पोखरा औद्योगिक क्षेत्रमा रहेका धेरैजसो उद्योग यतिबेला सुनसान छन्। कोरोनाको संक्रमण रोक्न पोखरामा वैशाख २१ देखि लकडाउन छ।
अघिपछि सुनसानजस्तै हुने अक्सिजन उत्पादक उद्योग भने यतिबेला २४ घन्टासम्म चलाउनु परेको छ।
अक्सिजन लिन संक्रमित र संक्रमितका आफन्त उद्योगसम्मै आउँछन्। पालैपालो उनीहरूले अक्सिजन सिलिन्डर लैजाने गरेका छन्।
पोखराका एक कोरोना संक्रमितका आफन्त अक्सिजन लिन आइतबार पोखरा अक्सिजन ग्यास प्रालिमा पुगे। ती संक्रमितलाई कोरोनासँगै निमोनिया भएको थियो। घरमै बसेर उपचार गराउँदै थिए। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई घरमै अक्सिजन लगाउनु पर्ने भएकाले उद्योगमा पुगेको ती आफन्तले बताइन्।
पोखराको चरक अस्पतालको रेखदेखमा होम आइसोलेसन बसेका ती संक्रमितले यसअघि पनि अक्सिजन लिएका थिए। स्वस्थ्यमा सुधार आएपछि सिलिन्डर ग्यास कम्पनीलाई बुझाए।
‘अस्पतालले फेरि अक्सिजन दिनु पर्ने भनेर लिन आएका हौं,' उनले भनिन्, ‘नपत्याए, हेर्नुस् डाक्टरले लेखेर दिनुभएको छ।’
चरक अस्पतालको सिफारिस लिएर उनले अक्सिजन सिलिन्डर लगिन्।
उनीजस्तै अरू बिरामीका आफन्त पनि उसैगरी अक्सिजन लगिरहेका थिए। अस्पतालमा लैजान त दिनमै २-३ पटकसम्म गाडीमा अक्सिजन ओसार्दैछन्।
चरक अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले आफ्नो अस्पतालमा मात्रै दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत गर्नु परेको बताए।
‘हामीसँग पर्याप्त सिलिन्डर छैन,' उनले भने, अक्सिजन सकिनेबित्तिकै उद्योगमा लान्छौं र तुरून्त भरेर ल्याउँछौं।’
पोखराका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छैनन्। यसअघि अक्सिजन ग्यासको यति धेरै अभाव नभएकाले पनि त्यति धेरै तयारी नगरेको अस्पताल सञ्चालक बताउँछन्। पोखरामा अहिले २ वटा अक्सिजन उद्योग छन्। तिनैको उत्पादनले यहाँका अस्पतालले आवश्यक मात्रामा अक्सिजन लिएका छन्।
पोखरा अक्सिजन ग्यास प्रालिका निर्देशक विनोद कायस्थले कोरोना भाइरसको महामारी आउनुअघि ४ दिनमा एक पटकमात्रै अक्सिजन उत्पादन गरेको बताए।
‘४ दिनमा १ पटक उद्योग चलाउने भनेको दैनिक ८ घन्टा चलाउनुसरह थियो, थोरै-थोरै उत्पादन गर्नभन्दा एकै दिन उत्पादन गरेर सबै सिलिन्डर भर्थ्यौं, अहिले हरेक दिन २४ घन्टा नै उद्योग चलाउनु परेको छ, पहिलेभन्दा ५ गुणासम्म अक्सिजनको माग बढेको छ,’ उनले भने।
उनका अनुसार पोखरा र अन्य जिल्लाबाट अक्सिजन सिलिन्डर जम्मा गरेर सबै एकैदिन भर्ने गरी उद्योग चलाउने गरेका थिए।
पोखरामा मात्रै हैन, गण्डकीका अन्य जिल्ला तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङसम्म पनि यही उद्योगबाट अक्सिजन लैजान्थे। अहिले भने कास्कीबाहेक अन्य जिल्लामा अक्सिजन पठाउने काम निकै कम भएको छ।
पोखरा अक्सिजन ग्यास प्रालिसँग अहिले १ हजार ५ सय वटा अक्सिजन सिलिन्डर छन्।
तीमध्ये पनि केही उद्योग, अस्पताल र व्यक्तिसँग छन्। सबै सिलिन्डर अहिले कोरोना संक्रमितको उपचारमा प्रयोग गरेको निर्देशक कायस्थले बताए।
उद्योगले अहिले दैनिक ५ सय बढी सिलिन्डर अक्सिजन उत्पादन गर्दैछ। तर उद्योगको क्षमता भने ४७ लिटरको ८ सय सिलिन्डर अक्सिजन उत्पादन गर्नेछ। सिलिन्डरकै अभावमा क्षमताअनुसार ग्यास उत्पादन नगरेको कायस्थले बताए।
अक्सिजनको माग बढेसँगै उद्योगले कर्मचारी थपेर उत्पादन बढाएको छ। उद्योगका निमित्त कार्यालय प्रमुख लक्ष्मण ताम्राकारका अनुसार यसअघि पोखरा अक्सिजनमा ९ जना कार्यरत थिए। अहिले थप ६ जना कर्मचारी थपिएको उनले जानकारी दिए। आवश्यकता अनुसार अझै कर्मचारी थपिने उनले बताए।
पोखरामै रहेको कालीगण्डकी अक्सिजन ग्यास प्रालिको पनि अवस्था उस्तै छ। उक्त उद्योग पनि २४ घन्टासम्मै चलाउनु पर्ने अवस्थामा पुगेको छ। अहिले कालिगण्डकी अक्सिजनबाट दैनिक ५ सय सिलिन्डर ग्यास उत्पादन भइरहेको छ। उद्योगका प्रबन्ध निर्देशक प्रेम गिरीका अनुसार यसको पनि क्षमता दैनिक ८ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने हो।
यसअघि उक्त उद्योग हप्तामा ४ दिन चल्थ्यो। एक पटकमा ५ सय सिलिन्डर ग्यास उत्पादन गर्थ्यो। कालीगण्डकी अक्सिजन प्रालिसँग भएका १ हजार ५०० सिलिन्डर पनि अहिले कोरोना संक्रमितकै उपचारमा प्रयोग गरिएको गिरीले बताए।
‘हामीले क्षमताअनुसार उत्पादन गर्न पाएका छैनौं,' गिरीले सेतोपाटीलाई भने, ‘ग्यास भरेको सिलिन्डर लैजान्छन्, सकिएपछि फेरि ल्याउने र भर्ने गरिरहेका छौं।’
दुबै उद्योगले आफ्नो पूर्ण क्षमतामा काम गर्दा ८/८ सय गरी १६ सय सिलिन्डर ग्यास उत्पादन गरिराखेका छन्। पोखरामा आवश्यक अक्सिजन उत्पादन गर्न आफूहरू सक्षम भएको भन्दै उनीहरूले सरकारसमक्ष सिलिन्डर उपलब्ध गराउन माग राखेका छन्।
अक्सिजन उत्पादनमा उनीहरूले अर्को समस्या पनि भोग्नुपरेको छ: दिनहुँ बेलाबेलामा विद्युत जाने। लाइन जाँदा अक्सिजन उत्पादनमा समस्या भएको उद्योगका सञ्चालकहरू बताउँछन्। पोखरा अक्सिजनका निर्देशक कायस्थले अक्सिजन उत्पादन गर्न मेसिन तात्नु पर्ने भएकाले लाइन गएर हैरान भएको बताउँछन्।
‘अक्सिजन उत्पादन गर्दागर्दै लाइन गएपछि बन्द हुन्छ, फेरि लाइन आएर मेसिन तताउँदा ढिला हुन्छ,' उनले सेतोपाटीसँग भने, ‘यस्तो महामारीमा सरकारले अक्सिजन उद्योगलाई नियमित बिजुली दिन सक्नुपर्छ।’
यसरी उत्पादन हुन्छ अक्सिजन
पोखराका अक्सिजन उद्योगले हावामा भएकै ग्यास लिएर अक्सिजन निकाल्दैछन्। पोखरा अक्सिजनका निर्देशक कायस्थका अनुसार उद्योगले खुला हावा लिएर असिजन र अन्य ग्यास छुट्याएर अक्सिजन ग्यास सिलिन्डरमा भर्ने गरेको बताए।
हावामा अक्सिजन ग्यासको मात्रा जम्मा २१ प्रतिशत छ। हावामा सबैभन्दा धेरै नाइट्रोजन ग्यास रहेको कायस्थले बताए। मेसिनमार्फत् अक्सिजन र अन्य ग्यास छुट्याइन्छ र अक्सिजन सिलिन्डरमा भरिन्छ। अक्सिजन उत्पादन गर्दा ‘बाइप्रडक्ट’का रूपमा निस्कने नाइट्रोजन ग्यास र नाइट्रोजन लिक्विड पनि छुट्टाछुट्टै निकाल्ने कायस्थले बताए।
अक्सिजन उत्पादन गर्दा निस्कने अन्य ग्यास भने हावामै छाडिने कायस्थको भनाइ छ। अक्सिजन बिरामीलाई उपचार गर्दा प्रयोग गरिन्छ भने नाइट्रोजन ग्यास खानालाई ताजा राख्न प्रयोग गरिने कायस्थले जानकारी दिए।
चाउचाउ, लेजलगायत तयारी खानामा प्लाष्टिक भित्र नाइट्रोजन ग्यास हुने र उक्त ग्यासले खानेकुरालाई लामो समय बिग्रन नदिने उनको भनाइ छ।
नाइट्रोजन लिक्विड भने पशुसेवा विभागले लैजाने गरेको कायस्थले बताए। उक्त लिक्विडको तापक्रम माइनस १९६ डिग्री हुने उनको भनाइ छ। यो लिक्विड पशुमा कृत्रिम गर्भाधान गर्न आवश्यक विर्य राख्न प्रयोग गरिन्छ।