अक्सिजन अभाव रहेको भन्दै बिहीबारसम्म उपत्यकाका १० वटा अस्पतालले संक्रमितको उपचार गर्न नसकिने बताएका छन्।
हिजो बुधबार मात्र काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालले थप विरामीको भर्ना गर्न नसकिने भन्दै सूचना जारी गरेको थियो। ‘सरकारको नियम अनुसार दैनिक सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने भएकाले थप विरामीको उपचार गर्न असमर्थ छौं। अक्सिजन आवश्यकता अनुसार प्राप्त भएसँगै थप विरामी भर्ना गरिने जानकारी गराउँछौ,' ग्रान्डीद्वारा जारी सूचनामा भनिएको छ।
यस्तै गत आइतबार एकैपटक चार वटा निजी अस्पतालले संयुक्त विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्ति असहज भएको भन्दै कोरोनाका विरामीको उपचारलाई निरन्तरता दिन नसकिने बताएका थिए।
जसमा मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु अस्पताल र हेल्पिङ हेड्स अस्पताल छन्। यी अस्पतालले आगामी शनिबारदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित शैय्या मात्र सञ्चालनमा ल्याएर सेवा प्रदान गरिने बताएका छन्।
यस्तै ललितपुरस्थित मेडिसिटी अस्पतालले पनि गत मंगलबार नै अक्सिजनको अभाव रहेको भन्दै कुनै पनि हालतमा संक्रमितको उपचार सम्भव नहुने स्पष्ट पारिसकेको छ।
अस्पतालले दैनिक ४ सय ५० देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक रहेकोमा सरकारबाट जम्मा एक सय वटा मात्र प्राप्त हुने हुँदा संक्रमितको उपचार गर्न नसकिने जनाएको हो।
यस्तै अक्सिजन अभावकै कारण देखाउँदै संक्रमितको उपचार गर्न नसकिने भन्दै करूणा अस्पताल, हिमाल अस्पताल, नेपाल मेडिकल कलेज, ओम अस्पताल र एभरेष्ट अस्पतालले पनि हात उठाएका छन्।
यी सबै अस्पतालले माग अनुसारको अक्सिजन व्यवस्थापन हुन नसकेको भन्दै उपचार गर्न नसकिने विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
पछिल्लो समय अस्पतालमा अक्सिजनको हाहाकार भएपछि स्वास्थ्य मन्त्रालयले अक्सिजन वितरणका लागि 'सिसिएमसी' लाई जिम्मा दिएको थियो। सोही अनुसार सिसिएमसीले उपत्यकाका अस्पतालहरूलाई अक्सिजन सिलिण्डरको कोटा तोकिदिएको थियो। तर अस्पतालहरूले भने कोटा प्रणालीले गर्दा झन् समस्या सिर्जना भएको भन्दै असन्तुष्टि जनाएका छन्।
स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय अक्सिजन अभाव रहेको जनाएको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले गत मंगलबार पत्रकारहरूसँग गरिएको भर्चुअल कुराकानीमा उपत्यकामा अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकोमा करिब १० हजार वटा मात्र आपूर्ति गर्न सकिएको जनाएका थिए। जसले गर्दा कुनै अस्पताललाई धेरै जाने र कुनैलाई थोरै पुग्ने हुँदा सिसिएमसीले कोटा प्रणालीबाट अक्सिजन वितरण गरेको हो।
तर अस्पतालहरूले सार्वजनिक रुपमै अक्सिजन अभावका कारण उपचार गर्न नसकिने बताएपछि मन्त्रालयले भने ती अस्पतालहरूलाई अक्सिजन प्लान्ट जोड्न भनेको छ। मन्त्रालयको बुधबार बसेको बैठकले सय बेड माथिका निजी र सामुदायिक अस्पताललाई १५ दिन भित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने गरी निर्णय गरिसकेको छ। बरू अक्सिजन प्लान्ट जोड्ने क्रममा कुनै समस्या आइपरे त्यसमा मन्त्रालयले सहजिकरण गरिदिने प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
अस्पतालले अक्सिजन पाउन हारगुहार गर्न थालेपछि सरकारले पनि त्यसलाई तत्काल सम्बोधन गर्न नसकिने बुझेर स्वयं अस्पताललाई नै अक्सिजन व्यवस्थापन गर्न भन्दै पन्छिएको हो। तर सरकारको यो लापरवाहीले थप मानिसहरूको ज्यान जाने चिकित्सकहरूले बताएका छन्।
यसैपनि अहिले सबैजसो अस्पतालहरू संक्रमितले भरिएका छन्। भर्ना भएकामध्ये ९० प्रतिशत विरामीलाई अक्सिजन दिनुपरेको अस्पतालहरूले जनाएका छन्। जसले गर्दा अस्पतालले अक्सिजनको व्यवस्थापन गर्न निकै सास्ती खेप्नुपरेको छ। अस्पतालले नै अक्सिजन व्यवस्थापन गर्न नसकेपछि अहिले मानिसहरू आफैं अक्सिजन खोज्न विभिन्न उद्योगहरू धाउने गरेका छन्।
अक्सिजन व्यवस्थापन हुनसके थप विरामीलाई उपचार गर्न सकिने चिकित्सकले जनाएका छन्। टेकु अस्पतालमा संक्रमितको उपचारमा खटिएका एक चिकित्सक भन्छन्, ‘यो महामारीमा सबैले बेड पाउनुपर्छ भन्ने हुँदैन। तर यदि अक्सिजन र जनशक्तिको व्यवस्थापन हुनसक्यो भने हामी अस्पतालको आँगनमा राखेर पनि विरामीको उपचार गर्नसक्छौं। अक्सिजन मात्र दिन सकियो भने पनि धेरै विरामीहरूलाई सहज हुन्छ। हामीले केही दिनयता विरामीहरूलाई कुर्सी र बेन्चमै राखेर अक्सिजन दिएर उपचार गरिरहेका छौं। त्यसले उहाँहरूमा निकै सुधार आएको पनि छ।’