चार दिनअघि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराबाट फोन आयो। फोन गर्ने मानिसले सोधे– त्यहाँ अक्सिजनसहितको बेड छ कि छैन ? हाम्रो बिरामीलाई समस्या भएर फोन गरेको !
प्रतिष्ठानका मान्छेले अक्सिजनसहितको बेड भएको जानकारी गराए। फोन गर्ने मान्छेले ‘त्यसो भए हेलिकप्टर पाए बिरामीलाई जुम्ला ल्याउने’ बताए।
बिहिबार बेलुका धनगढीको सेती प्रादेशिक अस्पतालका कर्मचारीले पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फोन गरे।
धनगढीमा अक्सिजन अभाव भएकाले आफूकहाँ आएका बिरामी पठाउन मिल्ने/नमिल्ने बारेमा सोधे।
उनलाई पनि प्रतिष्ठानका चिकित्सकले पठाईदिन भने। धनगढीबाट शुक्रबार बिहान हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीलाई पुर्याउने कुरा थियो।
यद्यपी अक्सिजनसहितको बेडका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्झिएका ती बिरामीका आफन्तले बिरामी जुम्ला पुर्याउन सकेका छैनन्।
‘सायद उतै व्यवस्था भयो होला या त हेलिकप्टरको व्यवस्था भएन होला, त्यसैले यहाँ आउँछु भने पनि आउनुभएन,’ प्रतिष्ठानका डा. राजीव शाहले सेतोपाटीसँग भने, ‘सुगमका अस्पतालहरु भरिएर आईसीयु बेड नपाएपछि हामीलाई बेड छ कि छैन भनेर फोन गर्नुहुन्छ। हामीसँग अहिले केही बेड छन्। त्यसैले आउनुस् भन्ने गरेका छौं।’
प्रतिष्ठानमा आउन खोजेका बिरामीहरु मौसम प्रतिकुलताका कारण नआएको हुन सक्ने डा. शाहले बताए।
धनगढीबाट जुम्ला जान खोजेका कोरोना संक्रमितका आफन्तले नेपालगञ्ज र कोहलपुरमासमेत अक्सिजनसहितको बेड नपाएपछि प्रतिष्ठानमा जान खोजेका थिए।
‘नेपालगञ्ज र कोहलपुरमा पनि उहाँहरुले बेड सोध्नुभएछ, त्यताबाट उपलब्ध छैन। यता नल्याउँदा हुन्छ भनेपछि हामीलाई फोन गर्नुभएको थियो,’ प्रतिष्ठानमा कार्यरत डा. अनु स्मृतिले भनिन्, ‘हेलिकप्टर आउन ढिला हुने भएर शुक्रबार दिउँसोसम्म आउँछु भन्नुभएको थियो, तर आईसक्नुभएको छैन। सायद अन्यत्रै लिनुभयो होला।’
कर्णाली प्रदेशको राजधानीसँगै प्रदेश अस्पताल समेत भएको सुर्खेतका दुई जना कोरोना संक्रमितहहरु अहिले पनि प्रतिष्ठानमा उपचारको क्रममा छन्। एक सातादेखि उनीहरु उपचारको लागि प्रतिष्ठानमा आएको डा. शाहले बताए।
‘अहिले उहाँहरुको स्वास्थ्य अवस्था सुधार भईरहेको छ, अबको तीन/चार दिनमा डिस्चार्ज गर्छौं,’ शाहले भने।
उनका अनुसार प्रतिष्ठानमा १२० वटा कोभिडका बिरामीका लागि भनेर शैय्या छुट्याईएको छ। त्यसमध्ये २४ वटा एचडियू, १२ वटा आइसियू र १५ वटा भेन्टिलेटर रहेको उनले बताए। प्रतिष्ठानमा रहेका अक्सिजन सिलिन्डरमध्ये १०० वटा कोभिड अस्पतालका लागि मात्र छुट्याईएको छ।
विद्युतको अभावका कारण सञ्चालनमा आउन नसकेको अक्सिजन प्लान्टका लागि ‘अक्सिजन विथ बुस्टर’ जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बुस्टर खरिद्का लागि सात दिने सूचना जारी गर्न लागिएको डा. शाहले बताए। अहिले जेनरेटरबाट चलाएको प्लान्टबाट २० जनालाई ‘हाई फ्लो’मा अक्सिजन दिन मिलेको उनले बताए।
प्रतिष्ठानमा अहिले पनि १५ जना बिरामीहरुको अक्सिजनसहित उपचार भईरहेको छ। ‘तत्कालका लागि हामीलाई बाहिरबाट केही संक्रमितहरु आउनुभयो भने पनि समस्या छैन,’ डा. शाहले भने, ‘तर स्थानीय स्तरमै ह्वात्तै सिरियस संक्रमितहरु बढे भने चाहीँ व्यवस्थापन गर्न चुनौती नै छ।’
२०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको केही बर्षयता सुगमको समेत भरोसा बन्न थालेको छ।
कोरोना सुरु हुनुअघि पनि सुगम मानिएका सुर्खेत, नेपालगञ्ज लगायतका जिल्लाबाट बिरामीहरुलाई जुम्ला लगेर उपचार गराईन्थ्यो।
नेपालको अति दुर्गम जिल्लामध्येमा जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि तराईका बिरामी पहाड उक्लिने गरेका छन्।