२४ घन्टामा तीन पटक ड्युटी फेरिन्छ। आठ-आठ घन्टाका दरले रोटेसन मिलाउँदा एउटा आइसियू बेडमा दिनमा तीन जना नर्स अनिवार्य चाहिन्छ।
महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालमा जम्मा ७ सय शय्या छन्। अस्पतालमा कोभिडका १२० बेड छन्। २० वटा भेन्टिलेटर र १२ वटा आइसियू छन्।
टिचिङमा आफैं नर्स र डाक्टर उत्पादन गर्ने कलेज छ। तर, अहिले महामारी उत्कर्षमा पुगेका बेला उही चाहिँ जनशक्तिको चर्को अभाव झेलिरहेको छ।
साधारण बेड, आइसियू र भेन्टिलेटरमा खट्ने नर्स, मेडिकल अफिसरहरू कम छन्।
उक्त अस्पतालले डेढ सय जना नर्स तुरून्तै चाहिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ।
‘कहिले पठाइने हो थाहा छैन, हामीलाई नर्स अत्यधिक खाँचो छ,’ शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले भन्छन्, ‘सफाइ कर्मचारी पनि चाहिएको छ, ५० जना मागेका छौं।’
यस्तै, २५ जना मेडिकल अफिसर पनि माग गरिएको काफ्लेले बताए।
उनका अनुसार अहिले दैनिक दुई हजार जना पिसिआर परीक्षणका लागि उभिरहेका हुन्छन्।
‘पहिले डेढ सय हुने ठाउँमा दुई हजारको लाइन हुँदा जनशक्ति त्यता पनि बढ्ने भयो,’ काफ्लेले भने।
यस्तै, पिसिआर परीक्षण गर्दा ल्याबमा पनि जनशक्ति चाहिन्छ। असामान्य अवस्था रहेकाले जनशक्ति जता पनि अपुग रहेको उनी बताउँछन्।
कतिपय इन्टर्न डाक्टर अहिले भोलेन्टियर्सको रूपमा खटिइरहेका छन्।
कलेज बन्द भएकाले अध्ययनरत् विद्यार्थी नर्सहरू बिदामा छन्।
‘पढिरहेकाहरू सिकारू हुन्छन्, उनीहरूलाई आइसियूमा राख्न भएन। त्यसकारण नीतिगत रूपमै जानुपर्ने भएकाले मन्त्रालयसँग जनशक्ति माग गरिएको हो,’ काफ्लेले भने, ‘कामकै सिलसिलामा कतिपय संक्रमित हुन सक्छन्, पालो मिलाउनुपर्ने हुन्छ। त्यसैले, जनशक्ति त चाहियो।’
शिक्षण अस्पतालले बिरामी आए भने छैन भनेर धर पाउँदैन पनि। सरकारी अस्पताल रहेकाले आउने जस्तोसुकै खाले बिरामीको पनि उपचार गर्नुपर्छ।
‘हामीलाई कोभिड छ, समस्या छ, जनशक्ति छैन भनेर बिरामीलाई फर्काउने छुट रहन्न,’ काफ्लेले भने, ‘त्यसैले हामी जनशक्ति चाहियो भनिरहेका छौं। जनशक्ति मात्रै भएर पनि हुन्न, त्यसमा लाग्ने खर्चको पनि व्यवस्थापन हुनुपर्छ।’
टिचिङ अस्पतालमा मात्र हैन देशभरिकै प्रमुख अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूको अभाव देखिन थालेको छ।
टेकु अस्पतालमा एक जना नर्सले सात वटा आइसियू बेड हेरिरहनुपरेको दाबी गरिन्।
‘एक जनाले सात वटा बेड हेरिरहनुपर्दा कस्तो हुन्छ भनेर अरुलाई के थाहा?'
अस्पताल व्यवस्थापनले भने अवस्था त्यतिधेरै नबिग्रिसकेको बताए।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने, ‘केस बढ्दै गए माग गर्छौं, अहिलेलाई ठिकै छ।’
कतिपय सरकारी अस्पतालहरू जनशक्ति अभावको कुरा माथिल्लो निकायमा सुनाउन पनि सकिरहेका छैनन्। त्यसको मार भने नर्सहरूलाई छ।
ती नर्सका अनुसार टेकुमा कोभिड उपचारका ६० बेड छन्। जसमध्ये आइसियू २३ बेड छन्। स्पेसल आइसोलेसन ५ र सामान्य आइसोलेसन ३३ बेड छन्।
२३ बेड आइसियूमा साँझको सिफ्टमा ३ जना नर्स खटाइने गरिएको छ।
नर्सहरूलाई राति १२ घन्टा, बिहान र साँझ ६-६ घन्टा खटाइने गरिएको छ।
वीर अस्पतालमा ३० बेड आइसियू छन्, जसमध्ये ८ बेड कोभिडका लागि छुट्याइएका छन्।
२२ बेड भेन्टिलेटर छन्। आवश्यकता अनुसार कोभिड र नन-कोभिडका बिरामीलाई व्यवस्थापन मिलाइने गरिएको छ।
त्यसबाहेक ४२ वटा कोभिडका साधारण बेड छन्। वीरले थप १६ बेड थप्न खोजिरहेको छ।
‘हालकै स्थितिमा चाहिँ जनशक्ति अभाव छैन, तर १६ बेड थपेपछि हामीलाई जनशक्ति चाहिन्छ,’ वीरकी निर्देशक डा. शान्ता सापकोटाले भनिन्, ‘बेड थप प्रक्रियामा छ, थप भएपछि चाहिने जनशक्ति स्वास्थ्य मन्त्रालयसँग माग्छौं।’
अन्य सेवा बन्द भएको खण्डमा भने भएकै जनशक्ति परिचालन गर्न सकिने उनले बताइन्।
‘तर, अरू सेवा बन्द हुने अवस्था नहुन पनि सक्छ, हामीकहाँ अन्य बिरामीको चाप उतिकै हुन्छ,’ उनले भनिन्।
पाटन अस्पतालले कोभिडका लागि २५० बेड तयार पारेको छ। उसँग २५ बेड आइसियू र १९ बेड भेन्टिलेटर छन्।
कोभिड-१९ का बिरामीहरूको चाप बढिरहेको अवस्थामा यहाँ भने अक्सिजनको अभाव भएको छ। पाटन अस्पतालको आफ्नो अक्सिजन प्लान्ट छैन।
‘बाहिरबाट अक्सिजन ल्याइरहेका थियौं, अक्सिजनको माग उच्च भएपछि धान्न सकिरहेका छैनौं,’ अस्पतालका निर्देशक डा. रवि शाक्यले भने, ‘सरकारसँग अक्सिजनको पर्याप्त आपूर्ति गर्न माग गरिरहेका छौं।’
यहाँ जनशक्ति अभाव नरहेको उनको दाबी छ। हाल भइरहेको जनशक्तिले नै कोभिडसँग लड्नका लागि तयार पारिएको उनले बताए।
यसबाहेक पाटन अस्पतालको आफ्नै नर्सिङ कलेज छ। त्यहाँ अध्ययनरत् नर्सहरूलाई कोभिडमा परिचालन गरिने शाक्यले बताए।
‘निषेधाज्ञा भएपछि बिरामीको चाप घट्छ, अन्यमा खटिएको जनशक्ति कोभिडमा परिचालन गर्छौं,’ शाक्यले भने।