कोरोना संक्रमितका लागि बेडको हाहाकार हुने अवस्था आए पाटन र वीर अस्तपताले कोरोना संक्रमितका लागि मात्र उपचार गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको छ।
पछिल्लो समय संक्रमण दर उच्च रहेको र अस्पताल भर्ना हुने संक्रमितहरू बढेकाले बेड अभाव हुन नदिन यी दुई अस्पतालले यस्तो तयारी गरेको हो।
पाटन अस्पतालका निर्देशक रवि शाक्यले संक्रमितका लागि बेडको हाहाकार हुने स्थिति आए अस्पतालको सबै बेड नै कोरोना उपचारका लागि प्रयोग गरिने जनाए।
'त्यस्तो अवस्था आयो भने अस्पतालको अधिकतम बेड क्षमता भनेको ६ सय ५० हो। हामी त्यो सबै नै कोरोना उपचारका लागि प्रयोग गर्छौं,' निर्देशक शाक्यले भने।
अहिले अस्पतालले २ सय ६० बेड कोरोना उपचारका लागि छुट्याएको हो। जसमा अहिले १ सय ८० जना उपचाररत छन्। यसअघि अस्पतालले संक्रमितका लागि १ सय ८० बेड छुट्याएकोमा सबै बेड भरिएपछि शुक्रबारदेखि सञ्चालनमा आउने गरी थप ८० बेड विस्तार गरेको हो।
अस्पतालमा बेड विस्तार गर्दै लगे पनि अक्सिजन उपलब्धताको भने चुनौती रहेको निर्देशक शाक्य बताउँछन्।
उनले अहिले पनि उपचाररत संक्रमितका लागि अक्सिजन अभाव हुन थालेको भन्दै पछि अस्पताललाई कोभिड अस्पताल बनाउँदा अक्सिजनको भने समस्या हुनसक्ने जनाए।
'कोभिडको उपचार भनेकै अक्सिजन नै हो। अहिले नै २ सय ६० बेड चलाउँदा अक्सिजन राम्रोसँग नभएकाले सबै बेड भर्न सकेको छैन,' निर्देशक शाक्यले भने।
उनले संक्रमण यही दरमा बढिराखे अस्पतालको आँगनमै बिरामीलाई सुताएर उपचार गर्नुपर्ने स्थिति पनि आउनसक्ने जनाए।
उनले अहिलेको संक्रमण दरले नेपालमा पनि भारतकै जस्तो हालत आउनसक्ने भन्दै उनले भने, 'त्यसका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्छ। एउटा मात्र अस्पताललाई भार भयो भने त्यो धान्न सकिँदैन।'
निर्देशक शाक्यले अहिलेको संक्रमणको स्थितिसँग जुध्न सबै अस्पतालले आफूलाई अधिकतम प्रयोग गर्नुपर्ने भन्दै आफू कोभिड अस्पताल हैन भनेर अस्पतालहरूले हात बाँधेर बस्न नहुने जनाए।
वीर अस्पतालले पनि अहिले संक्रमितका लागि छुट्याइएको बेडले धान्ने अवस्था नरहे अस्पताललाई नै कोभिड अस्पताल बनाउने गरी तयारी गरेको छ।
अस्पतालकी निर्देशक डा. शान्ता सापकोटाले तत्काललाई अस्पतालको नयाँ सर्जिकल भवनलाई संक्रमितको उपचारका लागि प्रयोग गरिने भन्दै त्यसले पनि नधान्ने अवस्था आए सबै नियमित सेवा बन्द गरेर कोरोनाको मात्र उपचार गरिने जनाइन्।
'अहिलेलाई नयाँ सर्जिकल ब्लकलाई नै प्रयोग गर्ने भन्ने छ। तर बिस्तारै अस्पतालको सबै नियमित सेवा बन्द हुन्छ,' निर्देशक सापकोटाले भनिन्, 'कोभिडका बिरामी आए अनुसार बेड बढाउँदै जान्छौं।'
उनले कोभिड अस्पताल भए नियमित ४ सय बढी संक्रमितलाई उपचार पुर्याउन सकिने जनाइन्।
अस्पतालको कुल क्षमता ३ सय बढी रहे पनि पुरानो भवनको संरचनाले गर्दा कोभिडका लागि २ सय बेडमात्र चलाउन सकिने निर्देशक सापकोटा बताउँछिन्।
'खास अस्पतालको क्षमता भनेको ४ सय बेड हो। तर भूकम्पले क्षति पुर्याउँदा अहिले ३ सय २५ वटा बेड सञ्चालनमा छन्। तर कोरोनाको हकमा त्यो संख्या पनि घट्छ,' उनले भनिन्, 'त्यहीँ पुरानो भवनमा दुई सय र नयाँ सर्जिकल ब्लकमा दुई सय बेड सञ्चालन गर्न सक्छौं।'
अहिले अस्पतालले कोभिडका लागि भनेर ७० बेड छुट्याएको छ। जसमा ५७ जना संक्रमित उपचाररत छन्।