कर्णाली प्रदेश अस्पतालमा रहेको कोभिड-१९ अस्पतालमा इञ्चार्जको रूपमा काम गर्ने हेल्थ असिस्टेन्ट (एचए) सपना पहाडीलाई एकछिन फुर्सद छैन। अस्पतालका कुरूवाहरू, आफ्नो नेतृत्वमा काम गर्ने कर्मचारीहरू, कोभिड अस्पतालमा आवश्यक सामग्रीको व्यवस्थापन गर्नु उनको मुख्य काम हो।
यसका अलावा उनले गर्नुपर्ने अरू पनि थुप्रै काम छन्। चिकित्सकहरूसँग समन्वय गर्ने, स्टाफहरू व्यस्त हुँदा बाहिर भएका कोभिडका बिरामीको ज्वरो नाप्नेसम्मका कामले पनि उनलाई झन् व्यस्त बनाएको छ।
एकातिर जनशक्तिको अभाव, त्यसैमाथि बेड संख्या भन्दा धेरै बिरामी हुँदा इञ्चार्ज सपनामात्र होइन कोभिड अस्पतालमा काम गर्ने सबैको दैनिकी अनपेक्षित बनेको छ।
भनेको समयमा खाना–खाजा खाने समय पनि उनीहरूसँग छैन।
‘हामीले खाना पनि यहीँ खान्छौं, भोक लागेको बेला खान पाइन्न। आफ्नो क्वार्टरमा गएर खाने त झन् फुर्सद हुन्न,’ कोभिड अस्पतालमा काम गर्ने स्टाफ नर्स संगीता महताराले भनिन्, ‘खाना खाँदा डर पनि उत्तिकै लाग्छ, खाना–खाजा खानुको ५ मिनेट अघिसम्म कोरोनाको बिरामीको लागि काम गरेका हुन्छौं।’
कहिलेकाहीँ बिहानको खाना नखाएर सिधै दिउँसोको खाजा खाने गरेको उनले बताइन्।
बिरामीलाई छोड्नै नमिल्ने अवस्था आउँदा तयार भएर आइसकेको खानासमेत खान नमिलेको संगीताको अनुभव छ।
‘बिहान १० बजे खाना आउँछ, कुनै दिन त काम गर्दैगर्दा दिउँसोको २ बजिसकेको हुन्छ,’ उनले भनिन्, त्यतिबेलासम्म त खाजा पनि आइसक्छ, अनि खाना होइन अब खाजा खाऔं भन्ने हुन्छ।’
वीरेन्द्रनगरका संगीता र सपनाले सुरूमा कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा बसेर काम गरेका थिए।
२०७६ चैत ६ गते सामाजिक विकास मन्त्रालयको विज्ञापनबाट करार सेवा नियुक्त भएका उनीहरू त्यसयता नजिकैको घर छोडेर क्वार्टरमा बस्नुपरेको छ।
अघिल्लो वर्षका तीज, दसैं, तिहारजस्ता महत्वपूर्ण पर्वहरू उनीहरूले क्वार्टरमै मनाए। दोस्रो चरणको कोभिड सुरू हुनुभन्दा केही समयअघि संक्रमण दर मत्थर भएका बेला भने उनीहरू केही दिन घर गएर बस्न पाएका थिए।
‘नजिकै घर भएर पनि जान पाएका छैनौं, महत्वपूर्ण पर्वहरू परिवारको साथमा मनाउन पाएनौं,’ संगीताले भनिन्,‘अघिल्लो वर्षको जस्तै संक्रमण रहिरह्यो भने यो वर्ष पनि हाम्रो हालत यही त हुने होला।’
अघिल्लो वर्षको भन्दा अहिले कामको चाप र बिरामीको संख्या दुई गुणा रहेको इञ्चार्ज सपना बताउँछिन्।
अहिलेको अवस्थामा कुन योजनामा कसरी काम गर्ने भन्ने पनि सोच्न नसकिएको उनले बताइन्।
‘एक त जनशक्तिको कमी, त्यसमाथि बिरामी पोहोरको भन्दा दुई गुणा! व्यवस्थापनामा एकदमै गाह्रो भएको छ,’ उनले भनिन्।
उनका अनुसार अहिले कोभिड अस्पतालमा काम गर्ने कर्मचारीहरू उनीसहित १५ जना छन्। बिरामीको संख्या भने ४४ जना छ।
कोभिड अस्पतालका कर्मचारीले ८ घण्टा ड्युटी गर्न थालेको एक सातायता मात्र हो। यसअघि दिनरात नभनी काम गर्नुपरेको थियो।
‘सुरूसुरूमा त कर्मचारी नहुँदा २४ घण्टा पनि काम गर्यौं, कर्मचारी थपिँदै गर्दा केही दिनसम्म १२ घण्टनासम्म ड्युटी गर्यौं,’ इञ्चार्ज सपनाले भनिन्, ‘केही दिन अघिसम्म पनि हामीले १२ घण्टा काम गरेका थियौं, त्यसयता मात्र हो ८ घण्टा काम गर्न थालेको।’
अहिले १३ जना कर्मचारी हुँदा समेत व्यवस्थापन गर्न सकस भइरहेको उनले बताइन्।
‘आरामको कल्पना नगरे पनि भयो,’ उनी भन्छिन्, ‘जुन दिन आज सुत्न पाइन्छ कि जस्तो लागेको हुन्छ, त्यही दिन फेरि समस्या भएका बिरामी आइहाल्छन्। हाम्रो निद्राभन्दा बिरामीको ज्यान ठूलो भनेर काम गर्छौं।’
उनीहरूलाई घरबाट दिनमा ४/५ पटक फोन आउँछ। कत्तिको अप्ठ्यारो भएको छ, कस्तो छ भनेर बारम्बार घरबाट सोधीखोजी भइरहन्छ।
‘तँलाई कस्तो छ, गाह्रो छ भने जागिर छोड्दे न त भनेर पनि बाबाआमाले भन्नुहुन्छ,’ संगीताले भनिन्।
सपनालाई सुरूमा त जागिर छोड्दिम् जस्तो नलागेको पनि होइन। आफैंलाई पेसामा जिम्मेवार बनाउने प्रयास गर्दागर्दै उनलाई आफ्नो भन्दा पनि बिरामीको चिन्ता लाग्न थालिसक्यो।
‘सुरू त आफ्नो ज्यानको चिन्ता लागेर छोड्दिम् जब जस्तो लाग्थ्यो, अहिले चाहिँ बिरामी हेर्ने बानी बस्यो,’ उनी भन्छिन्, ‘अब छोड्यो भने बिरामीलाई आफूले दिएको सेवा छुट्ला कि भन्ने चिन्ता पो लाग्छ त!’
यही कारणले गर्दा आफूले व्यक्तिगतभन्दा पनि पेशागत रूपमा बढी जिम्मेवार भएको महसुस गरिरहेको उनी बताउँछिन्।
कोभिड अस्पतालका कर्मचारीहरूलाई कुनै बेला त यतिसम्म रिस्क लिनुपर्छ कि, हातमा पञ्जा समेत नलगाएर बिरामीकहाँ पुग्नुपर्ने हुन्छ।
‘भित्र बिरामी आत्तिएर छट्पटाइरहेका हुन्छन्, पिपिई लगायतका सामग्री लगाउन १५ मिनेट लागिहाल्छ,’ इञ्चार्ज सपना भन्छिन्, ‘बिरामी आत्तिएको बेला आफूलाई कोरोना सर्छ कि जस्तो पनि लाग्दो रहेनछ। सिधै बिरामीकहाँ गइहालिन्छ।’
हेल्थ असिस्टेन्ट (एचए) जीवानन्द पाण्डे पनि कर्णाली प्रदेश अस्पतालकै कोभिड अस्पतालमा काम गर्छन्।
एक हप्ताअघि उनको ‘नाइट ड्युटी’ थियो। राति ९ बजे खाना आइसकेको थियो तर उनले समयमै खान पाएनन्, भोकभोकै १ बजेसम्म काम गरे। राति १ बजेमात्र अघिल्लो दिन ९ बजे आएको बेलुकाको खाना खान पाए।
‘हामी केही साथीहरूले बेलुकाको खाना पनि राति एक बजे खाएका थियौं,’ उनले भने, ‘यस्तो समय नमिल्ने कुरा त हामीलाई कति छ कति, बिरामी धेरै भएकाले यो अवस्था आएको हो।’
कोभिड अस्पतालमा काम गर्ने उनीहरूको अर्को समस्या पनि छ- त्यो हो नियुक्ति बिनाको काम गर्नु।
२०७७ चैत मसान्तमा उनीहरूको करार सम्झौता सकिएको छ। अहिले उनीहरूले मौखिक रूपमा ‘काम गर्नुस्, हामी तपाईंहरूलाई व्यवस्था गर्छौं’ भनेको भरमा काम गरिरहेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयले उनीहरूलाई कोभिड अस्पतालमा खटाएको हो।
‘काम त रिस्क लिएर गरिरहेका छौं, अहिले कोरोनासँग हामी नै डराएर पनि भएन,’ पाण्डेले भने, ‘तर हामीलाई काम गर्न हौसला मिल्ने आधार नियुक्ति र थप सुविधा हो, त्यो व्यवस्था गरिएको छैन।’
रातदिन नभनी काम गरिरहेका आफूहरूलाई सम्बन्धित निकायले पनि कदर गरोस् भन्ने लागेको कोभिड अस्पतालका इञ्चार्ज सपना बताउँछिन्।
‘सुरूको तीन महिनामात्र हामीले कोभिड भत्ता पाएका हौं, त्यसयता केही पनि व्यवस्था गरिएको छैन। नियुक्ति पनि छैन,’ उनले भनिन्, ‘हामीलाई सरकारले तोकेको थप सुविधा दिएर भए पनि कदर गर्नुपर्थ्यो।’
कर्णाली प्रदेश अस्पतालका प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) डा. डम्मर खड्काका अनुसार कोभिड अस्पतालमा काम गर्ने नियुक्ति नभएका कर्मचारीहरूको करार सम्झौता थप्न पत्राचार गरिएको छ।
जनशक्ति अभाव भएको बेला जेनतेन धानेका कर्मचारीलाई निराशाजनक अवस्थामा नराखिने उनले बताए।
‘उहाँहरू पुरानो कर्मचारी हो, कोभिडको बारेमा धेरै अनुभव छ,’ डा. खड्काले भने, ‘यदि नयाँ ल्याउनुपर्यो भने सिक्न पनि समय लाग्छ, त्यसको सट्टा उहाँहरूलाई नै करार सम्झौता हुन्छ। हामीले मन्त्रालयलाई पत्राचार गरिसकेका छौं।’