ससुरा र बुहारी अस्पतालबाहिर कुरिरहेका छन्।
ससुरा प्रतीक्षालयको एउटा कुर्सीमा बसेर लगातार हातमा स्यानिटाइजर लगाइरहेका छन्। बुहारी भने घरी कुर्सीबाट उठेर फोनमा कुरा गर्छिन्, घरी अस्पतालका कर्मचारीसँग कुरा गर्न खोज्छिन्। उनका हात काँपिरहेका छन्। छटपटी दुबैलाई उत्तिकै देखिन्छ।
सोमबार बिहान कर्णाली प्रदेश अस्पतालको ‘कोभिड अस्पताल’ मा देखिएको यो छटपटी कोरोनाबाट मृत्यु भएका चिङ्गाड गाउँपालिका-२ का प्रेम बिकका बुबा र भाउजुको हो।
अस्पतालबाट शव लिन आएका शववाहन र सेनाको ट्रकलाई उनका बुवा सेते कामीले नियालिरहेका थिए।
‘लास त अब यसैले लाने होला,’ सेनाको ट्रक देखाउँदै उनले भने, ‘हामी केमा जाने हो, गाडी बन्द छन्। रिजर्भ गरी लैजाने क्षमता हाम्रो छैन।’
उनीहरूलाई अर्को पनि चिन्ता थियो- लास जलाउने चिता कसरी बनाउने? यसैका लागि प्रेमकी भाउजु कमलाले बारम्बार आफन्तलाई फोन गरिरहेकी थिइन्। उनका घरबाट आफन्त आउन सक्ने सम्भावना थिएन।
उनले छिन्चुमा रहेका आफन्तलाई चिता बनाउन सहयोग गरिदिन आग्रह गरिन्। त्यहाँबाट भेरी नदीमा पुगेर आफन्तले चिता बनाइदिए। नेपाली सेनाले लिएर उनका देवर प्रेमको शव त्यसैमा जलाइदियो।
चार महिनाअघि प्रेम भारतको गुजरात प्रान्तको राजकोटमा मजदुरी गर्न गएका थिए।
त्यहाँ कोरोना महामारीले विकराल रूप लिएपछि उनी नेपाल आए। वैशाख ४ गते उनी घर पुगेका थिए।
घरमा प्रेमका २ छोरी छन्। एक छोरी ९ वर्षकी भइन्। अर्की ९ महिनाकी। उनलाई ज्वरो, खोकी भएकाले घरमा कसैलाई नछोएर अलग्गै बसेका थिए।
गाह्रो हुँदै गएपछि परिवारले घरमै स्वास्थ्यकर्मी बोलाएर उपचार गर्ने प्रयास गरे।
त्यसले कुनै पार नलागेर वैशाख १२ गते कर्णाली प्रदेश अस्पतालमा ल्याइएको थियो।
‘साह्रै गाह्रो भयो, बाटोमा ल्याउँदा पनि मर्लाजस्तो अवस्था भएको थियो,’ प्रेमका बुवाले भने, ‘कोरोना भएको रहेछ, छोरालाई लगिहाल्यो नि!’
आइतबार राति मृत्यु भएका प्रेम २६ वर्षका मात्र थिए। उनका दुई दाजुभाइ छन्। भारतमै गएका उनीमध्ये भाइ घर आइसकेका छन्। दाइ आउन लागेका छन्।
‘कोरोना बढेको छ भनेर बच्न घर आउनुभयो, यहाँ पनि यही रोगले लग्यो,’ कमलाले भनिन्। प्रेमलाई यसअघि कुनै पनि समस्या नभएको उनले बताइन्।
छोरी सानी भएकाले अस्पतालमा प्रेमलाई सहयोग गर्न श्रीमती आउन पाइनन्। उनका भाउजु र बुवा कुरूवाका रूपमा अस्पताल आएका थिए।
‘हामी गतिलो उब्जनी नहुने जग्गामा कृषि गरी जिविका चलाउने मान्छे हौं, छोराहरू भारत गएर अलिअलि पैसा कमाएर लत्ताकपडा गर्थे,’ प्रेमका बुवाले भने, ‘कलिली बुहारी छ, सानी नातिनी छिन्। उनीहरूलाई त अब आपतै पर्ने भयो।’
अक्सिजन नपाएरै हुन्छ बिरामीको मृत्यु
कर्णाली प्रदेश अस्पतालमा भर्ना भएका प्रेमको आठौं दिनसम्म अक्सिजनकै भरमा उपचार भइरहेको थियो। प्रदेश अस्पतालमा शनिबार रातिदेखि अक्सिजनको खोसाखोस हुन थालेको थियो। नेपालगञ्जबाट ल्याउनु पर्ने अक्सिजन आपूर्तिमा ढिलाइ हुनु र बिरामी धेरै हुनुले प्रदेश अस्पतालमा अक्सिजन अभाव देखिएको थियो।
आइतबार साँझ प्रेमलाई दिइएको अक्सिजन सकिनै लाग्यो। उनकी भाउजु अक्सिजनको सिलिन्डर लिन बाहिर गइन्। सिलिन्डर ल्याउने धेरै प्रयास गरिन्, तर पाइनन्।
‘बाबुलाई धेरै अक्सिजन चाहिन्थ्यो, सिलिन्डर नै नपाउने भएकाले कमै दिने गरिएको थियो,’ कमलाले भनिन्, ‘उहाँको सिलिन्डरको अक्सिजन सकिएपछि अर्को सिलिन्डर लिन भनेर बाहिर गएकी थिएँ, भित्र आउँदा त मृत्यु भइसकेछ।’
बाहिर सिलिन्डर खोसाखोस थियो। कमलाले आफ्ना देवरका लागि सिलिन्डर दिन बिन्ती गरिन्।
‘सबैको समस्या मेरोजस्तै भएर त होला, सक्ने जतिले सिलिन्डर लिनुभयो। मैले पाइनँ,’ उनले भनिन्।
कर्णाली प्रदेश अस्पतालले बिरामीको संख्या धेरै भएकाले अक्सिजनको अभाव खेपिरहेको छ। शनिबार नेपालगञ्जबाट दोस्रो सिफ्ट अक्सिजन नआउँदा कर्णाली प्रदेश अस्पतालले निजी अस्पतालबाट सापटी ल्याएर काम चलाएको थियो।
दैलेखको दुल्लु नगरपालिका-१२ का लालचने नेपालीलाई एक्कासी ज्वारो आयो। परिवारले दुल्लु अस्पतालमा लगे। त्यहाँ एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो। अस्पतालका कर्मचारीले जिल्ला अस्पतालमा लैजान सिफारिस गरे।
आफन्तले एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पुर्याए। जिल्ला अस्पतालले भने अन्यत्रै लैजान भन्यो।
‘उनी छटपटाइराखेका थिए, राति अस्पताल पुर्याउँदा कर्मचारीहरूले अक्सिजन छैन। बिरामीलाई सुर्खेतको कुनै प्राइभेट अस्पताल लैजानुस् भन्नुभयो,’ जेठान नाता पर्ने आफन्तले भने, ‘रातको समयमा कहाँबाट पैसा जुटाउनु र सुर्खेत पुर्याउनु। सार्वजनिक गाडी चल्दैनन्, एम्बुलेन्स महंगो पर्ने।’
उनीहरूले अटोरिक्सा बुक गरेर बिरामीलाई फेरि घरै पुर्याए। भोलिपल्ट सुर्खेतको अस्पताल लिन पैसा जुटाउने तयारी हुँदै थियो। बिहान साढे १० बजे मृत्यु भइसक्यो। बिहान मृत्यु भएका उनको बेलुका ६ बजे नेपाली सेनाको सहयोगमा अन्तिम संस्कार गरियो।
‘हामी अस्पताल गइसकेको थियौं, त्यहीँ जिल्लाकै अस्पतालमा अक्सिजन भइदिएको भए ज्वाइँ बाँचिहाल्थे कि,’ उनले भने।
जिल्ला अस्पताल दैलेखले भने अक्सिजन नभएर भन्दा पनि अक्सिजन लगाउन नसकिएर अन्यत्र लिन सिफारिस गरिएको बताएको छ।
‘उहाँमा कोरोनामात्रै भन्दा पनि मानसिक समस्या सँगै भएजस्तो थियो,’ उनलाई हेरेका अस्पतालका डाक्टर जगतबहादुर थापाले भने, ‘अक्सिजन लगाउँदा फाल्दिने, कराउने, उफ्रिने गर्नुहुन्थ्यो। दुई-चार जनाले समातेरै राख्नुपर्ने अवस्था भएपछि घर लैजान भनेका हौं।’
जिल्ला अस्पतालमा आवश्यकताअनुसार नभए पनि केही मात्रामा अक्सिजन भएको उनले बताए।
‘आइसोलशनमा बाँधेर राख्न मिल्ने कुरा पनि भएन, नत्र भने उहाँलाई अक्सिजन नै लगाउन मिल्ने अवस्था थिएन,’ उनले भने।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हाल कर्णाली प्रदेशभर सरकारी र निजी अस्पतालमा गरी ४७३ वटामात्र अक्सिजन सिलिन्डर छन्। जबकी कर्णाली प्रदेश अस्पताललाई मात्र ३०० वटा सिलिन्डर आवश्यक पर्छ।
यहाँ देखिएको अक्सिजनको समस्या पूर्ण रूपमा समाधान गर्ने सम्भावना हाललाई नदेखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन्।
‘यसका लागि त अक्सिजन प्लान्ट सञ्चालन गरेर उत्पादन गर्ने हो, तर यति गरिहाले पनि सिलिन्डरको नै अभाव छ,’ उनले भने।
स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार अहिले धेरैजसो जिल्लामा अक्सिजन प्लान्ट बनाउनका लागि काम अगाडि बढेको छ। उनका अनुसार कालिकोट र रूकुम पश्चिममा प्लान्ट निर्माणको काम नै सुरू भइसकेको छ भने अन्य जिल्लाहरूमा टेन्डर प्रक्रिया भइरहेको छ।
प्रजिअ रिजालका अनुसार वितरण प्रणाली नमिल्दा पनि अक्सिजन नपुगेको हो।
‘बिरामीका आफन्तले धेरै अक्सिजन दियो भने बिरामी निको हुन्छ भन्ने सोचेर चाहिनेभन्दा धेरै खोलिदिन्छन्, डाक्टरभित्र सधैँ हेर्न जान पाउँदैनन्,’ रिजाल भन्छन्, ‘चाहिनेभन्दा धेरै अक्सिजन खोलिदियो भने एउटा सिलिन्डर २ घन्टामै सकिन्छ, अनि सबैलाई चाहिनेबित्तिकै पुग्दैन।’
कर्णाली प्रदेशमा हालसम्म ५९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। जसमध्ये २८ जनाको वैशाखयता मात्र मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी चौधरीले जानकारी दिए।