गत कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण उत्कर्षमा पुगेपछि देशभर ६ हजार हाइ डिपेन्डेन्सी युनिट (एचडियू) बेड तयार पारिने बतायो। जसमध्ये उपत्यकाका २३ वटा अस्पतालमा मात्र एक हजार एचडियू बनाउने भनियो।
२३ अस्पतालमध्ये पाटन, वीर र टिचिङ अस्पतालले सर्वाधिक सय-सय वटा एचडियू तयार पार्नुपर्ने भयो। सोही अनुसार मन्त्रालयबाट निर्देशन पाएको यी तीन अस्पतालले नै हालसम्म एचडियू तयार पार्न सकेका छैनन्।
यतिसम्म कि, पाटन अस्पतालले त एउटा पनि नयाँ एचडियू बनाएको छैन। अहिले अस्पतालमा पहिल्यै रहेका १० वटा एचडियू मात्र सञ्चालनमा छन्।
तर मन्त्रालयको विवरणमा भने पाटन अस्पतालले सय वटै एचडियू तयार पारेको उल्लेख छ। मन्त्रालयबाट प्राप्त विवरणमा पाटनले दुई चरणमा गरेर सय बेड एचडियू तयार पारेको भन्ने छ। तर गत आइतबार अस्पतालका निर्देशक डा. रवि शाक्यले एउटा पनि नयाँ एचडियू थप नगरिएको सेतोपाटीलाई जानकारी दिए। 'पछिपछि संक्रमण नै कम भइसकेको अवस्था थियो। त्यसैले एउटा पनि आइसियू थप गरेको छैन,' उनले भने।
निर्देशक शाक्यले स्वास्थ्य मन्त्रालयको असहयोगले एचडियू बेड तयार पार्न नसकिएको बताए। ‘सुरूमा गर्नु भन्यो त्यसपछि हामी तयार छौं भन्दा त्यो बेला सहयोग भएन,' उनले भने।
यता मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै अस्पताललाई एचडियू बेड तयार पार्न आवश्यक रकम निकासा गरिसकिएको जानकारी दिए। अस्पतालहरूले एचडियू बेड संख्या बताउन आलटाल गरेपछि मन्त्रालयले तीन दिन भित्र तोकिएका अस्पताललाई एचडियू बेडको प्रगती विवरण पठाउन निर्देशन दिएको थियो। सोही अनुसार अस्पतालले एचडियू बेड संख्या पठाएका छन्।
सय एचडियू बेडमध्ये ५५ मात्र तयार पारेको वीर अस्पतालले पनि सय बेड तयार पारेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। जसमा ५५ बेड सञ्चालनमा रहेको र बाँकी ४५ बेड तयार हुने क्रममा रहेको जनाइएको छ। तर गत आइतबार अस्पतालका निर्देशक डा. सान्ता सापकोटासँग कुरा गर्दा उनले एचडियू बेड संख्या खुलाउन चाहिनन्।
उनले आवश्यक परेको अवस्थामा सय बेड एचडियू नै सञ्चालन गर्नसक्ने भन्दै आलटाल गरिन्।
यसैगरी कीर्तिपुर आयुर्वेद अस्पतालको पनि मन्त्रालयमा गलत विवरण उल्लेख छ। ५० बेड एचडियू तयार पार्न निर्देशन पाएको अस्पतालले ५० वटै तयार पारेको विवरणमा उल्लेख छ। तर अस्पतालका कोभिड संयोजक डा. जितेन्द्र श्रेष्ठले २५ वटा मात्र एचडियू तयार पारिएको जानकारी दिए।
उनले ५० बेड एचडियू थप गर्ने जिम्मा पाए पनि ठाउँ अभावका कारण २५ बेड मात्र बनाउन सकिएको सेतोपाटीलाई जानकारी दिए। त्यसमा पनि जनशक्ति नहुँदा तयार भएका एचडियूसमेत सञ्चालनमा आउन नसकेको डा. श्रेष्ठले बताए।
मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले उपत्यकामा एक हजार वटा एचडियू बनाउने भनिएकोमा ८ सयभन्दा बढी तयार भइसकेको दाबी गरे। 'एक हजारमध्ये ८ सय बढी तयार भइसकेको छ। बाँकी पनि बन्ने चरणमा छन्। केही भने जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैनन्,' उनले सेतोपाटीसँग भने।
चिकित्सकका अनुसार कोरोना संक्रमणको जटिल विरामीलाई आइसियू अभाव भएका बेला उपचार गर्नु एचडियू बेड राम्रो मानिन्छ। यसमा अक्सिजनको साहयता चाहिने विरामीलाई राखेर उपचार गर्न सकिन्छ।
सरकारले गत कात्तिकमै संक्रमण उच्च भएको बेला जटिल संक्रमितका लागि आइसियू नपुग्ने आँकालन गर्दै एचडियू बेड विस्तार गर्ने जनाएको थियो।
सुरूमा ६ हजार आइसियू बेड थप गर्ने भनिए पनि मत्रालयले पहिलो चरणमा ३ हजार बेडका लागि मात्र बजेट निकासा गरेको थियो। तर अहिले तीन हजारमध्ये एक हजार वटा पनि एचडियू तयार भएका छैनन्।