ललितपुरमा निषेधाज्ञाको उल्लंघन गर्ने सात जनालाई प्रहरीले कारबाही गरेको छ।
कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न लगाइएको निषेधाज्ञाको उल्लंघन गर्नेलाई प्रहरीले सामान्यत होल्ड गर्ने गरेको छ। मंगलबारमात्रै बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म १३ हजार २ जनालाई होल्ड गरेको हो।
उनीहरूलाई प्रहरीले होल्ड गरी सम्झाइबुझाइ छाडेको हो। तर पटकपटक भन्दा पनि अटेरी गर्ने सात जनालाई संक्रामक रोग ऐन २०२० अनुसार जरिवाना तिराइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए। उनीहरू पुल्चोक, सानेपा र चापागाउँ क्षेत्रका हुन्।
'अहिले उनीहरूलाई एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको छ। अर्को ६ सय जरिवाना र ६ महिना कैदको पनि प्रावधान छ। हेरौं त्यो अवस्थामा पुग्न पर्ला नपर्ला,' महर्जनले भने।
त्यसैगरी, १४२ वटा दुई पाङ्ग्रे र ३७५ वटा चारपाङ्ग्रे गरी जम्मा ५१७ वटा सवारीसाधन पनि होल्ड गरिएको हो।
बुधबार देखि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा पार्ने निर्णय भएको छ। मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप कडा पार्ने निर्णय गरेको हो। निषेधाज्ञा २९ गते सम्मका लागि लम्ब्याइएको छ।