भक्तपुर बस्नुहुन्छ र कोरोना संक्रमित हुनुहुन्छ भने आइसोलेसन बस्न कहाँ जाने?
महामारीलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले ख्वप अस्पताल पुनः सञ्चालनमा ल्याएको छ। ब्रह्मायणीस्थित यो अस्पतालमा सामान्य बिरामीका लागि ५० शैया र गम्भीरका लागि २५ शैयाको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन गरिएको हो।
'अघिल्लो वर्ष असोज १० गतेबाट हामीले आइसोलेसन सुरू गरेका थियौं। त्योबेला सामान्य आइसोलेसन मात्र थियो। अहिले भने एचडियु पनि यसैमा सञ्चालन गर्न लागेका छौं,' अस्पतालका डाक्टर रत्नसुन्दर लासिवाले भने, '७५ जनालाई हामीले सजिलै सेवा दिन सक्छौं।'
पोहोर यहाँबाट ९७ जनाले स्वास्थ्य सेवा पाएर निको भएपछि फर्किएका थिए। त्यसपछि केही समय कोरोना मत्थर भएकाले आइसोलेसन सेवा बन्द थियो। बीचमा एक–दुई जनालाई संक्रमण देखिए पनि सिंगो अस्पतालमा बस्न डराएर घरमै बसेको लासिवाले जानकारी दिए। अहिले फेरि कोरोनाको दोस्रो लहर सुरू भएकाले १७ गतेबाट सामान्य रूपमा आइसोलेसनमा बस्ने सुविधा सुरू भएको हो।
'हाम्रोमा घर-आइसोलेसन भनेर पनि छ। कतिपयको एउटै कोठामा धेरै परिवार बस्नुपर्ने र छुट्टै बस्न नमिल्ने पनि हुन सक्छ। कति त बाहिरबाट डेरा बस्ने पनि हुन्छन्। उनीहरूलाई पनि हामीले राख्ने गरेका छौं,' लासिवाले भने, 'भेन्टिलेटर वा आइसियुमा राख्न नपर्ने केश छन् भने पनि लिने गरेका छौं।'
वैशाख १७ गते पहिलो दिनमा यहाँ सात जना भर्ना भएका थिए। त्यसपछि थपिनेक्रम, निको हुनेक्रम सबै गर्दा २२ जना यहाँ आइसकेका छन्। दुई जनालाई भने अक्सिजनको स्याचुरेसन नमिलेर प्रहरी अस्पताल महाराजगञ्ज र अर्कोलाई भक्तपुर अस्पताल रिफर गरिएको थियो।
यहाँको आइसोलेसनमा बिरामीले भर्ना भएर उपचार सेवा मात्र पाउने होइनन्, हरेकका लागि अलग-अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जका लागि छुट्टाछुट्टै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नका लागि किताब र पत्रपत्रिका व्यवस्था छ। दिनमा उनीहरूले चार पटकसम्म खाना पाउने व्यवस्था छ।
बिरामीलाई जेलमा बसेजस्तो अनुभव नहोस् भनेर बाहिरको गतिविधिबारे जानकारी दिने र विशेषज्ञले परामर्शसमेत दिने लासिवा बताउँछन्।
'आइसोलेसन भनेको के हो, कसरी बस्ने लगायत सबै जानकारी हामी जुम मिटिङमार्फत दिन्छौं,' उनले भने, 'त्योबाहेक यस्तो समयमा फिजिओथेरापीको पनि धेरै ठूलो महत्व हुन्छ। सास कसरी तान्दा राम्रो हुन्छ, फाल्ने कसरी, कुन पोजिसनमा सुत्ने लगायत सबै कुरा कक्षामार्फत सिकाउँछौं।'
परिवारलाई आफ्नो बिरामी कस्तो अवस्थामा छ भनेर सोध्न अहिले त आ–आफ्नो हातमा भएको फोन सुविधा छँदैछ। त्योबाहेक उनीहरूलाई हेर्नै मन भए अस्पताल आएर सिसिटिभी क्यामरामार्फत हेर्न पाउँछन्। माथि भने संक्रमित, चिकित्सक र सरसफाइकर्मी बाहेकलाई जान निषेध छ।
चौबीसै घन्टा बस्नेगरी यहाँ दुई जना स्वास्थ्यकर्मी छन्। उनीहरूलाई सहयोग गर्ने प्रशासनिक कर्मचारी, सफाइकर्मीहरू पनि छन्। चार तलाको भवनमा महिला, गर्भवती, पुरुष, केटाकेटी र वृद्धवद्धा बिरामी राख्ने छुट्टाछुट्टै कोठा छन्।
उनीहरूलाई एकआपसमा कसरी बस्ने भनेर बेड पनि मिलाइएको छ। टाढैबाट उनीहरू कुराकानी गरेर मन बहलाउन सक्छन्। उनीहरूलाई सूचना प्रवाहका लागि माइकिङ गरिन्छ। त्यहाँ गइसकेपछि उनीहरूले आफूले प्रयोग गर्ने लुगाबाहेक सबै सुविधा नगरपालिकामार्फत निःशुल्क पाउने उनले जानकारी दिए।
'यहाँ पाइने सेवा–सुविधा निःशुल्क हुन्। नगरभित्रका मान्छेको कोरोना परीक्षण गर्न परे घरै गएर स्वाब लिइन्छ,' लासिवाले भने, 'भक्तपुरमा मान्छे धेरै भए पनि क्षेत्रफलको हिसाबमा सानो छ। त्यसैले वडा–वडामा स्वाब परीक्षण गराउनुभन्दा हामीले छुट्टै टिम बनाएर घर जाने व्यवस्था गरेका छौं। एम्बुलेन्स पनि कोभिड बिरामी र अन्यका लागि बेग्लै व्यवस्था छ।'
नगरप्रमुख सुनील प्रजापतिका अनुसार अस्पताल र अन्य खर्च व्यवस्थापनका लागि 'कोभिड व्यवस्थापन कोष' बनाइएको छ। अहिलेको लागि ख्वप अस्पतालमा आकस्मिक रूपमा कोरोना बिरामीले सेवा पाइरहेको र अर्को ठूलो अस्पताल पनि निर्माण भइरहेको उनले जानकारी दिए।
'च्यामासिंहमा अहिले ७६ करोड लागतमा ठूलो अस्पताल बनिरहेको छ। भवन यही वर्षसम्मा बनाउने लक्ष्य लिएका छौं,' मेयर प्रजापतिले भने।