रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम घर फर्किरहेका छन्। पछिल्लो डेढ महिनामामात्रै भारतसँग जोडिएको कैलाली-कञ्चनपुरको मुख्य नाका त्रिनगर हुँदै ४० हजार तीन सय ७२ जना नेपाली घर फर्किए।
त्रिनगर नाका हुँदै फर्किएकामध्ये १६ हजार दुई सय ८५ जनाको नाकामै एन्टिजेनबाट कोरोना परीक्षण गरियो। परीक्षणमा एक हजार पाँच सय १९ जनामा कोरोना संक्रमण पुष्टि भयो।
त्रिनगर नाकाबाट मात्रै भित्रिएकामध्ये डेढ हजार बढीमा संक्रमण पुष्टि भए पनि अधिकांशलाई न आइसोलेशनमा राखिएको छ, न त क्वारेन्टिनमा।
त्रिनगर नाकामा स्थापना गरिएको हेल्थ डेस्कका कर्मचारी गणेश साउँदका अनुसार नाकामा कोरोना संक्रमण पुष्टि भएकालाई धनगढी उपमहानगरपालिका-१५ कनरीमा बनाइएको आइसोलेसन सेन्टरमा पठाउने गरिएको छ।
उक्त सेन्टरमा भने करिब पाँच सय संक्रमितमात्रै बसेको धनगढी उपमहानगरपालिकाको तथ्यांक छ।
बाँकी संक्रमित कहाँ गए? उनीहरूको कसरी व्यवस्थापन भइरहेको छ?
यसको ठ्याक्कै जवाफ कुनै सरकारी निकायसँग छैन।
धनगढी उपमहानगरका कोभिड उपसमिति संयोजक तथा वडा नम्वर ८ का वडाध्यक्ष नारायणप्रसाद बरालले संक्रमितहरू होम आइसोलेसनमा बस्ने भनेर गए पनि नबस्ने गरेको आफूले थाहा पाएको बताए।
अघिल्लो वर्ष भारतबाट फर्किएकालाई सम्बन्धित स्थानीय तह, वडाले बनाएका क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको थियो। कोरोना पुष्टि भएकालाई आइसोलेसन तथा अस्पतालमा भर्ना गरिन्थ्यो। यस पटक यस्तो देखिँदैन।
‘संक्रमण पुष्टि भएकामध्ये थोरैमात्र आइसोलेसनमा बस्छन्। अधिकांश त आइसोलेसन बस्छौं भनेर घर जान्छन्,’ संयोजक बरालले भने।
धनगढीलगायत केही स्थानमा आइसोलेसन सेन्टर बनाइएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरि नौ सय ८४ बेडका आइसोलेसन सेन्टर तयार छन्। आइसोलेसन सेन्टरमा तीन सय ८१ जनामात्र बसिरहेको तथ्यांक छ।
बरालले त्रिनगर नाका कञ्चनपुर जिल्लाअन्तर्गत रहेकाले त्यहीँका स्थानीय तहले भारतबाट फर्केका नेपालीको व्यवस्थापन गर्नुपर्ने बताए।
‘आइसोलेसन सेन्टर बनाउन तथा भारतबाट फर्केकाको व्यवस्थापनका लागि हामी (धनगढी उपमहानगरपालिका) लाई यस पटक बजेट प्राप्त भएन। कञ्चनपुरको पुनर्वास नगरपालिकालाई बजेट प्रदान गरिएकाले यो सबै व्यवस्थापनको जिम्मेवारी पनि उसैले निर्वाह गर्नुपर्छ,’ उनी भन्छन्।
बरालले धनगढी उपमहानगरले आफ्नो स्रोत-साधन र जनशक्तिले भ्याएसम्म नाकामा कर्मचारी खटाउने, भारतबाट आउनेको नि:शुल्क स्वाब संकलन गर्ने, सवारी साधनको व्यवस्था गरेर सम्बन्धित ठाउँमा पुर्याउने र आइसोलेसन सेन्टरका लागि भवन उपलब्ध गराइरहेको बताए।
भारत वा अन्य मुलुकबाट घर फर्केका नेपालीलाई अनिवार्य क्वारेन्टिनमा राख्नु पर्ने उनको मत छ।
‘त्रिनगर नाका हुँदै भारत तथा अन्य मुलुकबाट फर्केकालाई अनिवार्य क्वारेन्टिन सेन्टरमा राख्ने काम भएन। उनीहरूलाई क्वारेन्टिनमा नराखेर घर पठाएका कारण जोखिम झन् बढेको देखिन्छ,’ उनले भने।
बरालका अनुसार अहिले उपमहानगरपालिकाले विद्यालय भवनमा क्वारेन्टिन सेन्टर बनाउने तर्फ तयारी गरिरहेको छ।
पहिले-पहिले यो नाका कैलाली जिल्लाले हेर्थ्यो। त्यसैले गत वर्ष कैलालीको धनगढी उपमहानगरले हेरेको थियो। गत वर्ष कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले त्रिनगर नाका आफ्नो मातहत रहेको भन्दै दाबी गरेको थियो। अहिले नाका हुँदै नेपाल फर्केकाको व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तह (कञ्चनपुरको पुनर्वास नगरपालिका) को भए पनि क्वारेन्टिन सेन्टरको प्रबन्ध गरेको देखिन्न।
पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले त्रिनगर नाकाबाट भित्रिने नेपालीको सहयोगका लागि बनाइएको हेल्थ डेस्कमा १० जना कर्मचारी खटाइएको जानकारी दिए।
भारतबाट फर्किने नेपालीमध्ये शंकास्पद संक्रमितलाई राख्ने होल्डिङ सेन्टर बनाउन केन्द्र सरकारबाट ५० लाख रुपैयाँ बजेट आएको थियो।
त्यो बजेट गत वर्ष फागुनमै निकास भइसकेको थियो, तर बल्ल होल्डिङ सेन्टर बनाउन पहल भइरहेको छ। चैतको दोस्रो सातादेखि नै भारतका विभिन्न स्थानबाट नेपाली फर्किने क्रम बढिसकेको थियो।
यस वर्षको वैशाख सुरूदेखि त्यो क्रम निकै बढेको छ। तर, बल्ल होल्डिङ सेन्टर बनाउने तयारी चल्दै छ।
‘गत वर्ष फागुनतिरै बजेट आएको हो। स्टिमेट गर्नुपर्यो। टेन्डर आदि प्रक्रियामा समय लाग्यो। टेन्डर भएको पाँच दिन भयो। अब तुरून्तै बनाउनेतर्फ हामी लाग्दैछौं,’ नगर प्रमुख थापाले भने।
बीचको समयमा कोरोना महामारी कम भइसक्यो भन्ने लागेका कारण पनि व्यवस्थापनमा ढिलाइ भएको उनले बताए।
‘गत वर्ष कोरोना महामारी फैलिनु दुई-तीन महिनाअघि नै क्वारेन्टिन सेन्टर बनाएका थियौं। तर, यस पटक विद्यालय भवनमा पढाइ भइरहेको थियो। त्यसैले व्यवस्थापन गर्न समय लाग्यो। केन्द्र सरकारले पनि होम आइसोलेसन सेन्टरमै बढी जोड दिएकाले हामीले त्यहीअनुसार गरौंला भन्ने सोचेर ढुक्क भयौं,’ उनले भने।
नगर प्रमुख थापा पनि अहिले होम आइसोलेसनको मात्रै भर गर्दा र क्वारेन्टिनको व्यवस्थापन बेलैमा नगर्दा स्थानीय स्तरमा कोरोना संक्रमण तीव्र बनेको स्वीकार गर्छन्।
‘मेरो नगरपालिकामा दिनहुँ कोरोना संक्रमित थपिँदै गएका छन्। गाउँ-गाउँमा व्यापक रूपमा फैलिसकेको छ। के गर्ने? कसरी गर्ने? अन्यौलमा छौं,’ उनले भने।
उनका अनुसार पुनर्वास नगरपालिकाभित्र भारतबाट फर्किएका र अन्य संक्रमितका लागि २० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको छ। अहिले त्यहाँ १३ जना बसेका छन्।
‘काठमाडौंबाट पाँच वटा अक्सिजन सिलिन्डर पनि ल्याउँदै छौं। आइसोलेसन सेन्टरमा सबै संक्रमित अटाउने ठाउँ छैन। त्यत्ति व्यवस्थित पनि छैन। हाल त्यहाँ १३ जनामात्रै राखेका छौं। बाँकीलाई होम आइसोलेसनमा राख्ने व्यवस्था गरेका छौं,’ उनले भने।
प्राय: स्थानीय जनप्रतिनिधि भारतका विभिन्न स्थानबाट त्रिनगर, कञ्चनपुरको गड्डाचौकी तथा अन्य नाकाबाट स्वदेश फर्किने नेपालीलाई व्यवस्थित रूपमा सम्बन्धित स्थानीय तहमा पुर्याउन नसकिएको र क्वारेन्टिनमा अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न नसकेकाले जोखिम झन् बढेको स्वीकार गर्छन्।
‘अहिले स्थानीय तहबीच समन्वयको कमी छ। यसले गर्दा भारतबाट फर्किएका नेपालीको उचित व्यवस्थापन गर्न केही कमजोरी भएको छ,’ पुनर्वास नगर प्रमुख थापाले भने।
अछामको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवँर पनि गत वर्षझैं यस वर्ष भारतबाट घर फर्किएकाको उचित व्यवस्थापन गर्न नसकिएको बताउँछन्।
‘गत वर्षजस्तो क्वारेन्टिन सेन्टर बनाएर राख्ने र निगरानी गर्ने अवस्था छैन। स्थिति धेरै जटिल बनेको छ। निकै ठूलो मात्रामा कोरोना पोजेटिभ केसहरू बढिरहेका छन,’ उनले भने।
नगर प्रमुख कुवँरले क्वारेन्टिन सेन्टर बनाउन नगरपालिकाभित्र संरचनाको अभाव रहेको बताए। उनले भने- हामीले सबैलाई होम आइसोलेसनमा बस्दा जोखिम छ, त्यसैले आफ्नो सुरक्षा आफैं गर्नुहोला भनेका छौं।
कोरोनाको दोस्रो लहरले हायलकायल बनाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकार नियन्त्रण र रोकथामका लागि के गर्दैछ त?
‘भारत वा तेस्रो मुलुक वा मुलुकभित्रकै बढी संक्रमण फैलिएका जिल्ला वा स्थानबाट आएकालाई क्वारेन्टिनमा राख्ने काम त भएको छैन। मन्त्रालयले भारतबाट आउनेमध्ये शंकास्पदको एन्टिजेन परीक्षण गरेर भित्र्याउने व्यवस्था गरेको छ। त्यसका लागि नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरू खटाएका छौं,’ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्टले भने।
प्रदेशको स्वास्थ्य निर्देशानालयले भने सबै ८८ स्थानीय तहमा कोराना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समन्वय गरिएको दाबी गरेको छ।
‘हामीले सबै स्थानीय तहसँग कोराना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समन्वय गरेका छौं। प्रदेशमा स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य उपकरणको अवस्था के छ भन्नेबारे अनुगमन गरिरहेका छौं,’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने।
अवस्थीले नेपाल सरकारको निर्देशनअनुसार कोरोनाको जोखिम कम गर्न सबै स्थानीय तहलाई भारतबाट नेपाल आएकाको निगरानी गर्न तथा आवश्यक क्वारेन्टिन र आइसोलेशन सेन्टर बनाउन भनेको बताए।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर जगदीश जोशी सुरूदेखि नै सीमानाकामा प्रभावकारी व्यवस्थापन हुन नसकेको, बाहिरबाट आएकालाई क्वारेन्टिनमा राख्न नसकिएको र होल्डिङ सेन्टरको व्यवस्थापन गर्न नसकिएका कारण अहिले कोरोना संक्रमण ह्वात्तै बढेको बताउँछन्।
‘कोरोना महामारी केही कम र लकडाउन खुकुलो भएपछि मानिसले लापरवाही गरे। राजनीतिक दलले ठूला सभा गरे। समुदायलाई निरन्तर सचेत पार्नेतर्फ उदासिनता देखाइयो। अहिले यसको जोखिम निकै बढेको छ,’ उनले भने।
अब कोरोना संक्रमण बढ्न नदिन होम आइसोलेसनमा बसेकालाई पूर्ण रूपमा सुरक्षा मापदण्ड पालना गर्न लगाउनु पर्ने उनको सुझाव छ।
'नाकामा प्रभावकारी व्यवस्थापन गर्नुपर्छ। सम्भव भएसम्म भारत तथा अन्य मुलुकबाट आएकालाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ,' डाक्टर जोशीले भने,‘छिटोभन्दा छिटो सबै अस्पतालमा अक्सिजनको पर्याप्त व्यवस्था, भेन्टिलेटरसहितका आइसियु बेडको विस्तार गर्नुपर्छ।’