वैशाख १६ गते बेलुका कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा दुई जना बिरामीको मृत्यु भयो। भोलिपल्ट आएको पिसिआर रिपोर्टमा उनीहरूलाई कोभिड-१९ पोजिटिभ देखियो।
अवस्था असामान्य भएका उनीहरूलाई कोभिड रिपोर्ट नआई कोभिड अस्पतालमा राखेर उपचार गर्न पनि मिलेन।
यदि उनीहरूलाई तत्काल कोभिड अस्पतालमा लिएर त्यस अनुसारको उपचारको जोहो गर्न सकेको भए बाँच्ने सम्भावना हुन्थ्यो। त्यसका लागि बिरामीहरूसँग कोभिड चेक गरेको रिपोर्ट हुनुपर्थ्यो।
कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएका कोभिड-१९ संक्रमितहरूका आफ्नै पनि कमजोरी भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेल बताउँछन्।
मानिसले आफूलाई ज्वरो आयो वा शरीर दुख्यो भने टाइफाइड भनेर सानो औषधी पसलमा गएर सुई लगाउने तर कोभिड चेक नगराउने गर्नाले पनि समस्या हुने गरेको उनी बताउँछन्।
‘बिरामीहरू यतिकै पनि ढिला आइपुग्नुभएको हुन्छ, त्यहीमाथि अस्पतालको प्रक्रिया पुर्याउँदा झन् ढिला भएर बिरामीको ज्यानै जान सक्छ,’ डा. पौडेलले भने, ‘त्यसकारण शंका लागेको वा लक्षण देखिएको व्यक्तिले चेक गराएर कोभिड रिपोर्ट हातमा राखेर बस्नुभयो भने बिरामी र अस्पताल दुबैलाई सहज हुन्छ।’
अघिल्लो सालतिर देखिएको टाइफाइडले बिरामीहरूलाई मेडिकलमा गएर औषधी किन्ने बानी बसाइदिएको उनी बताउँछन्। गएका वर्षहरूमा सामान्य भाइरल ज्वरोलाई पनि टाइफाइड भन्ने अनि त्यसको सुई लगाएर केही दिनपछि मानिसलाई सञ्चो हुने भएको थियो। अहिले पनि त्यही अवस्था देखिएको डा. पौडेलले बताए।
उनी भन्छन्, ‘कोभिड भएको बिरामीहरूले पनि पोहरपरार जस्तै मलाई टाइफाइड भयो होला भनेर सानो औषधी पसलमा गएर टाइफाइडको सुई लगाउने। तीन-चार दिनपछि सञ्चो नभएर मलाई टाइफाइडको औषधीले काम गरेन भनेर हामीकहाँ आउने गर्नुभएको छ। उहाँहरूको कोभिड रिपोर्ट फेरि पोजिटिभ हुन्छ।’
यसले गर्दा पनि धेरैजसो कोभिडका बिरामीको ज्यान जाने गरेको पौडेलले बताए। यसरी आएका बिरामीको अक्सिजनको मात्रा ७०-७५ मा घटिसकेको भेटिने गरेको उनले बताए।
उनका अनुसार अस्पतालमा सुरुमै मलाई ‘कोभिड पो भयो कि’ भनेर आउने बिरामीहरू ३० प्रतिशत रहेका छन्। बाँकी ६०–७० प्रतिशत कोभिड संक्रमितहरूले हेल्चेक्र्याइँ गर्ने गरेको उनले बताए।
‘धेरैजसो ६० देखि ७० प्रतिशत बिरामीहरू मलाई कोभिड होइन होला भनेर घरै बसिदिने, सानोतिनो फार्मेसीमा गएर अन्य सुई लगाइदिने, औषधी खाइदिने गर्नुहुन्छ,’ डा. पौडेलले भने, ‘चार-पाँच दिनपछि अक्सिजनको मात्रा घटेर असाध्यै जटिल अवस्था बनेपछि हामीकहाँ आउने गरेको पनि देखिएको छ। यसरी अन्तिम अवस्थामा आउने बिरामीहरुलाई हामीले धेरै दिन बचाउन सकेका छैनौं।’
डा. पौडेलका अनुसार यो अवस्थामा आउने कोभिड-१९ का बिरामीहरूको आएकै दिन वा भोलिपल्ट मृत्यु हुने गरेको छ।
बिरामीहरूले ‘कोभिड भए पनि औषधी छैन, मैले किन जँचाउनू’ भन्ने सोच बनाएर बस्ने गरेको उनी बताउँछन्।
तर, त्यसो होइन।
डा. पौडेल भन्छन्, ‘बिरामीहरू सिरियस भएर हामीकहाँ आउनुभयो भने हामीलाई कोभिड रिपोर्ट निकाल्नै समय लाग्छ। पहिला हामीलाई पनि थाहा हुँदैन, कोरोना हो कि होइन भनेर। यदि बिरामीको हातमा कोभिड भएको रिपोर्ट भयो भने तुरुन्त कोभिड अस्पताल वा कतै राखेर त्यस अनुसारको उपचार गर्न सकिन्छ।’
यस्तो महामारीका बेलामा कोही पनि टाइफाइडको पछाडि नलागेर ज्वरो आएमा, शरीर दुखेमा तुरुन्त कोरोना चेक गराइहाल्नुपर्ने डा. पौडेल बताउँनछन्।
कर्णाली प्रदेशमा बुधबारदेखि बिहीबारसम्मको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसमध्ये पनि ५ जनाको कर्णाली प्रदेश अस्पतालभित्रै मृत्यु भएको छ।
प्रदेश अस्पतालमा मृत्यु भएकाहरू अधिकांश जटिल अवस्थामा कोभिड चेक नगराई आउनेहरू नै रहेको डा. पौडेलले बताए।
हालसम्म कर्णाली प्रदेशभर ८० जनाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार अघिल्लो भन्दा पछिल्लो चरणको कोभिडबाट मृत्युदर धेरै रहेको छ।