'थौं छंगु बाखं छाय् मवल?'
तिम्रो कथा आज किन आएन?
'छ म्हं मफूगु ला मखु?'
तिमी बिरामी त परेनौ?
अघिल्लो लकडाउनमै शान्तराज शाक्यले आफ्नो परिचय कथावाचकका रूपमा बनाइसकेका थिए। ६६ वर्षीय उनी पाटनस्थित नःटोलको घरबाट लोक कथा र सांस्कृतिक कथाहरू फेसबुकमा पढेर सुनाउँथे।
ती कथामा दृश्य हुन्थेनन्। तर जुन ओज र भावले उनी कथा भन्थे, त्यसले मान्छेलाई तान्थ्यो। बिहानको नित्यकर्म सकेर फेसबुकमार्फत कथा हाल्ने समय उनले बनाएका थिए, सात बजे।
मान्छेहरू चियाको चुस्की लिँदै, कोही खाटमै ढलिमुली गर्दै उनका कथा सुन्दा हुन्! झन् उनीजस्तै पाका उमेरका साथीहरूलाई त्यसरी कथा सुन्ने बानी नै परिसकेको थियो।
त्यसैले कहिलेकाहीँ ७ बजेबाट थोरै मात्र समय घर्कियो भने पनि उनलाई फोन वा मेसेन्जरबाट सोधपुछ भइहाल्थ्यो, 'थौं छंगु बाखं छाय् मवल?'
उमेरले दिएको फुर्सद त थियो नै, लकडाउनले झनै फुर्सदिलो बनाएको थियो शान्तराजलाई। त्यसैले समय कटाउन उनी कथा सुनाउँथे। त्यसरी वाचन गरेका कथा मान्छेले यति धेरै रूचाउलान् भन्ने उनले सोचेका थिएनन्। तर मन पराए। अहिले कथा भन्ने बानी नै परिसक्यो उनलाई।
लकडाउनपछि मान्छेको व्यस्तताले कथा सुन्नेहरू घट्न थालेका थिए। त्यसैले उनले दिन बिराएर सुनाउन थाले। तर रेकर्ड गर्ने सकसक कम भएन। ४९ वटा कथा बनाएर सुनाउने समय पर्खिरहेका थिए। अहिले फेरि निषेधाज्ञा भएपछि उनी ती कथा सुनाउन सुर्रिएका छन्।
केही दिनअघि हामीले उनलाई नःटोलस्थित उनको घर क्वाथबहालमा भेटेका थियौं। यो आफ्नो परिवारको बहाल रहेको बताउँदै उनी भित्र पसे र भर्याङ उक्लिँदै आफ्नो कोठातर्फ लम्किए, 'यो करिब तीन सय वर्ष पुरानो मल्लकालीन बहाल हो। श्रीबहालको शाखा। क्वाथबहाल भनेको किल्ला रहेछ पहिले, बम-बारुद राख्ने।'
माथि कोठामा पुगेपछि लामो सास फेरेर आराम गरेपछि उनले फेरि भने, 'श्रीबहालको पाँच शाखा बहाल छन्– क्वाथबहाल, पाहाबहाल, नःबहाल, दुनेबहाल र कनकबहाल। हामीले चुडाकर्म (टुप्पी काट्ने) र पूजारी पालो बस्न श्रीबहाल जानुपर्छ। पाटनका १५ बहालमध्ये श्रीबहाल मूबहाः अर्थात मुख्य बहाल हो।'
क्वाथबहालको सबै घर आधुनिक बनिसकेका थिए। बहालको अवशेष बचाउने त्यही बीचको मन्दिरजस्तो भाग थियो जुन भने पुरानै शैलीमा निर्माण हुँदै रहेछ। सर्सती आफ्नो बहालबारे सुनाएपछि शान्तराजले आफू बसेको नःटोलबारे पनि भनिहाले, 'नः भनेको नयाँ। पाटनको मंगलबजार धेरै पुरानो बस्ती भयो, हाम्रो टोल भने पछि मात्र बनेको हो।'
'नक् टोल पनि भनिन्छ तर नेपाल भाषामा शब्दहरू छोट्याउँदै जाने चलन छ,' उदाहरण दिँदै भने, 'जस्तो कि झ्याललाई झ्याः, पसललाई पसः। पछाडिको अक्षर छोटाएर हाम्रो टोल पनि नः टोल भयो।'
यसरी उत्साहित हुँदै संस्कृतिबारे सुनाउने शान्तराजलाई सुरूसुरूमा भने संस्कृतिप्रति चासो थिएन। युवा उमेरमा एकपटक संस्कृतिविद् सत्यमोहन जोशीको अन्तर्वार्ता सुनेका थिए।
त्योबेला अन्तर्वार्ता लिनेले सोधेका थिए, 'तपाईंलाई साहित्य, संगीत, संस्कृतिमा सबभन्दा बढी चासो कुनमा छ?'
सत्यमोहनले भनेका थिए, 'मलाई संस्कृतिमा बढी चासो छ।'
त्यो सुनेपछि शान्तराजले सोचेछन्, 'के संस्कृति मन पराएको होला बुढाले?'
त्यसबेला उनलाई संस्कृति भनेको केही होइन भन्ने थियो। नखः चखः, चाडपर्व उनलाई पटक्कै मनपर्थेन। घरमा पनि अरूलाई कराउँथे, 'हिजोआजको जमानामा पनि यस्तो गर्ने? पर्दैन।'
त्यसो भन्दा उनको बुवा मुर्मुरिन्थे, 'कस्तो कांग्रेस छोरा जन्माइएछ।'
शान्तराजका अनुसार २००७ सालपछि कांग्रेसहरू सत्तामा आए, उनीहरूले चाडपर्वको विरोध गरेका थिए। त्यही भएकाले चाडपर्व नमनाउनेलाई 'कांग्रेस' भनेर गाली गरिन्थ्यो।
शान्तराजका साथीसंगतका मान्छे पनि परम्परा विरोध गर्नुपर्छ भन्ने धारमा हिँडेका थिए। जबसम्म परम्परा मान्यो, देशमा परिवर्तन गर्न सकिन्न भन्थे।
'त्यसबेला त्यस्तो विरोध गर्ने मान्छे अहिले म कुनै पनि चाडपर्व नछुटाइ गर्छु। अहिले त परिवारलाई सिथि नखः, गथां मुगः, सबै गर्नुपर्छ भनेर जोड दिन्छु,' उनले भने, 'त्योबेला अल्पबुद्धि थियो, चेतना थिएन। उमेर बढ्दै गएपछि संस्कृतिको महत्व बुझ्दै गएँ।'
उनको परिवारको पुर्ख्यौली पेसा काठमा बुट्टा कुँद्ने हो। तर उनका आमाबुवाले 'काठको काम एकदम गाह्रो छ, छोरालाई नगराउने' भनेछन्। पढाइमा मात्र ध्यान दिन लगाए।
२०३७ सालमा शान्तराजले कृषि विभाग हुँदै ०७१ सालसम्ममा पशुसेवा विभागमा काम गरे। ३४ वर्ष प्रशासन शाखामा जागिर खाएपछि अधिकृत भएर अवकाश पाए। जागिरे छँदै शान्तराजले फेसबुकमा खाता खोलेका थिए, सन् २००७ मा। त्योबेला इन्टरनेट अहिलेजस्तो थिएन। आफूले राम्ररी नजानेकाले साथीलाई इमेल र फेसबुक खोल्न लगाए।
'इमेलबाट चिठी पठाउन जान्दा पनि ओहो! मैले त केके न जानेजस्तो भयो,' उनले सम्झिए, 'अनि फेसबुकबाट धेरै त पुराना सांस्कृतिक फोटा राख्न थालेँ।'
त्यसरी फोटो राख्न थालेपछि साथीहरूले उनलाई प्रतिक्रिया दिन्थे, 'यो शान्तराज पनि पण्डित हेमराज शाक्य जस्तै भइसक्यो। पुराना कुरा मात्र लेख्छ, पुरानो फोटो मात्र राख्छ।'
हेमराज पाटनका नाम चलेका सांस्कृतिक अध्येता–लेखक थिए। उनीसँग तुलना हुँदा शान्तराज दंग पर्थे। शान्तराज ती फोटा फेसबुकमै खोज्थे। अहिले त्यही फेसबुकमा करिब पाँच हजार साथी भइसकेका छन् उनका।
पुराना कुरा सुनाउँदा उनी उत्साहित भइसकेका थिए। आफूले त्यस बेलादेखि संकलन गरेका फोटा देखाउन उनलाई सकसक भइसकेको थियो। त्यसैले नजिकैको कम्प्युटरसँगैको हार्डड्राइभ ल्याएर देखाउँदै भने, 'यो एक टिबीको ड्राइभमा सबै फोटो सुरक्षित छ।'
जागिर छुटेपछि उनले माघ २, भुइँचालो दिवस अवसर पारेर ब्रह्मसमशेरको किताब 'नेपालको महाभूकम्प' को केही अंश पढेर फेसबुकमा हालेका रहेछन्। किताबकै फोटाहरू स्क्यान गरेर उनले करिब ११ मिनेटको भिडिओ पनि बनाए। त्यसरी नेपालीमा लेखिएको कुरालाई नेपाल भाषामा अनुवाद गरेर पढेर सुनाउँदा राम्रै प्रतिक्रिया पाए।
शान्तराजको बढी चासो भने लोक साहित्यमा थियो। त्यसपछिका समय फाटफुट्ट कथा सुनाउँदै, कथा-उपन्यास लेखन र अनुवादमा बिताए। साहित्य यात्राबारे बताउँदा फेरि उनलाई आफ्ना किताब देखाउने सकसक भइसकेको थियो। त्यसैले अर्को कोठामा गएर ६-७ वटा किताब बोकेर ल्याए।
त्योसँगै ल्याए आफूले लकडाउनमा सुनाएका कथाका किताबहरू। त्यसमा करुणकर बैद्य, प्रेमबहादुर कसा, चित्तधर हृदय लगायतका किताब थिए। सुरूमा उनले सुनाएको लोक कथा थियो, प्रेमबहादुरको किताब 'न्यँकँ बाखं'को कथा 'कांयातज्ञां'। त्यसमा एक दृष्टिविहीनलाई दिइएको शिक्षाबारे वर्णन थियो।
त्यसपछि नछुटाइ उनले लोककथा सुनाउँदै गए। कतिपयले त्यसमा प्रतिक्रिया पनि दिन थाले, 'मच्छिन्द्रनाथको कथा पनि पढ न।'
फेसबुककै एक अपरिचित 'चित्त नेवाः' नाम गरेका साथीले मच्छिन्द्रनाथको कथा छोटकरीमा लेखेका रहेछन्। उनले अनुमति लिएर त्यो कथा पढे जसलाई धेरैले मन पराए।
त्यसपछि उनी संस्कृतिका थप कथा सुनाउन कस्सिए। सिथि नखः, नेवा छेँ, लगायत कथा नेपाल भाषामा लेख्न अनि पढेर सुनाउन थाले। शान्तराजले बजारमा हत्तपत्त नपाइने किताब पनि फोटोकपी गरेर संकलन गरिराखेका छन्। अन्य पत्रपत्रिकामा भेटिएका लेख–रचना खोज्ने र साभार भनेर नामसमेत दिएर अनुवाद र वाचन गर्छन् उनी।
कथा सुनाउन उनी रेकर्ड र भिडिओ माध्यम प्रयोग गर्छन्। छोराले 'मुभी-मेकर' एप चलाउन सिकाइदिएपछि त्यसमा फोटो र आवाज राखेर बनाउन थाले। अहिले 'फिल्मोरा' चलाउन सजिलो लागिरहेको छ, रेकर्ड गर्न मोबाइल नै सजिलो।
'रेकर्ड गर्न मात्र गाह्रो हो, पढेर चित्त बुझेन भने हरफ दोहोर्याउनु पर्छ,' उनले भने, 'पढेपछि त सरर गाँस्ने त हो।'
शान्तराजले पढ्दा धेरैले 'गज्जबको स्वर छ' भनेर उनलाई प्रतिक्रिया दिन्छन्। त्यो कस्तो खालको आकर्षण हो भनेर उनलाई थाहा छैन। एकपटक त उनले आफ्नो परिवारलाई पनि सोधेर हैरान पारेछन्, 'सबैले राम्रो छ भन्छन्, के राम्रो छ त्यस्तो?'
सबैले 'थाहा छैन' भनिदिए।
उनी बालसुलभ प्रश्न हामीलाई पनि सोध्छन्, 'मेरो आवाजमा त्यस्तो के छ?'
एकपटक उनले रेडियोमा काम गर्ने साथीसँग तालिम लिने पनि सोचेका रहेछन्। साथीले उल्टै भनेछन्, 'तिमीले हामीसँग तालिम लिन आउनुपर्छ र? यस्तो गज्जब कथा वाचन गर्छौ, बरू हामीले तिमीसँग तालिम लिनुपर्ला।'
कतिपय कुरा अनुभूति हुन् जसलाई शब्दले बताउन सकिन्न भन्ने उनी बिस्तारै बुझ्दैछन्। त्यही अनुभव गर्नेहरूले अहिले उनको स्वरमा आफ्नो लेख पनि पढिदिन आग्रह गर्न थालेका छन्।
'म नयाँ हो, तपाईंको शब्दमा कथा सुन्न मन छ, पठाइदिनुस् न भन्छन्। उनीहरूलाई प्रोत्साहन दिनुपर्यो, खुसी पनि हुन्छन् भनेर पढ्ने सोचेको छु,' उनले भने।
यसरी कथा वाचन गर्दा उनको फुर्सदिलो समय सिर्जनात्मक भएको छ। नभए त्यत्तिकै झ्यालमा झोक्राएर सडकमा गुड्ने गाडी हेर्यो, बस्यो। मनमा अनेक कुरा खेल्छन्। काम नभएपछि घरमा समेत कलहको स्थिति सिर्जना हुने उनको ठम्याइ छ।
पछिल्लो समय शान्तराजलाई नेपालीमै कथा सुनाउन आग्रह गर्नेहरू पनि छन्। नेपालीमा सुनाउँदा धेरै श्रोतामाझ पुग्छ भन्ने उनले राम्ररी बुझेका छन्। तर आफ्नो मातृभाषा नेपाल भाषाको पकड बलियो छ उनको। आफूले जुन भाषा बोलिरह्यो, त्यही सजिलो!
'बोल्दा अप्ठ्यारो जस्तो हुन्छ,' नेपालीमा बोल्न जाने पनि सहज मान्दैनन् उनी, 'पढ्ने इच्छा भएर पनि नसकेर नबोलेको, मेरो उच्चारण नै मिल्दैन। जसरी नेपाल भाषा नबोल्नेलाई पढ्न गाह्रो हुन्छ मलाई पनि नेपाली त्यस्तै हुन्छ।'
त्यसैले आफूलाई मनपर्ने लेख नेपालीमा भए पनि नेपाल भाषामा अनुवाद गर्न सजिलो ठान्छन् उनी। आफ्ना पछिल्ला पुस्तालाई उनले नेपाल भाषा सिकाएका त छन् नै, उनीहरूको नाम पनि नेपाल भाषामा राखेका रहेछन्।
ठूला छोरा– न्हूजः (सुर्वण किरण), माइलो– यजु (प्रिय), यजुका छोरा– नुगः (मुटु), छोरी– मतिना (प्रेम), मतिनाकी छोरी– निभाः (घाम), मतिनाका छोरा– नीलः (चोखो पानी)।
पछिल्लो समय नेपाल भाषा लोप हुँदै गएकोमा चिन्ता पनि छ शान्तराजलाई।
'भाषा संरक्षण गर्ने कि लोप गर्ने, सरकारसँगै हाम्रो पनि हातमा हुन्छ। संरक्षण गर्ने चेत भएन भने हराउँदै जान्छ,' उनले भने, 'त्यसलाई प्राथमिकता र प्रोत्साहन दिइएन भने धेरै कुरा हामीले गुमाउँछौं। त्यसैले भाषा जोगाउन अहिले संघर्ष पनि चलिरहेकै छ।'
शान्तराजको कथा वाचन श्रृंखला पनि भाषा संरक्षणकै हिस्साभन्दा फरक पर्दैन। अहिले त उनी त्यही दिनको प्रतीक्षामा छन् जब मान्छेहरूले फेरि सोध्छन्, 'थौं छंगु बाखं छाय् मवल?'