प्रहरीले यात्रुसँग बढी भाडा लिने पाँच जनालाई पक्राउ गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने तीन जनालाई गोंगबु बसपार्क आसपासबाट पक्राउ गरेको हो।
महाशाखाले पोखरा माइक्रो र बुटवल भैरवहा काउन्टरका तीन कर्मचारीलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए।
काठमाडौंबाट पोखरासम्मको भाडा पाँच सय र बुटवलसम्म १२ सय रुपैयाँ तोकिएको छ। उनीहरूले पाँच सय प्रतिशतसम्म बढी लिएको एसएसपी भट्टराईले बताए।
पक्राउ पर्नेमा पोखरा माइक्रोका पोखरा महानगरपालिका-३३ घर भई काठमाडौं बस्ने ३२ वर्षीय बन्दराज पराजुली र मोरङ रतुवामाई-९ घर भई नेपालटार बस्ने २९ वर्षीय नविन पौडेल छन्।
त्यस्तै, बुटवल भैरहवा काउन्टरमा काम गर्ने धादिङ थाक्रे-७ का २९ वर्षीय रञ्जित सिलवाल छन्।
पोखरा जाने यात्रुसँग ३५ सय रुपैयाँ र बुटवल जाने यात्रुबाट ६ हजार रुपैयाँका दरले भाडा लिँदा प्रहरीले पक्राउ गरेको हो। उनीहरूले ग १ ख ९६२१ र बा ४ ख ५१९७ नम्बरको बसमा जाने यात्रुहरूलाई ठगेको महाशाखाले जनाएको छ।
त्यसैगरी, कलंकीबाट दुई जनालाई पक्राउ गरेको हो। काठमाडौंदेखि झापा मोरङको नियमित भाडा एक हजार छ। तर दुई हजार ५ सयका दरले भाडा उठाएको आरोपमा खोटाङ घर भइ कलंकी बस्ने ३५ वर्षीय भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय बैजनाथ चौधरीलाई पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि थप अनुसन्धान अघि बढाएको छ।
बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।