जिल्ला अस्पताल सल्यानको आइसोलेशन कक्ष बिरामीले भरिएको छ। १६ बेड रहेको आइसोलेशन कक्ष भरिएपछि अन्य कोरोनाका बिरामीहरुलाई इमरजेन्सीमा राखेर उपचार गर्न थालिएको छ।
आपत्कालीन कक्षमा ६ जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको क्लिनिकल प्रमुख डा. भिमकान्त जैशीले जानकारी दिए।
‘१६ बेडको आइसोलेशन कक्षमा बिरामी भरिसकेका छन्, यसलाई हामीले १८ बेड बनाउन थालेका छौं,’ डा. जैशीले भने, ‘बेड नपाएर ५÷६ जनालाई इमरजेन्सीमै राखेर उपचार गराईरहेका छौं।’
अन्य बिरामीहरुलाई बाहिरै जाँच गराएर सम्बन्धित कक्षमा लिएर उपचार गर्ने गरिएको उनले बताए। ‘कोभिड लक्षण भएका बिरामी आए भने सम्बन्धित बेडमा लैजान्छौं, अरु लक्षणका बिरामीहरुलाई बाहिरै जाँचेर वार्डमा उपचार गर्न लैजान्छौं’ उनले भने।
जिल्ला अस्पतालमा रहेका कोभिडका बिरामीमध्ये ३ जना बिरामी ‘हाई फ्लो’ अक्सिजन दिनुपर्ने बिरामी छन्।
अक्सिजन प्लान्ट जडानका लागि सामान आइसकेपछि पनि जडान हुन सकेको छैन। सामान एक साता अघि सल्यान आएको उनले बताए। आइतबार ईञ्जिनियरहरु अक्सिज प्लान्टको प्रारम्भिक कार्यका लागि आएको डा. जैशीले बताए।