मुलुकभर कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला प्रदेश २ का आठवटै जिल्ला उच्च जोखिममा छन्।
तर प्रदेशभरी बिरामीलाई उपचारका लागि राख्ने बेड अभाव देखिएको छ।
केहीदिन अघिमात्रै उपचारका लागि अस्पतालको बेड नपाएर धनुषाका एक बिरामीले ज्यानै गुमाउनु परेको थियो।
प्रदेशमा कोरोनाका बिरामीको उपचारका लागि बेड अभाव रहेको बेला प्रदेश सरकारले २० दिनभित्रै कोभिड अस्पताल सञ्चालनमा ल्याउने गरी तयारी थालेको बताएको छ।
कोरोनाको दोस्रो लहर प्रदेश २ मा तीव्र रूपमा फैलिन थालेपछि मन्त्रिपरिषद बैठकबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको मणिपाल शिक्षण अस्पतालको प्रयोगविहिन भवनलाई कोभिड अस्पतालको रूपमा संचालनमा ल्याउने निर्णय गर्यो। हुन त यस्तो निर्णय कोरोनाको पहिलो लहरकै समयमा पनि उसले गरेको थियो।
त्यसपछि मुख्यमन्त्री लालबाबु राउतले मणिपाल शिक्षण अस्पताललाई कोभिड अस्पतालको रूपमा विकास गर्ने घोषणा गरे।
तर निर्णय गरेको एकवर्ष बितिसक्दासमेत प्रदेश सरकारले कोभिड अस्पतालका लागि भौतिक संरचना ठिक पार्नुका साथै प्राविधिक कामहरू समेत गर्न नसकेको पाइएको छ।
त्यो बेला संक्रमण कम हुँदै गएपछि अस्पतालको नाममा बजेट खर्च भए पनि आईसोलेशन निर्माण काम भने अगाडि बढ्न सकेन।
अहिले भने प्रदेश सरकारले निर्माण गर्न लागेको १०० बेड क्षमताको उक्त भवनलाई २० दिनभित्रै कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने गरी मणिपाल शिक्षण अस्पतालको मर्मत तथा ठेक्का दिने काम अगाडि बढाइएको बताएको छ।
यसका लागि प्रदेश सरकारको एक टोलीले मणिपालको सो भवनको गत हप्ता निरीक्षणसमेत गरेको छ।
प्रदेश सरकारले मणिपाल शिक्षण अस्पतालको सो जीर्ण भवनलाई कोभिड अस्पतालको रुपमा विकास गर्ने जिम्मा मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक एवं सिनियर डिभिजन ईन्जिनियर भगवान झालाई दिएको छ।
त्यहाँ २० आइसीयु बेडसहित १ सय शैय्याको कोभिड अस्पताल संचालनमा ल्याइने ईन्जिनियर झाले जानकारी दिए ।
उनका अनुसार त्यहाँ निरीक्षण गरेर मुचुल्का उठाउनुका साथै अनलाइन टेण्डरको प्रकृया समेत पूरा भइसकेको छ ।
निरीक्षणको क्रममा भवनको १२ वटा कोठा ताल्चा लागेको, २२ वटा कोठामा झ्याल ढोका नरहेको, भएका ढोकाहरु पनि जिर्ण अवस्थामा रहेको, २ वटा कोठाको छत चुही रहेको रंगरोगन नभएको पाइएको ईन्जिनियर झाले बताए ।
ईञ्जिनियर झाले अस्पताल सञ्चालनका लागि जनशक्ति भर्नाको प्रकृयासमेत अगाडी बढाइसकिएको जानकारी दिए ।
भवनमा खानेपानी, वाथरूम फिटिङ, प्लम्बिङ, वायरिङ, प्लास्टरलगायतका कार्य गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
आजसम्म किन बन्न सकेन मणिपाल शिक्षण अस्पाल?
जनकपुरधाम उपमहानगरपालिकाको मुजेलियाभन्दा पश्चिम १९ वर्षअघि निर्माण सुरू गरिएको चिकित्सा शिक्षा शिक्षण अस्पतालको भवन विभिन्न विवादका कारण निर्माण हुन नपाउँदै त्यतिकै रोकिएको छ।
भारतको मणिपाल समूहले जनकपुरधाम उपमहानगरपालिका–१४मा शिक्षण अस्पताल निर्माण गर्न गुठी संस्थान जनकपुरसँग लिजमा जग्गा लिएको थियो।
तर, मणिपाल समूहले निर्माण कार्य बीचमै छोडेपछि निर्माण गरिएका संरचनासमेत ध्वस्त हुन थालेका छन्।
मणिपाल समूहले २०५१ साउन ७ गते गुठी संस्थान जनकपुरसँग सम्झौता गरेर ४९ वर्षका लागि अस्पताल निर्माण गर्न १७ बिघा जग्गा लिजमा लिएको थियो। गुठी संस्थानलाई पहिलो वर्ष ७ लाख र त्यसपछि हरेक वर्ष १० प्रतिशत रकम थपेर मणिपाल समूहले तिर्नुपर्ने सम्झौता छ।
मणिपाल समूहले जग्गा लिजमा लिई निर्माण कार्य थाले पनि पुरा किन गर्न नसकेको भन्दै स्पष्ट कारण केही भनेको छैन।
तर कतिपयले माओवादी द्वन्द्वको बेला चन्दा समस्या र तत्कालीन स्वास्थ्यमन्त्री डा रामवरण यादवको अनिच्छाका कारण बन्न नसकेको तर्क दिन्छन्।
२५० शैय्याको शिक्षण अस्पतालको शिलान्यास तत्कालिन स्वास्थ्यमन्त्री तथा पूर्व राष्ट्रपति डा. यादवले गरेका थिए।
मणिपाल समूहले निर्माण कार्यअघि नबढाउँदा गुठी संस्थानले जग्गासम्बन्धी सम्झौता रद्द गर्ने तयारीसमेत गरेको थियो।
गुठी संस्थानले २०७१ वैशाख १९ मा सम्झौता रद्द गर्न पत्र पठाए पनि कार्यान्वयनमा अहिलेसम्म आउन सकेको छैन।
सम्झौता अनुसार उद्देश्य अनुरूप काम नगरे र समयमा भाडा नबुझाएको खण्डमा सम्झौता रद्द गर्ने प्रावधान छ।
तर मणिपाल समूहले सम्झौता अनुसार जग्गा भाडा अझै बुझाउँदै आएको गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए।
निर्माण कार्य पूरा नभएर सञ्चालनमा आउन नसक्दा करोडौंको संरचना प्रयोगविहीन भएको छ। नगर क्षेत्रभन्दा टाढा अस्पतालका लागि निर्माण गरिएका संरचना अहिले खण्डहर बन्न पुगेको छ।
टायल्स, मार्बल प्रयोग गरी निर्माण गरिएको भवन प्रयोगविहीन भएपछि झ्याल, ढोका कुहिन थालेको छ।
निर्माण गरिएका संरचना रेखदेख गर्न मणिपाल समूहले चार जना सुरक्षा गार्ड नियुक्तसमेत गरेको छ। त्यही भवनमा अहिले कोरोना अस्पताल बनाउने भनिएको छ।