बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कर्णाली प्रदेश अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भयो।
चार जनाको कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो भने दुई जनाको इमरजेन्सी कक्षमा मृत्यु भयो।
प्रदेश अस्पतालमा मृत्यु भएका ६ जनासहित कर्णालीमा २४ घण्टामा ८ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार दैलेख र रुकुम पश्चिममा पनि एक-एक जनाको मृत्यु भएको छ।
यो संख्या अनुसार हाल कर्णालीमा कोरोना संक्रमणबाट मृत्युदर तीव्र छ। यो संख्या अझ धेरै बढ्ने कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेल बताउँछन्।
‘हाम्रो प्रदेश अस्पतालभित्रै अफिसियल मृत्युदर हेर्ने हो भने अवस्था भयावह छ,’ डा. पौडेलले भने, ‘अहिलेको यो दरलाई हेर्ने हो भने त अबको केही दिनभित्र दैनिक १०-१५ जनासम्म दैनिक मृत्युदर हुने देखिन्छ, हामी त्यस अनुसार तयार हुनुपर्ने अवस्था छ।’
डा. पौडेलका अनुसार कोरोनाका यति गम्भीर बिरामी आउँछन् कि, इमरजेन्सीमा भर्ना गरेका बिरामीको कोभिड अस्पताल नल्याउँदै मृत्यु हुन्छ। अप्ठ्यारो परिस्थितिका बिरामीहरूलाई सुरुमा इमरजेन्सीमा राखेर उपचार गरिन्छ। उनीहरूको कोरोना परीक्षणका लागि स्वाब पठाइन्छ। रिपोर्ट नआउँदै मृत्यु भइसक्छ।
डा. पौडेलका अनुसार कर्णाली प्रदेश अस्पतालमा बिहीबार बेलुका दुई जना अप्ठ्यारो परिस्थितिका बिरामी आए। उनीहरूको उपचारसँगै स्वाब संकलन गरी ल्याबमा पठाइयो। उनीहरूको इमरजेन्सीमै मृत्यु भयो। रिपोर्ट पनि पोजिटिभ आयो।
कतिपय बिरामीहरू अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु हुने गरेको उनले बताए।
कर्णाली प्रदेश अस्पतालमा बिहीबारसम्म ३५ जना बिरामी छन्। बेड संख्या भने २५ वटा छ। कतिपयलाई भुइँमै राखेर अक्सिजन दिइएको छ। बिरामीहरू सबैको अवस्था गम्भीर रहेको डा. पौडेलले बताए।
जनशक्ति अभाव
कर्णाली प्रदेश अस्पतालमा जनशक्तिको एकदमै अभाव छ। सधैं जनशक्तिको अभाव हुने प्रदेश अस्पतालमा कोरोनाका बेला यो समस्या झनै बढेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले बताए। ‘हामीकहाँ जनशक्ति अभाव त सधैं छ, तर यो बेलामा झन् गाह्रो भयो,’ उनले भने।
खासमा एक जना स्वास्थ्यकर्मीले तीन जनासम्म बिरामी हेर्नुपर्ने हो। अहिले कर्णाली प्रदेश अस्पतालमा तीन जना स्वास्थ्यकर्मीले ३५ जना कोरोनाका बिरामीहरूलाई हेर्नुपरेको कोरोना फोकल पर्सन डा. पौडेलले बताए।
अभाव भएको जनशक्ति पूर्ति गर्नका लागि नयाँ विज्ञापन गर्नुको विकल्प नरहेको उनी बताउँछन्। ‘हाम्रो अस्पतालमा ओपिडी सेवाबाहेक अरु सबै सेवा सञ्चालनमा छन्, यसले गर्दा पुराना कर्मचारीहरू यसैमा व्यस्त हुन्छन्,’ डा. पौडेलले भने, ‘अब यस्तो अवस्थामा नयाँ कर्मचारी ल्याउनुबाहेक अरु उपाय नै छैन।’
अक्सिजनको समस्या टर्ने
कर्णाली प्रदेश अस्पतालमा देखिन थालेको अक्सिन अभाव अब टर्ने भएको छ। अस्पतालका अनुसार पहिले एक जना सप्लायर्सले मात्र अक्सिजन आपूर्ति गर्दै आएकोमा अब दुई जना सप्लायर्सले गरिरहेका छन्।
अबको केही दिनभित्र अस्पतालको आफ्नै अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउने डा. पौडेलले बताए।
‘हामीले अस्पतालको पुरानो भवनमा कोभिड अस्पताल सारेर त्यहाँको सेवा नयाँ भवनमा सार्न लागेका छौं, त्यसपछि हाम्रोमा डेढ सय जनासम्म कोभिडका बिरामी राख्ने मिल्ने ठाउँ हुन्छ,’ उनले भने, ‘बेड मात्र भएर भएन, हामीलाई काम गर्ने मान्छे पनि चाहियो। प्लान्ट सञ्चालन भयो भने अक्सिजन पनि अभाव हुन्न।’
हरेक दिन फोन आउँछ
कर्णाली प्रदेशको मध्यविन्दूमा भएकाले प्रदेश अस्पतालमा बिरामी ल्याउन पायक पर्छ। यसले गर्दा हरेक दिन अस्पतालका डाक्टर र प्रशासनलाई बिरामी लिइदिन फोन आउने गरेको डा. पौडेलले बताए।
त्यो फोन आउने भनेको जिल्लाका अस्पतालहरूबाट हो। सकेसम्म जिल्ला अस्पतालहरूमै बिरामीहरूलाई राख्ने व्यवस्था मिलाउन आग्रह गर्ने गरिएको डा. पौडेलले बताए।
‘हरेक दिन हामीलाई फोन आउँछ, सकेसम्म जिल्ला अस्पतालहरूलाई बिरामी उतै राख्ने व्यवस्था गर्नुस् भन्ने गरेका छौं। प्रदेश अस्पतालबाट पनि आजसम्म बिरामी त फिर्ता पठाउनु परेको छैन,’ डा. पौडेलले भने, ‘बिरामीलाई घरै बस भनेर भन्नुपर्ने अवस्था पनि छैन। केही समयपछि बिरामी फिर्ता गर्नुपर्छ कि जस्तो लागेको थियो। मृत्युदर बढेपछि त्यो बेडमा नयाँ बिरामी राख्न मिलेको छ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै अभाव छैन
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने अहिलेसम्म कोभिड बिरामीका लागि आवश्यक पर्ने कुनै कुराको अभाव भएको छैन।
प्रतिष्ठानको कोभिड अस्पतालमा काम गरिरहेका डा. राजीव शाहका अनुसार अहिले प्रदेश अस्पतालमा ७ जना कोभिडका बिरामी छन्। त्यसमध्ये चार जनालाई अक्सिजन दिएर उपचार गरिएको छ।
‘हामीले लक्षण नभएका बिरमीहरुलाई भर्ना लिएका छैनौं, त्यस्तो संक्रमितहरुलाई स्थानीय तहले नै व्यवस्थापन गर्छन्,’ डा. शाहले भने, ‘केही समस्या भए हाम्रो हटलाई नम्बर हुन्छ, त्यसमा फोन गरेर डाक्टरहरूसँग कुरा गर्न मिल्ने व्यवस्था छ। ल्याउनुपर्ने अवस्था आयो भने पनि भ्यान पठाएर ल्याउँछौं।’
उनका अनुसार अहिले कोभिड अस्पतालका लागि आवश्यक जनशक्ति, औषधि, अक्सिजन, बेडको कुनै अभाव छैन। केही संख्यामा आवश्यक भएका जनशक्तिको लागि विज्ञापन पनि खुलाइसकिएको उनले बताए।
उनका अनुसार प्रतिष्ठानमा २१५ वटा सिलिन्डर अक्सिजन छ। त्यसमध्ये पनि १०० वटा कोभिडको लागि भनेर छुट्याइएको छ।
मास्क, स्यानिटाइजर, पिपिइलगायतका सामग्री, औषधि पनि एक महिना पुग्नेगरी स्टक राखिएको डा. शाहले जानकारी दिए। ‘अहिलेलाई एक महिनाका लागि औषधि र अरु स्वास्थ्य सामग्रीहरू पनि स्टक छ, हामीले अरु डेढ महिना पुग्ने गरी खरिद प्रक्रिया पनि सुरू गरेका छौं,’ उलने भने।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख्य समस्या भनेको विद्युतको छ। प्रतिमिनेट ३९० लिटर अक्सिजन उत्पादन गर्न सकिने प्लान्ट छ। तर यसका लागि चाहिने विद्युत छैन। हाल नेपालगञ्जबाट अक्सिजन ल्याउने गरिएको छ।
‘७६ केभीए क्षमताको जेनरेटर छ, त्यो जेनरेटर चलाउँदा प्रतिघण्टा ६० लिटर इन्धन खर्च हुन्छ। त्यति गर्दा पनि दिनमा ५-६ वटा सिलिन्डर अक्सिजन उत्पादन हुन्छ,’ डा. शाहले भने, ‘जेनरेटरले प्लान्ट चलायो भने विद्युतबाट हुने अरु काम ठप्प हुन्छ।’
अक्सिन प्लान्ट सञ्चालका लागि ‘अक्सिजन बुस्टर विथ पाइपलाइन’ खरिद गर्न लागिएको उनले बताए। यसका लागि टेण्डर पनि भइसकेको छ। बुस्टरबाट प्लान्ट सञ्चालन गर्दा ३०-४० सिलिन्डर दैनिक अक्सिजन सिलिन्डर भर्न सकिने उनले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिडका बिरामीका लागि मात्र १२० वटा बेड छन्। त्यसमध्ये २४ वटा एचडियु, १२ वटा आइसियु र १५ वटा भेन्टिलेटर रहेको डा. शाहले बताए।