७० वर्षअघि नेपाली समाज कस्तो थियो? नेपालीहरू कस्ता थिए? हाम्रा रहनसहन र चाडपर्व के थिए होला?
त्यो बेलाको गाउँ होस् या सहरी समाजको व्याख्या, पोखराका सुनिल उलक तस्बिरमार्फत् गर्छन्। फेसबुकमा फोटा राख्छन्। अचेल टिकटकमा पनि ऐतिहासिक भिडिओ क्लिप राखेर कहिल्यै फर्केर नआउने समयबारे सुनाइरहेका हुन्छन्।
युवा पुस्ता उनले राखेका तस्बिर देखेर दंग पर्छन्। एक पुस्ताअघि मात्र हाम्रो समाज यस्तो थियो भन्दा कतिले जिब्रो टोक्छन्।
'मसँग भएका धेरै तस्बिर मभन्दा जेठा छन्,' उमेरले ५० नाघेका सुनिल भन्छन्, 'सत्तरी वर्ष अघिदेखिका तस्बिर संकलन गरेको छु।'
उनका अनुसार नेपाली गाउँ, सहर र समाज झल्काउने एक लाख ऐतिहासिक तस्बिर अहिले उनको कम्प्युटरमा सुरक्षित छन्।
सुनिल आफूलाई व्यावसायिक फोटोग्राफर मान्दैनन्। न उनलाई तस्बिर खिचेर जीवन धान्ने सोच कहिल्यै पलायो। तर तस्बिरप्रतिको मोह उनमा सानैदेखि हुर्केको थियो। र, यो मोहको बीउ उनका बुवा जगन्नाथ उलकले रोपिदिएका थिए।
२००६ सालमा, राणाशासन छँदै जगन्नाथ भक्तपुरबाट परिवारसहित पोखरा झरेका थिए। दरबार हाइस्कुलबाट मेट्रिक (एसएलसी) पास गरेका जगन्नाथलाई पोखराका बडा हाकिमले पढाउन भनेर बोलाएका थिए। पोखरामा जगन्नाथलाई शिक्षणबाट मात्र परिवार पाल्न पुगेन। उनले अर्को व्यववसाय गर्ने सोचे।
सुनिलका अनुसार त्यतिबेला गंगाप्रसाद बैजु नामका पाल्पाका 'फिरन्ते' फोटोग्राफर थिए। गंगाप्रसाद बेलामौकामा तस्बिर खिच्न पोखरा आइरहन्थे। बुटवल, स्याङ्जा, बाग्लुङ लगायत जिल्ला पनि पुग्थे। अर्को पटक आउँदा ज–जसका तस्बिर हुन्, धुलाएर ल्याइदिन्थे र पैसा लिन्थे।
'यसरी आएका बेला उहाँ थप तस्बिर खिचेर लैजानुहुन्थ्यो रे,' सुनिलले भने।
त्यति बेला पोखरा सानो थियो। नयाँ मान्छे आएको प्रायः सबैलाई थाहा हुने। यही क्रममा सुनिलका बुवा जगन्नाथको भेट गंगाप्रसादसँग भयो। गंगाप्रसादले जगन्नाथलाई तस्बिर खिच्न सिकाए। अनि उनैको क्यामरा किनेर जगन्नाथले पोखरामा तस्बिर खिच्न थाले।
जगन्नाथलाई पोखराकै पहिलो फोटोग्राफर मानिन्छ। २०१० सालमै उनले 'नवीन फोटो स्टुडियो' खोलेका थिए। स्टुडियोसँगै उनले स्टेशनरी पसल पनि राखे। किताब, कापी, कलम र फोटो एकै ठाउँमा पाइन थाल्यो। तर जगन्नाथले यो व्यवसाय धेरै समय चलाएनन्। २०२२ सालतिर स्टुडियो बन्द गरेर अरू व्यवसायमा हात हाले। यति बेलासम्म सुनिल जन्मेकै थिएनन्।
'स्टुडियो पुगेर तस्बिर खिचे पनि धेरै ग्राहक तस्बिर लिन आएनछन्,' २०२३ सालमा जन्मेका सुनिलले भने, 'त्यसैले घरभरि तस्बिरको चाङ थियो। नेगेटिभ झन् धेरै।'
ती सबै फोटा र नेगेटिभ साना–साना बाकसमा सुरक्षित राखेका थिए जगन्नाथले। सुनिलका दुई दाजु पनि संकलनमा रूचि राख्थे, चुरोटका पुराना प्याकेट होस् या हुलाक टिकट, बटुलेर राख्थे।
भैरवटोलमा बसेको सुनिलको परिवार ३८ सालमा चिप्लेढुंगा सरेको थियो। त्यतिबेला सुनिल १५ वर्षका थिए। सर्ने बेलामा सामान काँटछाँट गर्दा पुराना सामग्री र पासपोर्ट साइजका निजी फोटोहरू फाले। तर त्यतिबेलाका समाज दर्शाउने तस्बिर जतनसाथ राखेको सुनिलले बताए।
'तस्बिर खिचेर गएका ग्राहक लिन आए दिनुपर्छ भनेर बुबाले राख्नुभएको थियो होला,' उनी अनुमान गर्छन्, 'पछि दाइहरूले पनि राख्नुभयो। त्यतिबेला संकलनको उद्देश्य थिएन। पछि काम लाग्ला, महत्व होला भन्ने मात्रै थियो। अहिले तिनै तस्बिर संकलन भए।'
सुनिलले बुवाको व्यवसाय सम्हाल्न भनेर पोखरा, पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्दा–पढ्दै छाडे। उनलाई घुम्न खुब मनपर्थ्यो। फुर्सद मिल्नासाथ निस्किन्थे। सानैदेखि तस्बिर र नेगेटिभ खेलाउँदै हुर्किएका उनमा यसप्रति आकर्षण पनि हुर्किएको थियो। उनलाई घुमाइसँगै फोटा खिच्ने धून चढ्यो।
क्यामरा त घरमै थियो, बुवाले किनेका। तर त्यो क्यामरा उनको पालामा पुरानो भइसकेको थियो।
'बुबाले चलाएको क्यामराको रिल पाउन छाडिसकेको थियो। त्यसैले मैले नयाँ किनेँ,' नेगेटिभवाला, डिजिटल हुँदै डिएसएलआर क्यामरा चलाइरहेका सुनिलले भने, 'तर बुबाले चलाएका सात वटा क्यामरा अहिले पनि सुरक्षित छन्।'
व्यापारमा संलग्न भएकाले आफैं कमाउने सुनिल धेरै ठाउँ डुल्थे। सम्झनाका लागि तस्बिर लिन्थे। घुम्दै–फिर्दै खिचेका त्यसबखतका २५ हजार तस्बिर त उनका आफ्नै छन्। तर सबै ठाउँमा क्यामरा भिरेर जान उनी डराउँथे, चोरी होला वा हराउला भनेर, 'यही डरले त्यतिबेला भारत घुम्न जाँदा क्यामरा लगिनँ।'
सुरूमा सुनिलसँग उनका बुबा र आफूले खिचेका तस्बिरको मात्रै संकलन थियो। सन् २०१६ मा अमेरिकी नागरिक डग हल उनको सम्पर्कमा आएपछि उनको तस्बिर संग्रह ठूलो भएको हो।
डग हल पहिलोपटक सन् १९६५ मा 'अमेरिकी पिस कोर भोलेन्टियर' का रूपमा नेपाल आएका थिए। त्यतिबेला नेपाल आएका पिसकोर भोलेन्टियरसँग सम्पर्क गर्दै जाँदा डग हलको सम्पर्कमा सुनिल पुगे। डग हलले सँगै आएका १०२ जना अमेरिकी पिसकोर भोलेन्टियरले खिचेका तस्बिर अमेरिकामै संकलन गरेका रहेछन्। ती तस्बिर उनले डिजिटलाइज गरिरहेको सुनिलले थाहा पाए।
डग हलले आफूसँग भएका तस्बिर संरक्षणका लागि सुनिललाई दिने भए। सन् २०१७ मा सुनिलले पोखरा उद्योग बाणिज्य संघको हलमा तस्बिर प्रदर्शनी गर्दा डग हल पनि आए। प्रदर्शनीमाझ डग हलले २२ हजार तस्बिर भरिएको पेनड्राइभ सुनिललाई हस्तान्तरण गरे।
'मेरो सानो संग्रह ती ऐतिहासिक तस्बिर पाएपछि ठूलो भएको थियो,' सुनिलले भने, 'धेरै खुसी लाग्यो त्यतिका धेरै फोटा पाउँदा।'
उनका अनुसार ती तस्बिर गुणस्तरीय छन्। उनका बुबा र उनले खिचेका पुराना तस्बिर श्यामश्वेत भए पनि डग हलले दिएका सबै रंगीन छन्। आजभन्दा करिब ६५ वर्षअघि नेपालका गाउँ-सहर देखाउने रंगीन तस्बिर!
प्रदर्शनी र डग हलले तस्बिर हस्तान्तरण गरेको समाचार आएपछि जापान, ओसाका विश्वविद्यालयका प्राध्यापकले माकितो मिनामीले पनि सुनिललाई सम्पर्क गरे।
'उहाँहरूसँग नेपालका झन्डै चार हजार तस्बिर रहेछन्। माकितो नेपाल आएर मसँग कुराकानी गर्नुभयो र भएका सबै तस्बिर दिनुभयो,' सुनिलले भने।
ओसाका विश्वविद्यालयले दिएका तस्बिर अझै पुराना थिए, विक्रम सम्वत् २०१५ तिरका। त्यतिबेला उक्त विश्वविद्यालयले 'डोल्पा एक्सपिडिसन प्रोजेक्ट' चलाएको रहेछ। काठमाडौंबाट पोखरा, बाग्लुङ, मुस्ताङ हुँदै डोल्पा जाँदाका तस्बिर थिए। ती तस्बिर आधा रंगीन, आधा श्यामश्वेत रहेको सुनिलले बताए। त्यस्तै अमेरिकी मानवशास्त्री योहन रेयनहर्डले पनि उनलाई साढे चार हजार पुराना तस्बिर दिएका छन्।
प्रदर्शनी गर्नुअघि सुनिलले खिचेका बाहेक जम्माजम्मी ६ हजार तस्बिर उनको संकलनमा थिए। उनी भन्छन्, 'नेपालीले खिचेका तस्बिर साना, कम गुणस्तरका र प्रायः सबै श्यामश्वेत थिए। विदेशीले दिएका गुणस्तरीय र रंगीन। विदेशीबाट राम्रा र महत्वपूर्ण तस्बिर पनि आए।'
उनको संग्रहमा दीर्घमान चित्रकारले विक्रम सम्वत् १९७७ तिर खिचेका तस्बिर पनि छन्। ब्रिटिस लाइब्रेरीमा संकलित ती तस्बिर मदन पुरस्कार पुस्तकालयले संरक्षण गरेको छ।
यसरी नेपाली र विदेशीले खिचेका ऐतिहासिक तस्बिर संरक्षण गर्न उनले बुबाका नाममा 'जगन्नाथ उलक मेमोरियल ट्रस्ट' बनाएका छन्। यही ट्रस्टका नाममा संग्रहालय बनाएर यी तस्बिर राख्ने उनको योजना हो। सुनिलले पोहोरै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको सहयोगमा पोखरा, भैरवटोलमा संग्रहालय खोलेका थिए। तर केही समयमै कोरोना महामारी आएपछि बन्द भएको उनले जानकारी दिए।
तस्बिर संग्रहालय खोल्न विभिन्न तहका सरकारसँग कुरा गरे पनि कहीँबाट सहयोग नपाएको उनको गुनासो छ। गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखरा महानगरका मेयरसँग पनि यसबारे कुरा गरेको उनी बताउँछन्।
'राष्ट्रिय अभिलेखालयले पनि तस्बिरहरू मागेको थियो। सरकारी निकायमा काम गर्नेको भर लाग्दैन। उपयुक्त समय आएपछि सबै तस्बिर हामी आफैं सरकारलाई हस्तान्तरण गर्छौं,' सुनिलले भने।
उनले फेसबुकमा राखेका तस्बिरमा 'कलेक्सन अफ सुनिल उलक' भनेर लेखिएको हुन्छ। आफूलाई अधिकार दिएको तस्बिरमा मात्रै 'वाटरमार्क' राखेको उनी बताउँछन्। तर वाटरमार्क राख्दा कतिपयले नराम्रो प्रतिक्रिया दिएको उनले बताए।
'तस्बिरको गलत प्रयोग निषेध गर्न वाटरमार्क राखिएको हो। नराख्ने हो भने डाउनलोड गरेर बेच्न सक्छन्,' सुनिल भन्छन्, 'नराम्रो प्रतिक्रिया दिनेलाई इतिहास बुझ्न र त्यो बेलाको समाज हेर्नभन्दा पनि तस्बिर दुरुपयोग गर्ने चाहना हुन सक्छ।'
सुनिलका संकलनमा हाम्रा चाडपर्व, संस्कृति, जात्राका तस्बिर पनि छन्। उनी यिनलाई संस्कृति जोगाउने पहलमा प्रयोग गर्छन्।
'काठमाडौंमा संस्कृति जोगाउन पहल गर्नेको सानो टिम छ, म पनि त्यहाँ पुगेको छु,' सुनिल भन्छन्, 'हाम्रो पहिचान भनेकै हाम्रो संस्कृति त हो।'
सडक प्रदर्शनमा जान नभ्याउँदा उनी सामाजिक सञ्जालबाट आह्वान गरिरहेका हुन्छन्। पोहोर भक्तपुरमा कोरोनाका कारण विस्केट जात्रा मनाउन रोक लाग्दा उनले उहिलेको विस्केट जात्राको तस्बिर राखेर नरोक्न माग गरेका थिए, 'त्यहाँ गएर नारा, जुलुस लगाउन नपाउँदा सामाजिक सञ्जालमा लेखेर सहयोग गर्छु।'
काठमाडौं उपत्यकामा मनाइने सबैजसो जात्रा र पर्वमा पुगिसकेको उनी बताउँछन्। जात्रा-पर्वका उहिलेका र अहिलेका तस्बिर तुलना गरेर हेर्छन्, बुढापाकासँग कुरा गर्छन्, जात्रामा आएको परिवर्तन केलाउन खोज्छन्।
'अहिलेका समाज र संस्कृतिमा दम्भ बढी देखिन्छ,' सुनिल भन्छन्, 'संस्कृति मान्छेको मुटुमा जोडिनुपर्छ किनकी इतिहास पनि हाम्रो मुटुसँगै जोडिएको हुन्छ।'