पृथ्वीनारायण क्याम्पस पोखरामा ‘कम्प्युटर साइन्स एन्ड इन्फरमेशन टेक्नोलोजी’ विषयमा बिएस्सी पढ्दै गरेका विद्यार्थी मंगलबार क्याम्पस प्रशासनमा माग लिएर गए।
लामो समयदेखि बारम्बार राख्दै आएको माग क्याम्पस प्रशासनले सुनुवाइ नगरेपछि उनीहरूले प्रशासनमा ताला लगाए। बाहिर माग पत्र टाँसे। विद्यार्थीले उठाएका माग धेरै ठूला थिएनन्।
उनीहरूले आफ्नो मुख्य मागमा ‘अनलाइन कक्षा सञ्चालन भएको शौक्षिक सत्रको शुल्क पुनःमूल्याङ्कन गरियोस्’ भन्ने थियो।
यसका अलवा क्याम्पसको पुस्तकालय उचित व्यवस्थापन, कम्युटर ल्याबको समस्यालगायत माग राखेका थिए। क्याम्पस प्रशासनमा ताला लगाएपछि आन्दोलित विद्यार्थीसँग सहायक क्याम्पस प्रमुख मिनराज लम्साल वार्तामा बसे। वार्तामा सहभागी एक विद्यार्थीका अनुसार वार्ता निष्कर्षमा पुग्दै थियो। विद्यार्थीको माग पूरा हुँदै थियो। त्यही बेला बाहिर क्याम्पस प्रशासनअगाडि विद्यार्थीले टाँसेको मागपत्र च्यातियो। ताला पनि फोड्ने प्रयास भयो।
यस्तो गतिविधि थाहा पाएपछि वार्तामा बसेका विद्यार्थी बाहिर निस्किए। त्यतिबेला सामान्य भनाभन भए पनि हात हाल्ने अवस्था थिएन। मागपत्र च्यात्ने समूह क्याम्पसबाहिर निस्कियो। केहीबेरपछि त्यो समूह फेरि भित्र छिर्यो।
यतिबेला उनीहरूको हात रित्तो थिएनन्। आन्दोलनरत् विद्यार्थीमाथि उनीहरूले आक्रमण थाले। लाठी, हथौडा, रडलगायत हतियारले आफूहरूमाथि आक्रमण भएको एक विद्यार्थीले बताए। आक्रमणबाट ५ जना विद्यार्थी गम्भीर घाइते भए। क्याम्पसमा एउटा संकायमा अध्यनरत् विद्यार्थीले स्वतन्त्र विद्यार्थीका नाममा क्याम्पस प्रशासनसँग माग राखेका थिए। तर उक्त माग र वार्ता विथोल्न आएको समूहले प्रधानमन्त्री केपी शर्मा ओली गुटको अनेरास्ववियु केन्द्रीय सदस्य भएको बताएको एक घाइतेले बताए।
‘मलाई प्रधानमन्त्री ओलीनिकट अनेरास्ववियुको केन्द्रीय सदस्य हुँ भनेर आक्रमण गरे’, उनले सेतोपाटीलाई भने।
ओली गुटका विद्यार्थीले माधव नेपाल समूहका विद्यार्थीका कारण उक्त घटना भएको दाबी गरेको छ। ओली समूहको अनेरास्ववियुका केन्द्रीय सदस्य पारस लम्सालले माधव नेपाल गुटका विद्यार्थी नेता सन्तोष न्यौपानेले कम्प्युटर साइन्स एन्ड इन्फरमेशन टेक्नोलोजीका विद्यार्थीलाई आफूहरूले समर्थन गर्ने भन्दै आन्दोलन गर्न उक्साएको बताए।
‘केपी गुटका विद्यार्थीका लागि केही गरेन, आन्दोलन गर्नु हामी समर्थन गर्छौ भनेर उक्साएका थिए’, लम्सालले भने, ‘गुड विलका लागि त्यहीँबाट यो झगडा सुरू भएको हो।’
आन्दोलनरत विद्यार्थी र ओली गुटका विद्यार्थीबीच भनाभन भएपछि ओली गुटका केन्द्रीय सदस्य मिलाउन गएको तर ‘रफ’ बोलेर उनीहरूले आक्रमणको प्रयास गरेको लम्सालले दाबी गरे।
‘तैंले के गर्न सक्छस् भनेर हाम्रा भाइहरूलाई धक्का हानेछन्, उनीहरूले त्यस्तो व्यवहार देखेपछि हाम्रा साथीहरू भागेर बाहिर गए र फर्केर आउँदा फेरि झगडा भएको हो,’ उनले भने। पृथ्वीनारायण क्याम्पसमा मंगलबार भएको झगडा अरू केही नभएर ओली समूह र माधव नेपाल समूहको टकराव भएको लम्सालले बताए।
उनले भने, ‘माधव गुटमा लागेका कमरेडहरूले हामीलाई देखाउन खोजेका हुन्, यो अरू केही नभएर हामीसँग माधव नेपाल समूहका साथीबीचको झडप मात्र हो।’
आक्रमणमा परेर घाइते भएका अर्का विद्यार्थीले आक्रमण गर्न आउनेलाई चिन्न नसकेको प्रतिक्रिया दिए।
‘उनीहरू क्याम्पस पढ्ने विद्यार्थी होइन, बाहिरबाट आएर हामीलाई आक्रमण गरे’, उनले भने। पृथ्वीनारायण क्याम्पसकै माधव नेपाल समूहको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले उक्त घटनामा आफ्नो संगठनका कोही पनि सहभागी नभएको बताए। क्याम्पसको ‘कम्प्युटर साइन्स एन्ड इन्फरमेशन टेक्नोलोजी’ संकायमा कुनै पनि संगठन नभएको भन्दै उनले उक्त माग राख्ने विद्यार्थी स्वतन्त्र रहेको बताए।
‘हाम्रो एक जना पनि साथी त्यो घटनामा संलग्न छैन’, न्यौपानेले सेतोपाटीलाई भने, ‘ओली गुटका साथीहरूले हामीलाई बदनाम गर्न खोजे।’
घटनाका सम्बन्धमा क्याम्पस प्रशासनले अहिलेसम्म कारबाही प्रक्रिया अघि बढाएको छैन। क्याम्पसभित्रै हतियारसहित विद्यार्थीमाथि आक्रमणको घटना मिलाउन वार्ताको तयारी गरेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले बताए।
‘क्याम्पसमा हिजो झडप भएकै हो’, कोइरालाले सेतोपाटीलाई भने, ‘आज वार्ता गरेर छिनोफानो गर्छौ।’
उनका अनुसार झडपमा संलग्न विद्यार्थी र आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न क्याम्पसले ३ सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिमा क्याम्पसका सहायक प्रमुखद्वय मिनराज लम्साल, यादव उपाध्याय र विद्यार्थी कल्याण शाखाका बोधराज ढकाल छन्।