पशुपतिको दक्षिण ढोका सामुन्ने एक महिला घुँडामा हात लगाएर बसेकी थिइन्। उनको घर नुवाकोट हो। छोरासँग नयाँबजारमा बस्थिन्। बिहीबार छोराको मृत्यु भएको रहेछ।
उनी छोराको शव चिता कुर्ने लाममा राखेर एक्लै झोक्राइरहेकी थिइन्।
'कसरी भयो?' मैले सोधेँ।
'ब्रेन ह्यामरेज भएको थियो,' उनका आँखा टिलपिलाए, '१७ दिन उपचार गर्दागर्दै गयो।'
उनी अस्पतालमा कुरूवा बस्दाका सामान च्यापेरै आर्यघाट आइपुगेकी थिइन्।
'आर्यघाटमा भ्याइनभ्याइ रैछ,' उनले भनिन्, 'अझै तीन घन्टा लाइनमा राख्नुपर्छ रे।'
जवान छोरो गुमाएर टाेलाइबसेकी आमालाई के सोध्ने? मलाई प्रश्नै आएन। एकछिन उनकै सामुन्ने टोलाएर बसेँ।
अलि पर आर्यघाटमा चिता बुकिङ गर्ने काउन्टरअगाडि अर्की महिला कालो म्याटमाथि घुँडामा हात राखेर बसिरहेकी थिइन्। निलो मास्कले अनुहार छोपिए पनि उनका आँखा कसैलाई खोजिरहेका थिए। नजाने कसलाई पर्खेकी हुन्!
एकछिनअघि घाटमा शव जलाउने व्यक्तिसँग कुरा गरिरहँदा मैले यी महिलालाई देखेकी थिएँ। उनी छेउमा टुसुक्क बसेर हाम्रो कुरा सुनिरहेकी थिइन्।
हामी कोरोना महामारीले आर्यघाटमा बढेको व्यस्तताबारे कुरा गर्दै थियौं। कोरोना संक्रमितलाई आर्यघाटमा जलाइन्न। उनीहरूलाई विद्युतीय शवदाह गृहमा मात्र जलाउने अनुमति छ। त्यहाँ दैनिक सय जना जलाइने गरेको छ।
संक्रमितहरूलाई विद्युतीय शवदाह गृहमा जलाएपछि आर्यघाटमा शवको संख्या सामान्य हुनुपर्ने हो। तर, त्यस्तो छैन।
'अचेल कोरोना संक्रमितबाहेक पनि दैनिक ४५ देखि ६० वटा शव ल्याइन्छ,' ती व्यक्तिले भने, 'यस्तो कसरी भइरहेको छ, हामी छक्क परेका छौं।'
उनले अगाडि भने, 'लकडाउनपछि कति धेरै मानिस मरिरहेका हुन्? एउटा शव कम्तिमा तीन घन्टा लाइनमा राखेपछि बल्ल जलाउने पालो आउँछ।'
यो बिहीबार दिउँसो १२ बजेतिरको कुरा हो। मध्याह्नको समयमा पनि दिन खुलेको थिएन। झरी भर्खरै थामिएको थियो। लकडाउनले सुनसान पशुपति क्षेत्रमा बेलाबेला शव वाहन र एम्बुलेन्सको आवाज मात्र सुनिन्थ्यो। आर्यघाटका प्रत्येक चितामा शव जल्दै थिए। एउटा त कुनै उच्च ओहोदाका प्रहरी अधिकृतको चिता रहेछ।
म निलो मास्क लगाएर टोलाइरहेकी ती महिलासँग कुराकानी गर्न जाँदा बागमती पारीबाट प्रहरीले सलामी चढाउँदै गरेको आवाज कानमा ठोक्किँदै थियो।
'तपाईंले कसलाई खोज्नुभएको?' मैले ती महिलालाई सोधेँ।
'ग्राहकलाई नि,' सायद उनी मास्कभित्रै मुसुक्क हाँसिन्। उनका आँखा यताउति बरालिइरहेकै थिए।
उनको पछाडि बायाँपट्टि दुइटा थर्मस थिए। दायाँ-बायाँ दुईतिर जेब्रा झोला, उनले भनिन्, 'थर्मसमा दूध र रातो चिया छ। झोलामा खाजा। ग्राहक आउँछन् कि भनेर कुरेको!'
उनको नाम माया भुजेल। घर सिन्धुपाल्चोक। उनले पशुपति क्षेत्रमा चियाखाजा बेच्न थालेको पाँच वर्ष भयो। एक छोरी र एक छोरा छन्। पाँच महिनाअघि मात्र उनले पतिसँग सम्बन्ध विच्छेद गरेकी रहिछन्।
'अति भएपछि गौशाला पुलिस थानामा गएँ। योसँग बस्नै सक्दिनँ, छोडपत्र गर्दिनुस् भनेँ। त्यहीँ हाम्रो छोडपत्र भयो,' उनले भनिन्।
मायाले १४ वर्षकै उमेरमा बिहे गरेकी थिइन्। भर्खर सपना देख्ने उमेर थियो। जिन्दगीबारे निर्णय लिने भइसकेकै थिइनन्। ती मानिसले फुर्क्याएकै भरमा उनी बत्तिइन्।
बिहे गरेको ६ महिनामा पतिको घर गएपछि पो थाहा पाइन्, उनी त दोस्री श्रीमती रहिछन्!
'मलाई त आफू ठगिएँझैं लाग्यो,' उनले सुनाइन्, 'तर जाने ठाउँ कहीँ थिएन। जसोतसो उतै बसेँ।'
केही वर्षमा छोरी जन्मिइन्। तीन वर्षकी छोरी च्यापेर उनी पतिसित काठमाडौं आइन्। अहिले छोरी १३ वर्षकी भइन्। दस कक्षा पढ्छिन्।
काठमाडौं आएको केही वर्षपछि छोरा पनि जन्मिए। त्यतिन्जेल पतिसँग खटपट सुरू हुन थालिसकेको थियो। पतिले हात उठाउन थालेका थिए। बेला बेला खबरै नगरी घरबाट हराउन थालेका थिए।
उनलाई विस्तारै पतिको भर लाग्न छाड्यो। बच्चाबच्ची पाल्न आफूले पनि पैसा कमाउनुपर्छ भन्ने मनमा आयो।
उनी पशुपति क्षेत्रमै भाडामा बस्थिन्। छिमेकका चिनजानेका महिलाहरू पशुपतिमै सानोतिनो व्यापार गर्थे।
'तिमी पनि चियाखाजा बेच्न थाल न,' उनीहरूले मायालाई सुझाए।
मायालाई सुझाव सही लाग्यो।
एकदिन उनी चियाको थर्मस बोकेर निस्किइन्।
'हुन त मैले पनि घरमा कामै गर्थेँ। तर बाहिर काम गरेर पैसा कमाउन थालेपछि बल्ल काम गरेजस्तो हुँदो रैछ। घरमा हुञ्जेल त उसकै कुरा सुन्नुपर्थ्यो। म कामै नगरी फाल्तु बसेजस्तो गर्थ्यो,' उनले भनिन्।
माया बिहान खाना पकाएर छोराछोरीलाई खुवाउँथिन्। स्कुल पठाउँथिन्। दिउँसोतिर झोला र थर्मस च्यापेर निस्किन्थिन्।
उनको दिनभरिको कमाइ १५ सयजति हुन्थ्यो। कहिले त्योभन्दा बढी हुन्थ्यो। उनले कमाउन थालेपछि मात्र छोराछोरीले चाहेको खान र लाउन पाए। पछि त छोराछोरीको स्कुल फी पनि उनी आफैंले तिर्न थालिन्।
पतिले विस्तारै उनीहरूको वास्तै राख्न छाडे। मन लागे घर आउँथे, धेरैजसो बेपत्ता हुन्थे। घर आएको दिन उनीहरूको झगडा परेकै हुन्थ्यो। छोराछोरीकै अगाडि कयौंपटक हिंसा बेहोर्नुपरेको माया बताउँछिन्।
'बाहिर बाहिर हिँड्छ भन्ने सुन्थेँ। जेठीमाथि मलाई ल्याउनेले मपछि अर्को ल्याउन के गाह्रो भयो र!' उनले भनिन्।
यसैगरी पाँच वर्ष बिते।
'न घरको जिम्मेवारी पूरा गर्थ्यो, न हामीलाई सुखले बाँच्न दिन्थ्यो,' उनले भनिन्, 'त्यस्तो लोग्ने किन चाहियो? अब सकिन्न भनेर छोड्दिएँ। अर्को जुनीमा पनि बिहे गर्नु नपरोस् भन्ने बनायो मलाई।'
छोडपत्रपछि उनका अलिक दिन आनन्दले बिते। उनले पोहोरको लकडाउन जसोतसो काटेकी थिइन्। कोरोनाको डर विस्तारै कम हुँदै थियो। छोराछोरी स्कुल जान थालेका थिए। जिन्दगी सामान्य अवस्थामा फर्कियो भन्ठानेकै बेला कोरोनाको दोस्रो लहर आइहाल्यो।
उनले यसपालि फेरि लकडाउन होला भन्ने सोचेकै थिइनन्। लकडाउनपछि अलि दिन घरमै बसिन्। छोराछोरीको पनि अनलाइन कक्षा सुरू भयो। तर, त्यसरी घरै बसेर कति दिन थेग्नु!
'दिनभरि घर बसेर खान कहाँ पुग्छ हामीलाई? महिना मर्दा घरबेटीले भाडा माग्छन्। छोराछोरीको स्कुलले अनलाइन क्लासकै पैसा माग्छ,' उनले भनिन्।
उनले छोराछोरीको स्कुलमा १० हजार तिर्नुपर्छ। घरभाडा १२ हजार छ। त्यसमाथि खानुपर्यो। उनको मन छटपटिन थाल्यो।
घरव्यवहार धान्न लकडाउनकै बीच पनि केही त गर्नैपर्छ भनेर उनी फेरि पशुपति क्षेत्रमा निस्किइन्।
'पहिले जोडेको खानेकुरा र अलिअलि बचत थियो, सबै सकियो,' उनले भनिन्, 'अनि हिजोदेखि व्यापार गर्न निस्किएँ।'
कोरोना कहर नभएको बेला मन्दिर दर्शन र पशुपति क्षेत्र घुम्न आउनेदेखि घाटका कर्मचारीसम्मले उनकै हातको चियानास्ता खान्थे। झन्डै १५ सय कमाइ हुन्थ्यो। अहिले कमाइ सात-आठ सय मात्र छ।
हामी कुरा गर्दागर्दै एक जना ग्राहक आए। मायाको अनुहार उज्यालो भयो।
'उ त्यता बस,' उनले ग्राहकलाई अलि टाढा बस्न लगाइन् र खाजा दिइन्।
पचास रूपैयाँको रोटी-तरकारी खाएर ती ग्राहक फर्के।
अचेल मायाका ग्राहक भनेका घाटका कर्मचारी मात्र हुन्। घाट सफा गर्ने, दाउरा लोड गर्ने, चिता जलाउने ती कर्मचारीलाई एकछिन फुर्सद हुन्न। पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई खानाको व्यवस्था गरेको छैन। उनीहरू माया र उनीजस्तै साना व्यापारीको भरमा छन्।
'हामीलाई खाजा खान घर जाने फुर्सद छैन। दिनको १२ घन्टा त नियमित लास जलाउनैपर्छ। पोहोर लकडाउनमा खानाको व्यवस्था थियो। अहिले त मास्क पनि आफैं किन्नुपर्छ,' चिता जलाउने अर्का व्यक्तिले भने।
दिनभरि खाजा बेच्न आउँदा मायालाई छोराछोरीको चिन्ताले सताइरहन्छ। आफू नहुँदा छोराछोरी खेल्न निस्किएलान् कि, त्यही बेला कोरोनाले समात्ला कि भनेर उनको मन आत्तिरहन्छ।
'यो लकडाउन कहिले जान्छ?' मायाले सोधिन्, 'हामीजस्तो कमाइ खाने मान्छेलाई त यसरी गाह्रो हुन्छ नि।'
मायाले यति भनेर हतारहतार जेब्रा झोला र थर्मस बोकिन् अनि जुरूक्क उठिन्, 'म त गएँ है?'
उनी चिता जलिरहेको घाटतिर गइन्।
उनलाई छोराछोरी राम्ररी हुर्काएर, पढाएर समाजलाई देखाउन मन छ। आफूलाई ठग्ने पतिलाई देखाउन मन छ। आफू पनि कोही हुँ भनेर देखाउन मन छ।
उनी संघर्षको मैदानमा छिन्।
संघर्षको एउटा मैदान त यही आर्यघाट हो, जहाँ उनी हरेक दिन आफ्नो जीविका खोज्दै छिन्।
सबै तस्बिर: शोभा शर्मा/सेतोपाटी