सेती प्रादेशिक अस्पतालमा ११ वर्षदेखि काम गर्दै आएका बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अरूण पनेरू आजभोलि घर जाँदैनन्।
गइहाले पनि खाना खाएर फर्किहाल्छन्। अचेल उनलाई आफूले जागिर खाइरहेको छु भन्ने लाग्दैन। त्यो भन्दा पनि ठूलो जिम्मेवारी महसुस गरेर काम गर्छन्।
मान्छेहरूलाई बाँच्न चाहिने अक्सिजन सिलिण्डरमा भरिरहेका छन्, सिलिण्डर बिरामीसम्म पुर्याएका छन्।
सेती अस्पतालको अक्सिजन प्लान्टमा काम गर्न थालेदेखि उनलाई दिनरातको हेक्का हुन छोडेको छ।
‘ड्युटी भनेको त समय तालिका अनुसार हुन्छ, यहाँ त समयभन्दा पनि मान्छेको ज्यान बचाउन सकुँ भनेर २४ सै घण्टा दौडिरहेका छौं,’ उनले भने।
कोरोना माहामारीअघि उनी अस्पतालमा रहेका टेक्निकल उपकरणको रेखदेख, नयाँ भए जडान, मर्मत र साथै अक्सिजन, भेन्टिलेटर, आइसियू उपकरणहरू सञ्चालन गर्ने काम गर्थे।
अहिले उनी सिलिण्डरमा अक्सिजन भर्ने काम ज्यादा गर्छन्। सिलिण्डर भर्ने, अनलोड, अपलोड गर्ने, बिरामीकोमा रेगुलेटर जोड्न जाने जस्ता काम गर्छन्।
‘टेक्निकल सम्बन्धी समस्या त छँदैछ। अहिले कोरोना संक्रमितलाई बढी आवश्यक परिरहेको अक्सिजन भर्ने काम बढी हुने गर्छ,’ उनले भने ।
अक्सिजनको अभावलाई पूर्ति गर्न सेती प्रादेशिक अस्पतालमा रहेको प्लान्ट २४ सै घण्टा चलाइएको छ। अरूण पनेरूको टिम त्यही प्लान्ट सञ्चालन गर्न २४ सै घण्टा ड्युटी गरिरहेको छ।
कहिले-कहिले असाध्यै गाह्रो भएनजिकै सजिलो ठाउँमा पालैपालो केही घण्टा सुत्छन्। कहिले त आधा निद्रामै उठेर काममा लाग्नुपर्छ।
‘अहिले अक्सिजन नै सबैभन्दा बढी आवश्यक छ अस्पतालमा,’ उनले भने।
अक्सिजन सिलिण्डरको अभाव, प्लान्टको कम क्षमताका साथै बिरामीहरूको जीवन रक्षाका लागि अथक प्रयासमा उनीहरू रहन्छन्।
स्वास्थ्यकर्मीको जस्तै पनि उनी बिरामीका नजिक नगई हुँदैन। अक्सिजनका सिलिण्डर नजिकै लग्दिन पर्यो। खाली भए ल्याउन पर्यो। सिकिस्त बिरामीको नजिक नगएर काम नै बन्दैन।
बिरामीसँग काम गर्नुपर्छ भन्ने थाहा पाउँदा पोहोर साल त परिवार पनि डराउँथे। यसपालि परिवारले बुझेका छन्। त्यसैले त उनलाई ढुक्क छ।
‘सुरूमा घरका मान्छेले पिर मान्थे, अहिले उनीहरूले बुझिसकेका छन्,’ उनले भने, ‘यसपालि त मलाई घरभन्दा पनि अस्पतालको कोभिड भवन, इमरजेन्सी वार्ड, ग्यालरी, सिडी, अस्पतालको प्राङ्गणको बाहिर जताततै भएका संक्रमितको चिन्ता लाग्छ। उनीहरूको ज्यान बचाउनु छ भन्ने जिम्मेवारी आउँछ मनमा।’
अरूको ख्याल गर्दा आफ्नो ख्याल राख्न बिर्सिन पनि पर्ने रहेछ। कसैको प्राणभन्दा समयमै खान पाउने आफ्नो सुविधा ठूलो हुँदैन भन्ने उनलाई लाग्छ। त्यसैले त उनी र उनका साथी फुर्सद निकालेर मात्र बिहान बेलुकाको खान्छन्। खाजा त समय लाग्छ भनेर खाँदैनन्।
‘फलफूल पाए खाने नभए अरू नास्ता खाइँदैन। खाना चाहिँ समय निकालेर घर गएर नै खाने गरेका छौं,’ उनले भने।
पनेरूसँगै हेल्परको काम गर्ने अरू सात जना कर्मचारीको पनि खाना बसाइ अस्पतालमै छ।
‘ड्युटी त ८ घण्टा हो, काम परे आउने गरी घर जान मिल्थ्यो तर अहिले अवस्था अर्कै छ, सबै जना यहीँ बस्छौं,’ उनले भने, ‘तरऽ अक्सिजन प्लान्टमात्र होइन उताको कोरोना उपचार भवनमा पनि पानी, जेनेटर बिजुली बत्तीको जिम्मा हाम्रो हुन्छ।’
अक्सिजन सिलिण्डर जोड्न, भेन्टिलेटर, कुनै पनि उपकरण बिग्रिए, आइसियूमा उपकरण बिग्रिए उनीहरूले हेर्नुपर्छ।
‘अहिले लगातार चलिरहेकाले पहिलेभन्दा मेसिन बढी बिग्रन्छन्,’ उनले भने।
सेतीमा हरेक १५ मिनेटमा एक अक्सिजन सिलिण्डर खाली हुन्छ । त्यसको सट्टा भरी सिलिण्डर राख्दिनुपर्छ।
‘खाली भएका सिलिण्डर उठाएर ल्याउँछौं, मेसिनमा जोड्छौं र भर्छौं,’ उनले भने।
भरिएका सिलिण्डर फेरि बिरामी भएको ठाउँसम्म लगेर जोड्ने काम पनि पनेरू र उनका साथीहरूले गरिरहेका छन्। अहिले सिलिण्डर भरिनसक्दै बिरामीका आफन्त खोस्न आइपुग्छन्।
‘अहिलेको केसमा प्लान्टमा बाहिरका मान्छेहरूले अक्सिजन लग्ने गरेकाले प्रहरी खटिएका छन्, मैले पनि सिलिण्डर भर्नका लागि प्लान्टमै बस्नुपर्छ,’ उनले भने ।
अस्पतालमा दैनिक १४० वटा अक्सिजन सिलिण्डर आवश्यक छ। तर, अस्पतालको प्लान्टले दैनिक ४८ देखि ५५ ओटा भर्न सकिरहेको छ।
‘हामीले एक घण्टामा ८ सिलिण्डर अक्सिजन भर्न सकेका छौं,’ उनले भने।
प्लान्टबाट केही बिरामीलाई पाइपबाटै अक्सिजन दिने गरिएकाले त्यसको निगरानी पनि उनीहरूले राख्नुपर्छ।
कहिलेकाहीँ अस्पताललाई अपुग अक्सिजन नेपालगञ्जबाट आउने गरेको पनेरूले बताए।
‘केही सिलिण्डर नेपालगञ्ज पनि भर्न पठाएका हुन्छौं, कहिलेकाहीँ त्यही जानुपर्छ, पालो ढिलो आउन लागे धर्ना बस्नुपर्छ,’ उनले भने।
सेती प्रादेशिक अस्पतालमा रहेको अक्सिजन प्लान्ट लगातार चल्नाले तात्ने र बन्द हुने समस्या आउन थालेको छ।
‘अहिलेसम्म ठिक छ। बीच-बीचमा बन्द हुन्छ। हामीले तात्न नदिन पंखा लगाएका छौं,’ उनले भने।
अस्पतालको प्लान्ट बिजुलीबाट चल्छ। धनगढीमा बेला-बेला बत्ती गइरहने गरेका कारण प्लान्ट चलाउन समस्या हुने गरेको उनले बताए । बत्ती जाँदा समस्या हुन्छ, जेनेरेटरले धान्दैन।
यी समस्या त छँदैछन्। अक्सिजनको माग यस्तो छ कि अक्सिजन पुर्याउन सकिएन भने आफन्त आफैं प्लान्टसम्म आइपुग्छन्।
उनलाई ओभरटाइम, भत्ता वा सुविधाको अहिले खास मतलब लागेको छैन। यसपालि संक्रमितको हालत देखेर आफ्नो कर्तव्य मात्र याद आइरहेको उनले बताए।
सेती प्रादेशिक अस्पतालमा बिरामीलाई भुइँमा पनि ठाउँ नभएर आँगनमै उपचार गर्नु परिरहेको छ। बिरामीहरू आफ्नै अगाडि मृत्यु हुँदा पनि केही गर्न नसक्दा डाक्टरहरू चिन्तित छन्।
‘यस्तो अवस्था देखेपछि मलाई आफ्नो कामबाहेक केही याद भएको छैन,’ उनले भने, ‘मान्छेको ज्यान बचाउन सकियोस् भन्नेमात्र लाग्छ।’