कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै नेपालमा अस्पतालमा बेड पाउन मुस्किल भएको छ। अस्पतालमा बेड नभएपछि अहिले ५५ हजार बढी संक्रमित घरमै बसिरहेका छन्।
यसपालि संक्रमित भएकामध्ये धेरैलाई लक्षण देखिएको छ। तीमध्ये कतिलाई त अक्सिजनको आवश्यकता पनि परिरहेको छ।
घरमै बसेका कोरोना संक्रमित र उनीहरूको हेरचाह गरिरहेका परिवारका सदस्य के-के कुरामा ख्याल गर्नुपर्छ भनेर संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।
यस कुराकानीका महत्वपूर्ण अंश:
-ज्वरो आयो भने सिटामोल खानुपर्छ भने धेरै खोकी लाग्यो भने कफ सिरफलगायत खान सकिन्छ। त्यसले भएन भने चिकित्सकको सल्लाहमा अरू औषधी खान सकिन्छ। धेरै पखाला भएको छ भने जीवन जल प्रशस्त खानुपर्छ।
-खानेकुराको हकमा यो खान हुन्छ, त्यो खान हुँदैन भन्ने केही पनि छैन। हामीले खाने सामान्य खाना खान हुन्छ। झोलिलो पदार्थ धेरै खानुपर्छ। धुमपान र मदिरापान गर्नु हुँदैन।
-पोजेटिभ भएकाहरू एउटै कोठामा बस्न सकिन्छ। पोजेटिभको सम्पर्कमा आएका तर पोजेटिभ नदेखिएकाहरू अझै सतर्क भएर क्वारेन्टिनमा बस्नुपर्छ। सकेसम्म त्यस्ता व्यक्ति छुट्टै बस्नुपर्छ।
-आफू शिथिल भइएको छैन भने बिस्तारै हिँड्ने, हल्का व्यायाम गर्ने गर्नुपर्छ। अरू मान्छेसँग सजिलै भेट हुन्छ भने मास्क लगाउनुपर्छ।
-पानीको बाफ लिन सकिन्छ तर लिनैपर्छ भन्ने जरूरी छैन।
-थोरै मात्रामा बेसार गुर्जो पानी खाँदा ठिकै होला तर फाइदा गर्छ भन्ने मलाई थाहा छैन। अनावश्यक रूपमा धेरै गुर्जोको प्रयोग गर्दा कलेजोमा हानी पुर्याएको भनिएको छ। यसको कुनै वैज्ञानिक पुष्टि नभएकाले म खान हुन्छ र खान हुँदैन दुबै भन्दिनँ।
-सिटी भ्यालु धेरै वा थोरैले केही असर गर्दैन। त्यसकै आधारमा अरूलाई सर्ने सम्भावना धेरै र थोरै छ भन्ने आधार छैन। भारत र नेपालबाहेकका धेरै देशमा रिपोर्टमा सिटी भ्यालु नै उल्लेख हुँदैन। त्यसैले पोजेटिभ पोजेटिभ नै हो र नेगेटिभ नेगेटिभ नै हो।
-विश्वव्यापी अनुभवअनुसार खोपको दोस्रो डोज लगाएको १५ दिनपछि कोरोनाभाइरसको संक्रमण हुने सम्भावना कम हुन्छ।सिकिस्त बनाउने सम्भावना त झनै कम हुन्छ।
-एक पटक कोरोनाभाइरस भएकाको हकमा दोस्रो पटक संक्रमण हुने सम्भावना कम छ। कतिपय दोहोरिएका छन्। तर मैले देखेअनुसार उनीहरूलाई सिकिस्त बनाएको छैन। एक पटक कोरोना भएकाको रोग प्रतिरोधी क्षमता अरूको भन्दा धेरै हुन्छ भने सकिस्त बनाउने सम्भावना झनै कम हुन्छ।
-कोरोनाका बिरामीलाई प्लाज्मा दिने विधि सफल भएको छैन। यो विश्वव्यापी अध्ययनले देखाएको छ। अर्जेन्टिनामा जेष्ठ नागरिकको हकमा केही काम गरेको देखाएको छ। तर यो सानो अध्ययन हो। त्यसैले कसैलाई पनि प्लाज्मा दिनु पर्दैन।
-कोरोनाको संक्रमण कहिलेसम्म भइरहन्छ भनेर अहिले नै भन्न सकिँदैन। किनकी यसबारे अध्ययन भएको छैन। पहिला नै ठूलो समूहलाई कोरोना भइसकेको छ, ती मान्छे सायद जोखिममा छैनन्। अघिल्लो पटक केही महिना लागेको बिन्दुमा हामी केही हप्तामा पुगेका छौं। धेरै मान्छे एकैपटक संक्रमण भएकाले पहिलाजस्तो लामो समय यो संक्रमण जाँदैन भन्ने मलाई लाग्छ।