कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितको उपचार कसरी गर्ने भनेर मुलुकभरिका स्वास्थ्यकर्मी संघर्षरत छन्।
स्वास्थ्यकर्मी, सामग्री, बेड, अक्सिजनलगायतको अभावले अस्पतालहरूलाई पिरोलेको छ।
संक्रामक रोगको उपचार गर्ने देशको प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका स्वास्थ्यकर्मीले यी समस्या नभोगेका होइनन्। तर टेकु अस्पताललाई कोरोनासँग सुरूदेखि नै लडेको अनुभव र त्यहाँका स्वास्थ्यकर्मीको समर्पणले बलियो बनाएको छ।
दोस्रो लहर सुरू हुनुअघि नै पनि यो अस्पतालमा २०/२५ संक्रमितको उपचार भई नै रहेको थियो। दोस्रो लहर सुरू हुँदा बिरामीको संख्या बढ्दै-बढ्दै गयो।
अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाका अनुसार बिरामी पनि हट्टाकट्टा युवाहरू आउन थाले। जसले उनीहरूलाई झन् बढी संवेदनशील बनायो।
‘पहिले अलिक उमेर भएका संक्रमित आउँथे। सिकिस्त पनि हुँदैनथे। अहिले त भर्खरका युवाहरू भर्ना भएका छन्, उनीहरूमध्ये कतिपयको अवस्था असामान्य छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीको नाताले सबभन्दा ठूलो चुनौती हामीलाई यही छ।’
धेरैजसो ३० देखि ५० वर्षका मानिस संक्रमित भएर आउने गरेको डाक्टर बाँस्तोलाले बताए।
‘अहिले धेरैजसो संक्रमित युवा छन्। संक्रमण हुने बित्तिकै सिकिस्त हुँदै जान्छन्। उनीहरूको कोरोनासँगको संघर्षले हामी डाक्टरहरूलाई नै भावुक बनाउँछ,’ उनले भने।
यो अस्पतालमा तल्लो तहदेखि माथिल्लो तहसम्मका स्वास्थ्यकर्मी तथा कर्मचारीको जम्मा संख्या २ सय ७५ छ।
अस्पताल प्रमुख सागर राजभण्डारीका अनुसार अहिले २०/२५ जना अन्य रोगका बिरामीका लागि काम गर्छन् भने बाँकी सबै स्वास्थ्यकर्मी कोरोना संक्रमितका लागि खटिएका छन्।
यो अस्पताललाई बलियो बनाएको सबभन्दा धेरै यहाँका डाक्टर, नर्सहरूको समर्पणले नै हो। कतिपयले त लगातार २४ घण्टा काम गर्ने गरेका छन्।
दोस्रो लहर बढ्न थालेपछि अस्पतालले भइरहेकै जनशक्तिले कसरी बढीभन्दा बढी सेवा दिने भनेर छलफल गरेर योजना बनाए। सिफ्टमा काम गर्ने निर्णय गरे।
अहिले यो अस्पतालमा तीनवटा सिफ्ट चलाएका छन्। आइसोलेसनमा एकजना, आइसियुमा २ जना र कोभिड वार्डमा एक जना डाक्टर २४ सै घण्टा खटिन्छन्। यी कक्षहरूमा जनशक्ति बढाउने कुरा भइरहेको छ। अरू स्वास्थ्यकर्मीले आफ्नो आफ्नो समयमा आएर काम गर्छन्।
‘हामीले तीन सिफ्ट बनाएका छौं। सरसफाइ गर्ने कर्मचारीदेखि डाक्टर/नर्ससम्मले दैनिक ८ देखि कतिपयले २४ घण्टासम्म पनि काम गर्नु हुन्छ। कोरोना संक्रमण बढ्दै गएको छ जनशक्ति भने सीमित छ,’ डाक्टर राजभण्डारीले भने, ‘हामीले स्वास्थ्यकर्मीहरूलाई नियमित काउन्सिलिङ गर्छौं ताकि उनीहरू नआत्तिऊन्।’
कोरोनाको पहिलो लहरमा डाक्टर, नर्सहरूलाई पनि यो भाइरसको धेरै अनुभव थिएन। उनीहरू केही आत्तिएका थिए।
आफू सुरक्षित रहेर कसरी काम गर्ने भन्नेमा उनीहरूलाई पनि दुविधा थियो। यसपालि डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीहरूलाई धेरै सम्झाइ-बुझाइ गर्नु परिरहेको छैन। उनीहरू अनुभवले खारिएका छन्। आत्मविश्वास बढेको छ। काम गर्न उनीहरू आफैं अग्रसर भएका छन्। त्यसबाहेक यसपाली डाक्टरहरूलाई भत्ता र बीमा पनि गरिदिइएको छ।
‘जोखिम मोलेर काम गर्ने कर्मचारीलाई 'इन्सेन्टिभ' दिएका छौं। उनीहरूको र परिवारैको बीमा पनि छ। त्यसमाथि पहिलो महामारीमा काम गरेको अनुभव र आत्मविश्वास छ,’ राजभण्डारीले भने।
कोरोना जाँच्ने स्वास्थ्यकर्मीलाई सय प्रतिशतसम्म सरकारले इन्टेन्सिभ दिने भनेको छ। पहिला काम गरेकाले पनि भत्ता पाइसकेकाले अहिले समस्या नभएको राजभण्डारी बताउँछन्।
कोरोनाको पहिलो लहरमा स्वास्थ्यकर्मीका परिवार पनि आत्तिएका थिए। त्यो पनि ठूलो तनावको विषय हुन्थ्यो। त्यो बेला कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई घर गएर बस्न नदिने, हुलदंगा गर्ने जस्ता काम गरेर समाजले 'बहिष्कारै' गरेको थियो। त्यो बेला डाक्टर, नर्सलाई होटलमा बस्दा समेत अवरोध भएका घटनाले उनीहरूको मनोबलमा धक्का लागेको थियो।
यसपालि घरपरिवारले बुझेका छन्। समाजले पनि सावधानी अपनाए केही हुने रहेनछ भनेर बुझेको छ। त्यसले गर्दा काम गर्न सजिलो भएको डाक्टर राजभण्डारीले बताए।
उनका अनुसार अहिले त धेरैजसो डाक्टर नर्सलाई आफ्नो सिफ्ट सकाएपछि अस्पतालको गाडीले घरै लगेर छोडिदिन्छ।
आफ्नो अस्पतालमा यसपालि डाक्टरको सबभन्दा ठूलो चुनौती बिरामीको बढ्दो चाप कसरी व्यवस्थापन गर्ने र उनीहरूलाई कसरी बचाउने हो भन्ने रहेको डाक्टर बाँस्तोला बताउँछन्।
‘सिकिस्त भएर आउँछन्, राम्रो उपचार नपाए बँचाउन मुस्किल नै हुन्छ। उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या हो। कस्तो बिरामीलाई कुन ठाउँमा राखेर उपचार गर्नेदेखि बेड नभए कहाँ पठाउने भन्नेसम्मको काम गर्नुपर्छ,’ उनले भने।
अहिले डाक्टरहरूले कस्तो बिरामीलाई कसरी उपचार गर्ने भनेर प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए।
ज्वरो आउने, टाउको दुख्ने वा सामान्य श्वासप्रश्वासमा अप्ठ्यारो परेकालाई आइसोलेसनमा राख्ने हो कि आइसियूमा? अक्सिजन तलमाथि भएकालाई कहाँ राख्ने? वा गम्भीर हुँदै गए भेन्टिलेटरमा राख्नुपर्ने हो कि? यस्ता कुरा बिरामी हेरेर डाक्टरले तत्काल निर्णय गर्नुपर्ने र व्यवस्थापन गर्नुपर्ने उनले बताए।
‘आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्ने हो भने हामीले बढीभन्दा बढी बिरामीको उपचार गर्न सक्छौं,' उनले भने, 'स्थिति सामान्यबाट गम्भीर हुँदै गए आइसोलेसन आइसियू हुँदै भेन्टिलेटरमा लैजाने। गम्भीरबाट सामान्य हुँदै गए फेरि आइसियूबाट आइसोलेसनतिर फर्काउँदै डिस्चार्ज गर्ने। त्यहाँ अर्को सिकिस्तलाई पठाउने। हामीले यसरी बिरामीको व्यवस्थापन गरेका छौं।’
यो सबै आफूहरूलाई अनुभवले सिकाएको उनले बताए। त्यसबाहेक कोरोनाको उपचारमा खटिएका डाक्टरहरूले बिरामीलाई नआत्तिन सम्झाउने काम गर्छन्। पहिले कोरोना नयाँ थियो र सम्झाउनुपर्थ्यो अहिले कोरोना झन् खतरनाक छ त्यसैले सम्झाउनुपर्ने छ।
‘हामीलाई यो पहिलोपटकको अनुभवले धेरै कुरा सिकाएको छ। आफू कसरी मोटिभेटेड हुने र बिरामीको मनोबल बढाउने भन्ने कुरामा हामी आपसमा छलफल गर्छौं,' डाक्टर बाँस्तोलाले भने, 'अनुभवले हामीलाई यो लहरका बेला नहडबडाइ काम गर्न बल दिएको छ। दैनिक ८ देखि २४ घण्टासम्म काम गर्ने टिम छ। हाम्रो टिममा युवा डाक्टरहरू धेरै छन्। हामी सबै उत्प्रेरित छौं।’
अहिले टेकु अस्पतालमा २२ आइसियूमा २० जना बिरामी छन्। भेन्टिलेटरमा भने ११ संक्रमितलाई राखेर उपचार गरिएको छ। अस्पताल प्रमुख राजभण्डारीका अनुसार अहिले अस्पतालमा ६० बेड छन् भने ७० संक्रमितको उपचार भइरहेको छ।