अहिले जटिल अवस्थाका कोरोना संक्रमितलाई पनि भनेको बेला अस्पतालमा बेड पाउन मुस्किल छ। जसका कारण कतिपय संक्रमितहरू सिकिस्त भएर पनि घरमै बसिरहेका छन्।
घरमै रहेका उनीहरूले धेरै कष्ट झेलिरहेका हुन्छन्। एक त उनीहरूमा अक्सिजनको मात्रा कमी भएकाले श्वासप्रश्वासमा समस्या हुन्छ। त्यसमाथि आवश्यक उपचार र चिकित्सकको निगरानी नहुँदा समस्या बल्झिएर बिरामीको ज्यानै जानसक्ने पनि जोखिम रहन्छ।
त्यस्तो अवस्थामा के गर्ने? संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी सिकिस्त संक्रमितलाई अस्पताल नपुर्याउन्जेल 'स्टेरोइड' नामक औषधि खुवाउन सुझाउँछन्। उनले यो औषधिले सिकिस्त संक्रमितमा रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउने जनाए।
यो औषधि कुन बेलामा खाने भन्ने जिज्ञासाबारे डा. सुवेदी भन्छन्, 'अक्सिजन स्याचुरेसन ९२ भन्दा कम भयो भने यो औषधि लिने हो। यो औषधि लिएपछि सिकिस्त संक्रमितलाई राहत पुग्छ। कतिलाई त खाएपछि अक्सिजन नचाहिने पनि हुनसक्छ।'
अक्सिजनको मात्रा कमी नभई यो औषधि सेवन गर्नाले भने हानी गर्ने सुवेदी बताउँछन्। त्यसका लागि पहिले राम्ररी अक्सिजनको मात्रा कमी भएको वा नभएको एकिन गर्न मज्जाले स्याचुरेसन नाप्नुपर्ने उनको सुझाव छ।
'पल्स अक्सिमिटर मेसिन कम्तीमा आधादेखि एक मिनेटसम्म औंलामा राख्दा आएको संख्या याद गर्ने। र त्यो संख्या ९२ वा त्योभन्दा कम भयो भनेचाहिँ बिरामीलाई अक्सिजन चाहिन्छ र केही औषधि चाहिन्छ। जसले उहाँहरूलाई सिकिस्त पार्न सम्भावना कम पार्छ,' उनले भने।
यो औषधिले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ।
डा. सुवेदीका अनुसार यो औषधि बिरामीको सुधारको अवस्था हेरेर डोज मिलाउँदै दिनुपर्ने हुन्छ। उनले भने, 'सुरूका सात-आठ दिनचाहिँ ३२ मिलिग्राम दिने र त्यसपछि अक्सिजन नचाहिने अवस्था भयो भने त्यसलाई क्रमशः घटाउँदै २४ मिलिग्राम, २४ देखि १६ मिलिलिग्राम, १६ देखि ८ मिलिग्राम र ८ देखि ४ मिलिग्राम पुर्याउने र चार-पाँच दिनपछि बन्द गर्ने।'
यो औषधि बजारमा सहजै पाउने र सस्तो पनि रहेको डा. सुवेदी बताउँछन्।
कतिपयले यसरी सार्वजनिक रूपमा बिरामीलाई औषधि सिफारिस गर्न नहुने पनि तर्क गरेका छन्।
यसबारे डा. सुवेदीले अहिले कठिन परिस्थिति आएको भन्दै आफूले बाध्य भएर औषधि सिफारिस गर्नु परेको जवाफ दिएका छन्। सकेसम्म यो औषधि डाक्टरले अस्पतालमा जाँच गरेर दिने हो उल्लेख गर्दै डा. सुवेदीले भने, 'तर अहिले बिरामीले अस्पतालमा भर्ना पाएका छैनन्। अक्सिजन पाएका छैनन्। अस्पतालमा भर्ना भएका बिरामी पनि औषधि अभावमा बाहिर निकाल्नुपर्ने स्थिति भइरहेको छ। त्यसैले अस्पताल भर्ना गर्न नसकिएको बिरामीहरूलाई मैले यो औषधि खान थाल्नुस् भनेको हो।'
उनले यो औषधिबारे बेलायतमा पनि क्लिनिकल ट्रायल भएको भन्दै त्यस अध्ययनले यो औषधि १० दिन खानु पर्ने सिफारिस गरेको सुनाए। आफूहरूले भने बिरामीको सुधारको अवस्थालाई मध्यनजर गर्दै सोही अनुसार खान सुझाएको उनले बताए।
डा. सुवेदीले आफूले डाक्टरको परामर्श पनि लिन नसकेका र अस्पतालमा भर्ना हुन नसकेका जटिल अवस्थाका संक्रमितहरूलाई यो औषधि लिन सुझाव दिएको जनाए।
'अस्पताल छ, डाक्टर छ तर बिरामीलाई भर्ना गर्ने ठाउँ छैन। मान्छेहरू मरिरहेका छन्। बिरामीहरू अक्सिजन नपाएर घरमै छट्पटाइरहेका छन्,' उनले भने, 'अर्को कुरा रोगले बेस्सरी च्यापरिरहेका बेला अक्सिजन दिएर मात्र रोग निको हुँदैन। रोगको प्रक्रियालाई नियन्त्रण गर्न र निको बनाउन यो औषधि चाहिन्छ। त्यही भएर अक्सिजन पाए पनि/नपाए पनि अस्पताल भर्ना नभइन्जेल वा डाक्टरको परामर्श नपाउँदासम्म र अक्सिजनको मात्रा घटेको थाहा हुनसाथ बिरामीले यो औषधि खान थालिहाल्नु पर्छ।'