सुर्खेतका स्थानीय तहमा कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि स्थानीय तहले नेपाली सेनालाई गाडी उपलब्ध गराउने भएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको वैठकले नगरपालिकाहरुले दाहसंस्कारका लागि सेनालाई आवश्यक पर्ने एउटा जीप स्थानीय तह मिलेर सेनालाई उपलब्ध गराउने निर्णय गरेको हो।
पूर्वी क्षेत्रका भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकाले ईन्धनसहित एउटा जीप उपलब्ध गराउने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
यी स्थानीय तहमा कोभिडबाट मृत्यु भएका शव व्यवस्थापनका लागि सेनालाई घाटसम्म पुर्याउनका लागि उक्त जीप प्रयोग गरिनेछ। उक्त जीप नेपाली सेनाको छिन्चुस्थित ब्यारेकमा तयारी अवस्थामा राखिनेछ।
यस्तै जिल्लाका सबै स्थानीय तहले कोभिडबाट मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारको लागि निर्धारित ठाउँसम्म शव लैजान आवश्यक पर्ने सवारीसाधन (शववाहनका रुपमा) चालकसहित उपलब्ध गराउनुपर्नेछ। यसको समन्वय जिल्ला समन्वय समितिले गर्नेछ ।
यस्तै सुर्खेतमा हप्तामा तीन दिन मात्र खाद्यान्नका पसल खोल्न दिने निर्णय समितिले गरेको छ। यसअघि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दैनिक उपभोगका सामान किनबेचका लागि खुला गरिएको थियो ।
जेठ १ गतेदेखि खाद्यान्नका पसलहरु आइतबार, मंगलबार र बिहिवार खोल्न दिईनेछ। तरकारी, फलफूल तथा दुध पाईने पसल भने दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाईनेछ।
कोरोना परीक्षणको दायरा बढाउने, परीक्षणका लागि आवश्यक पर्ने किट स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी पर्याप्त परिणाममा मौज्दात राख्ने निर्णय पनि जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी) ले गरेको छ ।
यस्तै होटलहरुमा आईसोलशन सञ्चालन गर्न दिने निर्णय पनि गरिएको छ। होम आइसोलेशनमा वा घरभाडामा बसिरहेका संक्रमितलाई पर्याप्त ठाँउको अभाव र पानी तथा शौचालयको असुविधा भएकोले स्वास्थ्य मापदण्डको परिधिभित्र रही होटलहरुलाई आईसोलेशन सञ्चालन गर्न दिईनेछ।