धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाहिर नाम परिवर्तन हरि राना छटपटाउँदैछन्।
सास फेर्न गाह्रो भएपछि उनलाई परिवारका सदस्यले अस्पताल ल्याएका थिए।
उनलाई अक्सिजन आवश्यक परेको छ तर अस्पतालमा पर्याप्त अक्सिजन छैन।
परिवारका सदस्य र आफन्तले पनि अक्सिजनको जोहो गर्न सकेका छैनन्।
बिहीबार उनको स्वाब लिइएको थियो। रिपोर्ट आइसकेको छैन। ४८ घन्टापछि रिपोर्ट आउँछ भनिएको छ। चार दिनयता उनको स्वास्थ्य बिग्रेको छ।
‘सास फेर्न गाह्रो भएपछि अस्पताल ल्यायौं। कोरोना छ कि भनेर स्वाब दियौं तर अहिलेसम्म रिपोर्ट आएन,’ हरिका बुवाले भने, ‘४८ घन्टापछि रिपोर्ट आउँछ भनेका छन्।’
उनका अनुसार शनिबारसम्म स्वाब परीक्षणको रिपोर्ट आउने छ।
‘उसलाई सास फेर्न गाह्रो भइरहेको छ। अक्सिजनको सपोर्ट चाहिन्छ भनेका छन् तर अस्पतालमा पाइएलाजस्तो छैन,’ उनले भने।
बिहीबार एक सिलिण्डर अक्सिजनको जोहो भएको थियो।
‘केहीबेर अक्सिजन जोडेका थियौं, उसलाई सास फेर्न सजिलो भएजस्तो भएको थियो। यो सिलिण्डरमा अक्सिजन धेरै छैन। आजै सकिन्छ, अर्को सिलिण्डर खोजेको पाइएन,’ उनले भने।
अस्पतालले उनलाई उपचार गर्न नसकिने भन्दै काठमाडौं लैजान भनेको छ।
काठमाडौंमा अक्सिजन पाएर राम्रो उपचार हुने आशमा हरिका परिवारले डाक्टरले भनेअनुसार कसरी लैजाने भन्नेबारे सोधीखोजी गरे।
उनीहरूले चिनेजानेका सबै सांसद, नेतालाई फोन गरे।
उनीहरूले काठमाडौंमा गाडी भन्दा चाँडो पुग्ने भएकोले हेलिकप्टरमा लग्न सल्लाह दिए।
तर, हेलिकप्टरमा सोचेभन्दा बढी पैसा लाग्ने भनेपछि हरिको परिवार थप समस्यामा परेको छ।
‘हेलिकप्टरमा लैजान १० लाख मागेको छ। त्यति पैसा त हामीसँग छैन,’ उनका आफन्तले भने।
बिरामीका आफन्त एकपछि अर्को अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्नमै लागेका छन्।
हरिको परिवारजस्तै अस्पतालमा आउने बिरामीका आफन्तले संक्रमितलाई बचाउन अक्सिजन खोज्न धेरै संघर्ष गर्नु परिरहेको एक बिरामीले बताए।
‘राम्रो ठाउँमा उपचारका लागि जाऊँ पैसा छैन, यता अक्सिजन छैन, हामीलाई पीडैपीडा छ,’ उनले भने।
प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेतीमा कोभिड उपचार भवनमा ५८ जना, इर्मेजन्सी वार्डमा पनि ४० भन्दा बढी संक्रमित र लक्षण देखिएका बिरामी उपचाररत् छन्।
कोभिड भवन भरिएपछि अस्पताल प्रशाशनले इर्मेजन्सी वार्डमा पनि संक्रमितहरूको उपचार गर्दै आइरहेको छ।
अस्पतालमा आउने अधिकांश बिरामीहरूलाई अक्सिजन चाहिने भएकोले पूर्ति गर्न समस्या भइरहेको अस्पतालका सूचना अधिाकरी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
‘अक्सिजनको माग धेरै छ, तर माग पूरा गर्न सकिएको छैन,’ उनले भने।
अस्पतालमा बिरामी बढेपछि सिँढीमुनि, भुइँमा, अस्पतालबाहिर पनि उपचार भइरहेको छ।
यो अस्पतालमा आकस्मिक कक्षमा १६ शैया छन्। तर, अहिले ४० जना बिरामी छन्। यीमध्ये २५ जनालाई अक्सिजन चाहिएको इर्मेजन्सी वार्डका इन्चार्ज भरत खातीले बताए।
‘दैनिक बिरामी बढेका छन्, अक्सिजनको धेरै अभाव भइरहेको छ। हामीले माग अनुसार बिरामीलाई अक्सिजन दिन सकेका छैनौं,’ उनले भने।
सेती प्रादेशिक अस्पतालमा १५ मिनेटमा एक सिलिण्डर आवश्यक परिरहेको छ। एक घण्टामा चार वटा सिलिण्डर अक्सिजन आवश्यक परिरहेको छ।
अस्पतालमा दैनिक एक सय ४० सिलिण्डर आवश्यक छ।
तर, अस्पतालमा भएको प्लान्टले एक दिनमा बढीमा ५५ मात्रै सिलिण्डर अक्सिजन भर्छ।
धनगढीमा मालिका अक्सिजन ग्यास उद्योग प्रदेशको एक मात्र अक्सिजन उद्योग हो।
यसले माग धान्न सकेको छैन। अस्पतालहरूलाई आवश्यक पर्ने सिलिण्डर नेपालगन्जलगायत अन्य ठाउँबाट भरेर ल्याउने गरिएको छ।
मालिकाले २४ घण्टामा एक सय ४४ सिलिण्डर अक्सिजन भर्ने गरेको जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
‘त्यो पनि बत्ती गएर र तातेर मेसिन बन्द हुन्छ, यसले सिलिण्डर कम भरिन्छ,’ उनले भने।
सुदूरपश्चिम प्रदेशमा अहिले दैनिक पाँच सय सिलिन्डर अक्सिजनको माग छ।
तर, यहाँ दैनिक दुई सय सिलिन्डर अपुग रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेशभरि तीन सय वटा सिलिण्डर मात्रै रहेको बताए।
ती तीन सय वटा सिलिण्डर भर्ने क्षमताको उद्योग यो प्रदेशमा छैनन्।
प्रदेश सरकारले अक्सिजन उत्पादक गर्ने प्लान्ट जोड्न पहाडी जिल्लाका ६ वटा अस्पताललाई ८० लाखका दरले रकम पठाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टको सचिवालयले अक्सिजन व्यवस्थापनका लागि सिलिण्डर थप गर्ने काम भइरहेको जनाएको छ।
मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले चीनबाट आउनेमध्ये एक हजार पाँच सय थान सिलिण्डर सुदूरपश्चिम ल्याइने बताए।
‘यहाँ अक्सिजनभन्दा पनि सिलिण्डरको अभाव हो, सिलिण्डर बढी भए, एक वा दुई लगाएर भए पनि चितवन, वीरगन्ज लगायतका ठाउँबाट भरेर ल्याउन सकिन्छ,’ उनले भने।
उनले उद्योग स्थापन गर्न समय लाग्ने भएकोले सिलिण्डर ल्याउन थालिएको बताए।
यता, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले देशकै उद्योग मन्त्री यही प्रदेशले पाएकोले बेला अक्सिजन उत्पादन उद्योग स्थापना हुनुपर्ने बताए।
‘अक्सिजन चाहिएकै छ। चाहिएकै बेला प्रदेशमा अक्सिजन उद्योग छिटो स्थापना भए राम्रो हुन्थ्यो, यसका लागि प्रदेश सरकार पनि केही रकम बजेट छुट्याउन तयार छ,’ उनले भने।