'अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन?'
पोखराको लेखनाथस्थित संक्रामक तथा सरूवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न गर्छन्। उनले आफ्नो अस्पतालमा जम्मा ५० बेड आइसोलेसन भएको र अस्पतालको आकस्मिक कक्षमा समेत कोरोना संक्रमित राखेर उपचार गर्नु परेको जवाफ फर्काउँछन्।
बिरामीका आफन्त हुन् वा उच्चपदस्थ व्यक्तिले उनलाई बेड मिलाउन अनुरोध गरिरहेका हुन्छन्। उनले पनि आकस्मिक कक्षमै राखेर भए पनि उपचार गर्न बिरामी बोलाउँछन्। अस्पतालको आकस्मिक कक्षमा राख्ने गरी बुधबार ३ जना कोरोना संक्रमित थपिए।
गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न यही अस्पताललाई तोकेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार भइरहेको छ।
कोरोना संक्रमितको उपचार गर्न प्रेदश सरकारले तोकेको सरकारी अस्पताल भएकै कारण उक्त अस्पतालमा भने अन्यत्रभन्दा बिरामीको चाप बढी छ।
आकस्मिक कक्षमा समेत संक्रमितको उपचार गर्नु परेकाले अन्य बिरामीलाई उपचार गर्न असम्भवजस्तै भएको छ। अस्पतालमा बुधबार २ जना चोट लागेका व्यक्ति आएका थिए। उनीहरूको उपचारमा निकै कठिनाइ भएको डाक्टर गौचनले बताए।
‘हामीलाई एकदमै गाह्रो भएको छ, कोरोनाको उपचार गर्ने कि अरू बिरामीको’, गौचनले भने, ‘अक्सिजन लगाउनु पर्ने कोरोनाका बिरामी यसरी नै २-४ दिन बढे भने हामी थेग्न सक्दैनौं।’
सरकारले चालु आर्थिक वर्षदेखि मात्रै यो अस्पताललाई आफ्नो मातहतमा लिएको थियो। यसअघि लेखनाथ लायन्स सामुदायिक अस्पतालका रूपमा रहेको यो अस्पताल कोरोना महामारी आएपछि समुदायले प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए। प्रेदश सरकारले यस अस्पताललाई संक्रामक र सरूवा रोग विशेष अस्पताल बनाउने लक्ष्य राखेको छ।
सामुदायिक अस्पताल हुँदा १५-२० जना बिरामीको मात्रै भर्ना गरेर उपचार गर्ने गरिन्थ्यो। प्रदेश सरकारले ५० बेडको अस्पताल चलाउने निर्णय गरेपछि मात्रै अहिले ५० बेडको आइसोलेसन बनेको हो। आइसोलेसनमा बसेका ४० जना बढी बिरामीलाई अक्सिजन दिनु परेको अस्पतालकी मेडिकल अधिकृत डाक्टर कविता पाठकले बताइन्। उनका अनुसार अरू बिरामीलाई निको हुँदै जाँदा अक्सिजन दिन छोडिएको छ।
सरकारले अस्पतालमा आइसियू र एचडियू सञ्चालन गर्न आवश्यक उपकरण खरिद गरिसकेको छ। तर मानव स्रोतको अभावमा उक्त सेवा चलाउन नसकेको कार्यकारी निर्देशक गौचनले बताए। जनशक्ति नभएकै कारण अस्पतालले आइसियू र भेन्टिलेटरमा राख्नु पर्ने बिरामीलाई अन्य अस्पतालमा रिफर गर्ने गरेको छ। अस्पतालमा उपलब्ध सेवा दिएर कोरोना संक्रमितको उपचारमा भने कुनै कसर बाँकी नराखेको उनले बताए।
अहिले अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४, मेडिकल अधिकृत ६ , नर्स ६ , प्रयोगशालामा ३ र अन्य स्वास्थ्यकर्मी २ जना कार्यरत छन्। सानो संख्याका स्वास्थ्यकर्मीले ५३ जना कोरोना संक्रमित र अन्य नियमित उपचार सेवासमेत दिनु परेको डाक्टर गौचन बताउँछन्।
‘हाम्रो टिमले सकेसम्म थेग्ने प्रयास गरेका छौं, यो हाम्रो पेशागत दायित्व हो’, उनले भने, ‘जतिसुकै गाह्रो भए पनि हामीले सेवा दिनुपर्छ भनेर लागेका छौं।’
पोखराका विभिन्न अस्पतालमा भएका आइसोलेसनमा बिरामीले मन पराएको आइसोलेसन हो, संक्रामक तथा सरूवा रोग अस्पतालको आइसोलेसन। यसका पछाडि अस्पतालका स्वास्थ्यकर्मी मिलेर दिने सेवा नै हो। प्रदेश सरकारले गत वर्षदेखि नै उक्त अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न तोकेपछि स्वास्थ्यकर्मी समूहमा मिलेर सेवा दिन तल्लिन छन्।
अन्यत्रका अस्पतालमा डाक्टर बिरामीको परीक्षण गर्न राउन्डमा जान्छन्, अवस्था बुझेर फर्कन्छन्। यस अस्पतालमा भने बिरामीसँगै स्वास्थ्यकर्मीको टोली पनि आइसोलेसनमा बसेका छन्। बिरामीको उपचार गर्न २४ घन्टा नै उपलब्ध हुने गरी बसेको टोलीमा १ जना डाक्टर, १ जना नर्स, १ जना पारामेडिक्स र १ जना सहयोगीसहित ४ जनाको टिम छन्।
डाक्टर पाठकको टिममा पारामेडिक्स रवीन्द्र अर्याल, नर्स चाँदनी भुगाई र कार्यालय सहयोगी श्रीभद्र कँडेल छन्। उनको टिमलाई नेत्र सहायक वर्षा काफ्ले पनि साथ दिएकी छिन्।
अस्पतालको आइसोलेसन कोठामा ल्यान्डलाइन फोन राखिएको छ। यस्तै, डाक्टरलाई फोन गर्न अस्पतालले छुट्टै मोबाइल र नम्बर बिरामीलाई उपलब्ध गराएको छ। माथिल्लो तलाको आइसोलेसनमा बिरामी छन्, तल्लो तलामा डाक्टरसहित स्वास्थ्यकर्मीको टिम बस्छन्। बिहान र बेलुका डाक्टरसहितको टोली बिरामीको स्वास्थ्य परीक्षणमा पिपिई लगाएर जान्छन्। बिरामीले बोलाउँदा जुनसुकै बेला गएर स्वास्थ्य परीक्षण र उपचार गरिने डाक्टर पाठकले बताइन्।
नियमित स्वास्थ्य परीक्षण र बिरामीले बोलाएको बेलाबाहेक पनि उनीहरू संक्रमितको निगरानी गरिरहेका हुन्छन्। आइसोलेसनमा राखिएको सिसिटिभीमार्फत् स्वास्थ्यकर्मीको टोलीले बिरामीको अवस्था हेरिरहेको उनले बताइन्।
बिरामीको उपचारमा मात्रै होइन, उनीहरूको खाना, खाजालगायत संक्रमितका आफन्तले ल्याइदिने सामग्री पनि स्वास्थ्यकर्मीको यही टिमले बिरामीसम्म पुर्याउने गरेको छ। अहिलेसम्म अक्सिजन प्लान्ट नभएको यस अस्पतालमा २/३ घन्टा को फरकमा १२ वटासम्म अक्सिजन सिलिन्डर फेर्नुपर्छ। यो काम पनि यही स्वास्थ्यकर्मीको टिमले गरिरहेका छन्।
अस्पतालमै बसेर २४ घन्टा ड्युटी गर्दा कहिले त सुत्नै नपाउने उनीहरूको भनाइ छ।
‘दिनमा त्यही २/३ घन्टा सुतिन्छ होला’, डा. पाठकले भनिन्।
यसरी दिनरात अस्पतालमै बसेर सेवा दिनु परेको कारण भने जनशक्ति अभाव नै मुख्य कारण रहेको अस्पतालले जनाएको छ। यसका अलवा बिरामीको राम्रोसँग हेरचाह र उपचारमा यो विधिबाट काम गर्दा प्रभावकारी देखिएको डा. गौचनले बताए।
‘जुनसुकै बेला डाक्टरसहित स्वास्थ्यकर्मीको टोलीले उपचार गर्दा बिरामी छिटो निको हुने देखियो’, उनले भने, ‘जनशक्तिको अभाव भएकाले पनि यो विधिबाट काम नगरी भएन।’
अस्पतालको आइसोलेसनमा बसिरहेका र कोरोना निको भएर फर्केकाहरू पनि अस्पतालको सेवा देखेर दंग छन्।
‘हामीलाई त सबै कुरा डाक्टरले नै आएर दिनुहुन्छ,' उपचार गरेर फर्केकी एक महिलाले भनिन्, ‘जुनबेला पनि डाक्टर आउनुहुन्छ, हामीलाई धेरै कुरा सिकाउनुहुन्छ।’
अस्पतालका स्वास्थ्यकर्मी पनि बिरामीले गर्ने ‘रेस्पोन्स’कै कारण आफूहरू त्यसरी आइसोलेसनमा बसेर उपचार गरेको बताउँछन्। कोरोना संक्रमण भएर अस्पताल पुगेका संक्रमितले सुरूका ३-४ दिन गाह्रो मान्ने गरेको डा. पाठकले बताइन्।
‘बिस्तारै संक्रमितले पनि बुझ्दै जानुहुनछ। एकदम केयर हुने रहेछ भन्नुहुन्छ। हामीलाई एकदम रेस्पोन्स गर्नुहुन्छ। त्यही रेस्पोन्सले मात्रै हामीलाई काम गर्न उर्जा दिन्छ’, उनले भनिन्।
अस्पतालबाट डिस्चार्ज भएर जाने बिरामीले समेत आफ्ना आफन्त र साथीलाई कोरोना संक्रमण हुँदा यही अस्पतालमा जान सिफारिस गर्ने गरेको उनीहरूको अनुभव छ।
यसरी टिममा अस्पतालमै बसेर सेवा दिन उनीहरूले समय तोकेका छन्। ७ देखि १० दिनमा टिम फेरिने र २ देखि ५ दिन होम आइसोलेसनमा बसेर फेरि फर्कनु पर्ने डा. पाठक बताउँछिन्।
‘मेरो टिमको पालो अब सकिने बेला भयो, हामी होम आइसोलेसन जान्छौं’, उनले भनिन्, ‘अब अर्को टिम आएर यसरी नै बिरामीको उपचारमा खट्नुहुन्छ।’
बिरामीको उपचारमा दिनरात नभनी खटिएका यी स्वास्थ्यकर्मीलाई हेर्ने सरकारी दृष्टिकोण भने असल छैन। सामुदायिक अस्पतालबाट सरकारी अस्पतालमा रूपान्तरण हुँदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई करार सेवाअन्तर्गत सरकारी नियुक्ति दिने सहमति भएको थियो।
साउन १ गतेदेखि नै सरकारी अस्पतालका रूपमा बजेट र कार्यक्रम पुगे पनि अहिलेसम्म उक्त अस्पतालका स्वास्थ्यकर्मीले नियुक्तिसमेत पाउन सकेका छैनन्। अस्पतालमै बसेर सेवा दिएकी डा. पाठकको टिमका कसैले पनि अहिलेसम्म नियुक्ति पाएका छैनन्।
सरकारले यसअघि स्वास्थ्यकर्मीका लागि होटल क्वारेन्टिनको व्यवस्था गरेको थियो। संक्रमितको उपचार गर्न खटेका स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न र उनीहरूबाट अरूलाई कोरोना सर्न नदिन त्यस्ता उपाय अपनाएका थियो। कोरोनाको भ्याक्सिन लगाएपछि भने सरकारले स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्न बन्द गरेको छ।
सरकारी अस्पताल भएपछि उक्त अस्पतालमा निर्देशकदेखि केही सरकारी दरबन्दीका स्वास्थ्यकर्मी र कर्मचारी पुगेका छन्।
उनीहरूले दशैं भत्ता, महँगी भत्तालगायत सरकारले दिने तलबबाहेकका अन्य सुविधा उपभोग गरिरहेका छन्। अस्पतालमा पहिल्यैदेखि खटिएका र बिरामीको हेरचाहमा लागेका अन्य स्वास्थ्यकर्मीले भने शुद्ध तलबबाहेक अरू कुनै सुविधा पाएका छैनन्
सरकारले गत वर्ष कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने घोषणा गरेको थियो। उक्त घोषणाअनुसार अन्य सरकारी अस्पताल र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले केही महिनाको भत्ता पाए पनि। तर यस अस्पतालका कोही पनि स्वास्थ्यकर्मीले अहिलेसम्म कोरोना भत्ता पाउन सकेनन्।
‘सरकारले दिन्छु भनेका भत्ता हामीले केही पनि पाएका छैनौं, शुद्ध तलबका भरमा खटेका हौं’, डा. पाठकले भनिन्, ‘नियमित पाउनु पर्ने सरकारी भत्ता पनि पाएनौं, यसपछि त आउँछ भन्ने आश्वासनमात्र आउँछ।’
गण्डकी प्रदेश सरकारले कोरोना महामारी सुरू भएदेखि नै यस अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा लिएको थियो। पछि अस्पताल व्यवस्थापन र प्रदेश सरकारबीच सहमति भएर प्रदेश सरकारले अस्पतालको स्वामित्व लियो। साउन १ गतेदेखि बजेटसहितका कार्यक्रम दियो।
कोरोना महामारीविरूद्ध सुरूदेखि नै खटिएका यस अस्पतालका कोही पनि स्वास्थ्यकर्मीले कोरोना भत्ताका नाममा अहिलेसम्म १ रुपैयाँ पनि नपाएको उक्त अस्पतालका स्वास्थ्यकर्मी बताउँछन्।
‘सरकारको मुख हेरर हामीले सेवा दिने होइन, बिरामी हेरेर कर्तव्य पूरा गर्ने हो’, अस्पतालका अर्का एक स्वास्थ्यकर्मीले भने।
यसबारे स्वास्थ्यकर्मीले बेलाबखत अस्पतालका निर्देशकलाई सोध्छन्। निर्देशकले पनि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा माग गरेको जवाफ दिन्छन्। यसअघि सामाजिक विकास मन्त्री नरदेवी पुन स्वयं कोरोना संक्रमित हुँदा सोही अस्पतालको आइसोलेसनमा बसेकी थिइन्।
माघ २१ गते कोरोना पुष्टि भएकी मन्त्री पुन माघ २४ गतेदेखि १२ दिन सोही अस्पतालको आइसोलेसन बसिन्। निको भएर फर्किन्। उनले त्यहीँ बस्दासमेत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको माग सम्बोधन गर्न सकिनन्।
मन्त्री पुनले उक्त अस्पतालका स्वास्थ्यकर्मीले राम्रो सेवा दिए पनि सरकारले सुविधा दिन नसकेको स्वीकारिन्। उनले सेतोपाटीलाई भनिन्, ‘अहिले हामीले कोरोना भत्ता दिने अवस्था छैन, माथि लेखेर पठाएको छु। संघीय मन्त्रीलाई पनि अघिल्लो वर्षकै भत्ता दिएको छैन भनेर निकासा मागेको छु। नियुक्ति पत्र दिने र अरू सरकारी कर्मचारीले झैं सुविधा पाउने विषयमा मैले मन्त्रालयका साथीहरूलाई भनेको छु।’
कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अस्पतालका बेड पनि भरिँदै गएका छन्। अक्सिजन दिनु पर्ने, भेन्टिलेटरमा राख्नुपर्ने वा आइसियुमा राख्नु पर्ने बिरामीलाई मात्रै अहिले गण्डकीमा अस्पताल भर्ना गरिएको छ। बाँकी संक्रमित भने होम आइसोलेसनमा छन्।
गण्डकी प्रदेशमा बिहीबार साँझसम्मको रेकर्डअनुसार कोरोना संक्रमणका कारण हालसम्म २ सय ४१ जनाको मृत्यु भइसकेको छ। अहिले गण्डकीमा ३ हजार ३१७ जना कोरोनाका सक्रिय संक्रमित छन्। जसमा २ हजार ८०४ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस तथ्याङ्कका आधारमा अहिले गण्डकी प्रदेशमा जम्मा ५१३ जना अस्पताल भर्ना भएका छन्।
यी पनि पढ्नुस्:
समुदायले बनाएको अस्पताल कोरोनाले बनाइदियो सरकारी
अस्पताललाई सर्वस्व दान दिएर भाडामा बसेको दम्पती