निजी अस्पतालले अक्सिजन हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न नसकिने भनेर हात उठाएको बेला सरकारले ती अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बसेको बैठकले सय बेडमाथिका निजी अस्पतालले १५ दिन भित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने गरी निर्णय भएको प्रवक्ता डा. जागेश्वर गौतमले सेतोपाटीलाई जानकारी दिए। ‘अहिले निजी अस्पताललाई समस्या भयो भनेरै आज मन्त्रालयले सय बेड वा त्योभन्दा माथिका निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्नू भनेर निर्णय गरेको छ,’ उनले भने।
गौतमले धेरै सरकारी अस्पतालहरूमा पनि अक्सिजन प्लान्ट रहेको भन्दै अब निजीले पनि आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने बताए। उनले भने, ‘अस्पताल चलाउने भनेपछि एउटा प्लान्ट त राख्नुपर्यो नि। यस्तो महामारीमा त अफ्ठ्यारो पर्दौ रैछ नि।’
बरू ती अस्पतालहरूले प्लान्ट ल्याउन कुनै अफ्ठ्यारो परे त्यसमा मन्त्रालयले सहजिकरण गर्ने प्रवक्ता गौतमले जनाए। केही दिनयता काठमाडौंका निजी अस्पतालहरूले अक्सिजनको हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न हात उठाएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
उपत्यकामा मात्र झन्डै १० वटा बढी अस्पतालले अक्सिजन अभाव भएको भन्दै थप संक्रमितको उपचार गर्न नसकिने जनाएको छ। जसमा ग्रान्डी, मेडिसिटी, नेपाल मेडिकल कलेज जस्ता धेरै बेड क्षमता भएका अस्पतालहरू छन्।
निजी अस्पतालले सरकारले अक्सिजन सिलिण्डरमा कोटा तोकिदिएका कारण थप समस्या आइपरेको जनाएका छन्। दैनिक ४ सय देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक परेको अवस्थामा सरकारले १ सय वटा सिलिण्डर तोकिएको भन्दै अस्पतालहरूले विरामीको उपचार गर्न नसकिने बताएका हुन्।
मन्त्रालयका प्रवक्ता गौतमले भने अहिले धेरै विरामी उपचार गर्ने अस्पतालमा धेरै अक्सिजन पठाउने गरिएकाले केही अस्पतालमा समस्या देखिएको स्वीकारे। ‘अहिले अक्सिजन व्यवस्थापनको काम सिसिएमसीले गर्छ र सिसिएमसीले जहाँ धेरै विरामी छन् त्यहाँ धेरै अक्सिजन पठाउने निधो गरेकाले निजी अस्पतालहरूलाई अलिक नपुगेको हुनसक्छ,’ उनले भने।
पछिल्लो केही दिनयता अक्सिजन सिलिण्डरको हाहाकार भएपछि मन्त्रालयले सिसिएमसीमार्फत अक्सिजनको व्यवस्थापन गरिने निर्णय गरेको थियो। जसअनुसार सिसिएमसीले कुन अस्पतालले कति वटा अक्सिजन सिलिण्डर पाउने भनेर कोटा तोकेको छ। तर निजी अस्पतालले सरकारले तोकेको अक्सिजन सिलिण्डरको कोटाले विरामीको उपचार नधान्ने बताउँदै आएका छन्।
अक्सिजन सिलिण्डरको चरण अभाव खेपेका निजी अस्पतालले थप अक्सिजनको लागि सरकारको मुख ताकेपछि उक्त समस्याको समाधान स्वयं अस्पतालले गर्नुपर्ने गरी सरकारले निर्णय गरेको हो। यद्यपि स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय माग अनुसारको अक्सिजन आपूर्ति गर्न नसकिएको जनाएको छ।
मंगलबार पत्रकारसँग भएको भर्चुअल कुराकानीमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकामा मात्र दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भए पनि करीब १० हजार मात्र आपूर्ति गर्न सकिएको जनाएका थिए।
चिकित्सकहरूले भने अक्सिजन अभावका कारण धेरै संक्रमितहरूले ज्यान गुमाउनुपर्ने स्थिति आउने चेतावनी दिएका छन्। जति धेरै अक्सिजनको व्यवस्थापन गर्न सके त्यति नै धेरै संक्रमितको उपचार गर्न सकिने र धेरैको ज्यान जोगिने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।