।
‘हामीले उहाँ (पीडित) को निवेदन लिएर केन्द्रमा पठाइसकेका थियौं, केन्द्रबाट पनि छानबिन टोली बनेर उहाँमाथि कारबाही गर्ने र खातावालाको पैसा शोधभर्ना गरिदिने भन्ने कुरा भएको थियो,’ उपाध्यायले भने, ‘अहिले यसरी प्रहरीकहाँ नै जानुपर्ने कुरा पनि थिएन, केही कुरा अनावश्यक चर्चामा ल्याइएको छ।’
उनले कतिपय व्यक्तिले सामाजिक सञ्जालमा ९० लाख रुपैयाँ हिनामिना भएको भन्ने भ्रम फैलाएकाले त्यसो नभएको बताए।